कर्णाली प्रदेश : ७ मन्त्रालय बनाउने निर्णय, ८ मन्त्री नियुक्त



काठमाडौँ । प्रदेशमा व्ययभार धेरै भएको भन्दै सत्ता साझेदार राजनीतिक दलहरूको सहमतिमा मन्त्रालयको संख्या घटाएर ७ वटा मन्त्रालय मात्र बनाएका कर्णाली प्रदेशमा मन्त्री भने ८ जना नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच आधा-आधा कार्यकाल सञ्चालन गर्ने केन्द्रीय सहमति अनुसार अहिले माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच ३ बुँदे सहमति पश्चिात गठन भएको सरकारले मन्त्रालयको सङ्ख्या घटाएर ७ बनाएको थियो तर अहिले मन्त्रीको सङ्ख्या भने ८ जना बनाएका छन् । सुरुमा ७ जना मात्र मन्त्री नियुक्त भएपनि पछि एक जना राज्यमन्त्री नियुक्त भएको थियो ।

८ वटा मन्त्रालयबाट एउटालाई गाभेर ७ वटा बनाउने निर्णय गरेको सरकारमा माओवादी केन्द्रले मुख्यमन्त्री र अरू ३ वटा मन्त्रालय लिने, एमालेले ३ वटा मन्त्रालय लिने सहमति भएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभिसकेको छ।

माओवादीबाट कृष्ण जिसी, मंगल शाही, भिमप्रकाश शर्मा मन्त्री बनेका छन्। माओवादीबाटै शर्मा मुख्यमन्त्री छन्। एमालेबाट विनोदकुमार शाह, टेकराज पछाई र शेरबहादुर बुढा मन्त्री बनेका छन्।

बुधबार मन्त्रीहरूले शपथ लिइसकेपछि अन्तिम समयमा नेकपा माओवादी केन्द्रले डोल्पाकी उर्मिला विश्वकर्मालाई राज्यमन्त्री बनाएको छ। उनलाई प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री बनाइएको हो।

नेपालको संविधानको धारा १६८ (९) अनुसार प्रदेशमा कुल प्रदेशसभा सदस्य संख्याको २० प्रतिशत नबढ्नेगरी मन्त्रिपरिषद् गठन गर्न मिल्छ। जसअनुसार कर्णाली प्रदेशमा मुख्यमन्त्रीसहितको ८ सदस्यीय मन्त्रिपरिषद बन्छ।

प्रतिक्रिया दिनुहोस्