मधेसमा पनि फेरियो जनमतको मन्त्रालय



काठमाडौँ। मधेस प्रदेशमा पनि जनमत पार्टीले चाहेको मन्त्रालय पाएनन् । पार्टीले चाएको मन्त्रालय नपाएपछि विरोध जनाएको छ । जनता समाजवादी पार्टीका नेता मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका बसन्त कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएपछि उनले अस्वीकार गरेका छन्।

मंगलबार मन्त्रिपरिषदको बैठकले बिना विभागीय ३ मन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो। जसमा जसपाका सञ्जय यादवले अर्थ, नेकपा एमालेका सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्री र जनमतका बसन्त कुशवाहलाई सामाजिक विकास मन्त्रालय लिने सहमति बनेको थियो।

तर, बिहीबार प्रदेश प्रमुख कार्यालयले सरकारको सिफारिसमा गरेको मन्त्रीहरुको कार्यविभाजन सम्बन्धी पत्रमा जनमतका मन्त्री कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिएको उल्लेख छ।

केन्द्र सरकारमा पनि जनमत पार्टीका अब्दुल खानलाई उद्योग मन्त्रालय दिने सहमति भएपनि मन्त्रिपरिषद विस्तारका क्रममा खानेपानी मन्त्रालय दिइएको थियो । एक हप्तासम्म उक्त मन्त्रालय नलिएका खानले बुधबार भने कार्यभास सम्हालेका छन् ।

मधेश प्रदेशमा १० वटा मन्त्रालय छ । जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार सुरुमा एमाले ४, जसपा मुख्यमन्त्रीसहित ३ र जनमतले तीनवटा मन्त्रालय लिने र माओवादी केन्द्रलाई एउटा मन्त्रालय दिने सहमति बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्