मधेसमा भयावह बन्दै स्कुल नदेख्नेको सङ्ख्या



विशाल बस्नेत

महोत्तरी । गौशालाका १२ वर्षीय अभिषेक मुखिया र १४ वर्षीय अर्जुन मण्डललाई सानैदेखि विद्यालय गएर पढने रहर थियो। केही दिन विद्यालय पनि पुगे। तर उनका लागि किताब, कापी किन्नुपर्ने समस्या एकातिर रह्यो भने अर्कातिर वैधानिक आधार पनि।

अहिलेसम्म उनीहरूको जन्मदर्ता छैन। विद्यालयले जन्मदर्ता नभई भर्ना नहुने भनेपछि दुवै जना विद्यालय जानबाट वञ्चित बनेका छन्। मण्डलकी आमाले सानैमा बाबुलाई छाडेपछि जन्मदर्ता बनाउन ध्यान पुगेन। उता मुखियाको भने गरिबीको कारण पढ्ने सपना अधुरो बन्यो। ‘सानैदेखि बुबाले विद्यालय पठाउनुभएन, ठुलो भएपछि विद्यालय गएको जन्मदर्ता पो माग्यो,’ मण्डलले भने, ‘जन्मदर्ता बनाउने विषयमा थाहा नभएपछि विद्यालय जानै छाडेँ।’

आजकल मुखिया र मण्डल दुवैलाई बर्दिबासको सडक वरिपरि कवाडी सामान, प्लास्टिकका भाँडा, बोतल टिपिरहेको देख्न सकिन्छ। उनीहरू पढाइ छाडेदेखि नै यही पेसालाई उनीहरूले रोजीरोटी बनाउँदै आएका छन्। मुखिया र मण्डल त जन्मदर्ता र गरिबीको कारणले पढाइ छाड्न बाध्य प्रतिनिधि पात्रमात्र हुन्।

उनीहरू जस्तै मधेस प्रदेशमा थुप्रै बालबालिका जन्मदर्ता अभावमा विद्यालयबाहिर छन् । विद्यालयले भर्नाका लागि जन्मदर्ता अनिवार्य गरिसकेपछि पढाइ छाडेका छन्। पढाइ छाड्नुको पछाडि जन्मदर्ता अभावसँगै गरिबी र चेतना अभाव पनि सँगै जोडिएको छ।

जन्मदर्ताका कारण ३ प्रतिशत विद्यालयबाहिर

सरकारले भर्ना प्रक्रियाका क्रममा नै जन्मदर्तालाई अनिवार्य गरेपछि महोत्तरीमा मात्र ३ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको १ तथ्याङ्कले देखाएको छ। शिक्षा विभागको २ वर्षअघिको तथ्याङ्क हेर्ने हो भने मधेस प्रदेशमा सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर छन्।

तथ्याङ्कअनुसार मधेस प्रदेशका ८ जिल्लामा ५ देखि १२ वर्ष उमेरसम्मका १ लाख ५३ हजार ८०९ जना छन्। देशभर विद्यालयबाहिर रहेका बालबालिकाको सङ्ख्याको झन्डै ४९ प्रतिशत मधेस प्रदेशले ओगटेको छ। यो उमेर समूहका ८२ हजार ४२० छोरी विद्यालयबाहिर छन् भने ७१ हजार ३ ८९ छोरा विद्यालय नै जाँदैनन्।

सरकारको नाराले काम गरेन

विद्यालयबाहिर रहेका बालबालिकालाई मध्यनजर गरेर प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान नै चलाए पनि प्रभावकारी हुन सकेन। महोत्तरीको दक्षिणी क्षेत्र मात्र होइन, शैक्षिक हिसाबले निकै राम्रो मानिएको उत्तरी क्षेत्रमा पनि बालबालिकाको विद्यालयप्रतिको आकर्षण कम छ । जसको कारण जन्मदर्ता तथा गरिबी नै जोडिएको छ।

‘हाम्रातिर जन्मदर्ताकै कारण बच्चाहरू पढ्नबाट वञ्चित भएको उदाहरण कम नै छ,’ जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपकराज बरालले भने, ‘बरु स्वस्फूर्त पढाइ छाड्नेहरू छन्, तिनीहरूलाई विद्यालयभित्र ल्याउन सकिएको छैन।’ यता बर्दिबासकै पञ्चधुरा माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि दाहाल भने अनिवार्य जन्मदर्ताका कारण समस्या उत्पन्न भइरहेको बताउँछन् । ‘इमिस भन्ने सफ्टवेयरमा जन्मदर्तासहितको अपडेट गर्न सरकारले अनिवार्य गरेको छ, जसका कारण कतिपय बालबालिकालाई समस्या छ,’ उनले भने।

सेभ द चिल्ड्रेनको पछिल्लो १ वर्षको तथ्याङ्कअनुसार दाहालकै वडामा १४ जना बालबालिका विभिन्न कारणले विद्यालय जान नसकेको देखिएको छ। जसमध्ये ७ जना बालबालिकाको जन्मदर्ताको समस्याकै कारणले विद्यालय छाडेको सीएफडब्लूका शिक्षा मामला हेर्ने मदनराज भट्ट बताउँछन् । मधेस प्रदेशको आवधिक योजना (२०७७–२०८२) का अनुसार प्रदेशमा ५ वर्षमुनिका बालबालिकाको सङ्ख्या ६ लाख १९ हजार ३८४ छ। जसमध्ये जन्मदर्ता गर्नुपर्छ भन्ने कमै जानकारी भएका डोम समुदायको जनसङ्ख्या पनि मधेसमा उल्लेख्य छ ।

तथ्याङ्कअनुसार डोम समुदायको जनसङ्ख्या मात्र ९ हजार ६२१ छ। त्यस्तै डोम समुदाय जस्तै पिछडिएको हलखोर समुदायको जनसङ्ख्या ३ हजार ६२२ छ । महोत्तरीको गौशालालगायत प्रदेशका विभिन्न ठाउँमा बस्ने यो समुदायका बालबालिका विद्यालय नै नजाने गरेको पाइएको छ। मधेसमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र २०७८ को तथ्याङ्कअनुसार ४ हजार ९७७ सामुदायिक विद्यालय, ६५१ वटा प्रारम्भिक बालविकास केन्द्र, ३ हजार ७८५ आधारभूत विद्यालय, १ हजार ८५० वटा ६–८ विद्यालय र १ हजार ४५८ वटा माध्यमिक विद्यालय छन्।

कुल भर्नादर ५४ दशमलव ७१ प्रतिशत मात्र रहेको मधेसमा बालबालिकाको भर्नादर निकै कम छ । स्थानीय तहमा समेत मधेसमा बालबालिका किन विद्यालयबाहिर छन्, कति सङ्ख्यामा बाहिर छन् भन्ने तथ्याङ्क छैन । बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीका अनुसार विद्यालयबाहिर रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन भइरहेको छ।

‘हामी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरदेखि वैधानिक र गरिबीका कारण समस्या झेलिरहेका बालबालिकालाई विद्यालयभित्र फर्काउने अभियानमा छौँ,’ क्षेत्री भन्छन्। बर्दिबासमा ५० जनामा गरिएको सर्वेक्षणले ५० प्रतिशत बालबालिका जन्मदर्ताकै कारण विद्यालयबाहिर रहेको देखाएको छ। यो सङ्ख्या दलित र जनजातिको मात्र हो। क्षेत्री, ब्राह्मणको छोराछोरी विद्यालयबाहिर रहनेको सङ्ख्या निक्कै नगन्य मात्रामा देखिएको छ।

बर्दिबासस्थित दुम्सीडाँडा बस्ने चन्द्रबहादुर स्याङ्तानका ४ सन्तान नै विद्यालयबाहिर छन्। उनका जेठा छोरा आइमान स्याङ्तान १२ वर्षका भए भने बाँकी ११, ८ र ६ वर्षका छन्। ‘अहिलेसम्म उनीहरूको जन्मदर्ता बनेको छैन, विद्यालयमा हुने कुरै भएन,’ बुबा चन्द्रे स्याङ्तानले भने।

प्रतिक्रिया दिनुहोस्