ओस्कारमा मिसेल, चीनमा खुसी



एजेन्सी । चिनियाँ अभिनेत्री मिसेल योह ९५औँ संस्करणको ओस्कार अवार्डको ‘उत्कृष्ट अभिनेत्री’ को ५ मनोनयनमा परेपछि चिनियाँ फ्यानहरूले उत्सव मनाएका छन्। उनीहरूले मिसेललाई ‘चिनियाँ जनताको गौरव’ समेत भनेका छन्। मिसेल उनी अभिनित फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’का लागि उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेकी हुन्।

यो फिल्म यसपटकको अवार्डमा सर्वाधिक ११ विधाको मनोनयनमा परेको छ। यो फिल्मका लागि मिसेलले यसै महिना ‘गोल्डेन ग्लोभ्स’ पनि जितेकी थिइन्। एसियाली सुपरस्टार ‘ओस्कार अवार्ड’को मनोनयनमा परेको खबर सार्वजनिक भएपछि चिनियाँ फिल्मप्रेमीले खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा ट्रेन्ड चलाएका छन्।

यदि मिसेलले ओस्कारमा ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड जितिन् भने यो विधामा अवार्ड जित्ने उनी पहिलो एसियन महिला हुनेछिन्। मिसेल ‘ओस्कार अवार्ड’मा ‘उत्कृष्ट अभिनेत्री’ विधाको मनोनयनमा पर्ने पहिलो चिनियाँ मूलकी मलेसियाली महिला हुन्।

‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’ का अधिकांश कलाकार एसियाली मूलका छन् । मिसेलका को–स्टारहरू के ह्यू क्वान् र स्टेफनी हसु तथा निर्देशक डेनिल क्वान् पनि विधागत मनोनयनमा परेका छन्। ‘इन्डियाना जोन्स एन्ड द टेम्पल अफ डोम’मा बाल कलाकारका रूपमा अभिनय गरेका के ह्यू क्वान् ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ र निर्देशक क्वान् र सहनिर्देशक डेनियल सिनर्ट ‘बेस्ट डिरेक्टर’ विधामा मनोनीत भएका छन्।

मिसेलको ओस्कार मनोनयन चिनियाँ जनताका लागि चर्चाको विषय बनेको छ । मिसेलले सन् १९९० ताका हङकङमा ज्याकी च्यान र जेट लीजस्ता कलाकारका एक्सन फिल्ममा अभिनय गरेर चर्चा पाइन्। हलिउडमा भने जेम्स बन्ड फिल्म ‘टुमरो नेभर डाइज’ र ‘ओस्कार’ विजेता कुङ्फु फिल्म ‘क्राउचिङ टाइगर, हिडन ड्र्यागन’बाट ख्याति पाइन् ।

उनी हालैमात्र ‘क्रेजी रिच एसियन्स’ र ‘स्टार ट्रेक : डिस्कभरी’मा देखिएकी थिइन्। मिसेल मार्भल सिनेम्याटिक युनिभर्सको १ हिस्सा पनि हुन्। जसले ‘साङ–ची’ र ‘लेजेन्ड्स अफ द टेन रिंग्स’मा पनि अभिनय गरेकी छिन्। चीनको लोकप्रिय सामाजिक सञ्जाल वेइबोमा एक प्रयोगकर्ताले ‘एसियाली महिलालाई गर्व गरौँ’ लेखेका छन्।

वेइबोमा मिसेलको ओस्कार मनोनयनबारे बनेको ह्यासट्याग १३० मिलियन पटक हेरिएको छ। ताइबानका एक फेसबुक प्रयोगकर्ताले मिसेलको प्रशंसा गर्दै ‘सबैले उनलाई हृदयदेखि नै सम्मान गर्छन्, किनभने उनले धेरै अवरोधहरू तोडेर आफ्नो दृष्टिकोण फराकिलो पारिन्’ लेखेका छन्। अर्का प्रयोगकर्ताले ‘उनले यो सबै हाम्रै लागि गरेकी हुन्’ भनी लेखेका छन्।

वेइबो प्रयोगकर्ताले मिसेलको फिल्म बिनाकाँटछाँट चीनभरि देखाउन आग्रह गरेका छन्। यो फिल्म एसियाको हङकङ र ताइवानमा रिलिज भइसकेको छ। तर, विदेशी फिल्मका लागि कडा कोटा लागू गरिएको प्रमुख भूमि चीनमा भने यो फिल्म अझै रिलिज भएको छैन। ओस्कार आगामी मार्चमा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्