
काठमाडौँ । राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आगामी सोमबार नेपाल आउने भएकी छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार एकदिने बसाइमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्नेछिन्। ‘अहिलेसम्म त्यसबाहेक अन्य औपचारिक भेटवार्ता तय भएका छैनन्’, मन्त्रालय स्रोतले भन्यो।
केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँग सिंहदरबारमा भएको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराएका थिए। प्रचण्डको नेतृत्वमा सरकार बनेयता नेपाल आउन लागेकी नुल्याण्ड नै वरिष्ठतम् अमेरिकी अधिकारी हुन्।
सन् २०२१ अप्रिलमा वर्तमान जिम्मेवारी सम्हालेयता उनले दक्षिण एसियाका केही मुलुकको भ्रमण गरे पनि नेपाल आएकी थिइनन्।
कूटनीतिक स्रोतका अनुसार उनले नेपाल भ्रमणमा प्रचण्ड नेतृत्वको सरकारको अमेरिका-नेपाल सहकार्यबारे दृष्टिकोण बुझ्नेछिन्। त्यसैगरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्याक्ट सम्झौता कार्यान्वयनबारे पनि छलफल गर्नेछिन्।
नुल्याण्ड विभिन्न भूमिकामा ३३ वर्ष विदेश सेवामा बिताइसकेकी अमेरिकी अधिकारी हुन्। तत्कालीन बाराक ओबामा प्रशासनका बेला उनी सन् २०१३ देखि २०१७ सम्म युरोपेली तथा एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री थिइन्।