स्ववियु चुनाव : गठबन्धन नगर्ने विद्यार्थी सङ्गठनको तयारी



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)–ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)–को निर्वाचन मिति तोकेपछि विद्यार्थी सङ्गठनहरू अहिले निर्वाचनको तयारीमा केन्द्रित भएका छन् । त्रिविको गत पुस २२ गते बसेको बैठकले आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आगामी ५ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको छ।

त्रिविले स्ववियु निर्वाचनको मिति तय गरेसँगै लामो समयदेखि रोकिएको स्ववियु निर्वाचन हुने भएको छ। पछिल्लो समय २०६५ सालमा प्रायः सबै आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको थियो । त्यसपछि २०७३ मा केही क्याम्पसमा निर्वाचन भए पनि सबै क्यापसमा निर्वाचन हुन सकेको थिएन।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार २०७३ सालमा उपत्यकाभित्रका ९ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदा उपत्यकाका १३ र उपत्यकाबाहिरका २३ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको थिएन । त्यसयताको विद्यार्थी आन्दोलन र सङ्गठनहरू औचित्यहीन भन्दै गएको टिप्पणी सुरु भएको छ। विद्यार्थी सङ्गठन र आन्दोलनको औचित्यमाथि प्रश्न उठ्न थालेको समयमा त्रिविले स्ववियु निर्वाचन घोषणा गर्दा विद्यार्थी सङ्गठनहरू फेरि जुरमुराउन थालेका छन्।

स्ववियु निर्वाचनलाई राजनीतिक दलहरूले प्रारम्भिक निर्वाचनको रूपमा महत्व दिने गर्छन्। जनतामाझ आफ्नो पार्टीको अवस्था कस्तो छ भन्ने प्रारम्भिक मूल्याङ्कनका रूपमा पनि पार्टीहरूले यो निर्वाचनलाई लिने गर्छन्। स्ववियु निर्वाचनको मिति घोषणा भए पनि अहिले निर्वाचन हुन्छ कि हुँदैन भन्ने चर्चा व्याप्त छ।

नेपाल कम्युनिस्ट पार्टी एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)–का उपाध्यक्ष आरसी लामिछानेले भने यो निर्वाचन हुने निश्चित भएको बताए। उनले अनेरास्ववियुकै कारण यो निर्वाचन हुने निश्चित भएको दाबी गर्दै नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)–ले स्ववियु निर्वाचन सार्ने प्रपञ्च गरिरहेको आरोप लगाए।

अनेरास्ववियुकै कारण त्रिवि र मध्यपश्चिम विश्वविद्यालयमा स्ववियुको मिति घोषणा भएको भन्दै उनले नेविसङ्घ र अखिल (क्रान्तिकारी) का जिम्मेवार नेताहरूलाई आफ्नो मूल सङ्गठनको निर्वाचनबाट नभाग्न सचेत गराउन आग्रह गरे। स्ववियु निर्वाचनलाई संसदीय राजनीतिको पहिलो खुड्किलोका रूपमा हेरिन्छ। त्यसकारण यो निर्वाचनमा संसदीय निर्वाचनमा हुने सबैखाले हर्कत हुने गर्छन्।

यस्तो छ विद्यार्थी सङ्गठनहरूको तयारी

त्रिविले स्ववियु निर्वाचन मिति तय गरेसँगै अखिल (क्रान्तिकारी)–ले जिल्ला र क्याम्पसहरूको कमान्डर तोकेको छ । अखिल (क्रन्तिकारी)–ले यो निर्वाचन एकल रूपमा लड्ने निर्णय गरेको छ । अखिल (क्रन्तिकारी)की अध्यक्ष पञ्चा सिंहले कमान्डहरूले क्याम्पसहरूको अवस्थाको बारेमा वस्तुस्थितिको रिर्पाेटिङ गर्ने बताइन् । उनले स्ववियुसम्बन्धी बाँकी विषयमा जिल्ला र क्याम्पसका कमान्डरहरूले दिएको रिर्पोटिङका आधारमा थप छलफल गर्दै निर्णय गर्ने बताइन् ।

अखिल (क्रान्तिकारी)मा भने अहिले समानान्तर समिति बनेका कारण आन्तरिक किचलो सतहमा छरपष्ट छ । उपाध्यक्ष पवन कार्कीले आफूलाई महासचिव नबनाएको भन्दै देखाएको असन्तुष्टि अहिले समानान्तर गतिविधिसम्म पुग्दा यो निर्वाचन अखिल (क्रान्तिकारी)लाई सुखद् नहुने नेताहरू बताउँछन् । नेविसङ्घले स्ववियु चुनाव हुने क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि पठाउने तयारी गरिरहेको अध्यक्ष दुजाङ शेर्पाले बताए । उनले अबको एक हप्ताभित्र स्ववियुसम्बन्धी सङ्गठनले गर्नुपर्ने सम्पूर्ण तयारी सकेर क्याम्पस केन्द्रित कार्यक्रममा लाग्ने बताए।

उनका अनुसार नेविसङ्घले यो साताभित्र उम्मेदवारको मापदण्ड, नेविसङ्घको शैक्षिक एजेन्डा, क्याम्पसमा गरिने कार्यक्रमको तालिका, स्ववियु लक्षित सङ्गठनको प्रचारप्रसार विभाग गठनलगायतको काम सकाउने छ। केन्द्रले कार्यक्रमको विषयमा तालिका बनाउँदै गर्दा क्यापसका नेताहरूले भने विभिन्न कार्यक्रम सुरु गरिसकेका छन्।

देशका प्रमुखमध्येको मानिने पाटन क्याम्पसमा नेविसङ्घले विभिन्न तयारी गरिरहेको पाटन बहुमुखी क्याम्पसको नेविसङ्घका उपाध्यक्ष सुशील विष्टले जानकारी दिए। उनले क्याम्पसमा विद्यार्थीहरूलाई पठनपाठनमा सहयोगदेखि अन्य विभिन्न कार्यक्रम सुरु गरिसकेको बताए।

त्यस्तै अनेरास्ववियुले देशभरका मातहतका कमिटीलाई नै स्ववियु निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको उपाध्यक्ष आरसी लामिछानेले बताए। उनले इन्चार्ज भानुभक्त ढकालको उपस्थितिमा मातहतको कमिटीलाई नै स्ववियु निर्वाचन परिचालन कमिटीको रूपमा परिचालन गर्ने निर्णय भएको भन्दै अनेरास्ववियु देशभर स्ववियु निर्वाचनमा केन्द्रित भइसकेको बताए ।

विद्यार्थीका एजेन्डा

त्रिविले निर्वाचनको मिति घोषणा गरेसँगै आन्तरिक तयारीमा रहेको विद्यार्थी सङ्गठनहरूले निर्वाचनको प्रारम्भिक तयारी गरिरहेका छन्। उनीहरूले अहिले देशभरका क्याम्पसहरूको अवस्थाको विषयमा क्याम्पसका नेताहरूबाट रिपोर्टिङ लिने क्रम सुरु गरेका छन् । सङ्गठनहरूले तयार गर्नुपर्ने घोषणापत्र, एजेन्डा र निर्वाचन परिचालन कमिटी निर्माण सुरु गरेका छन्।

अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले देशभर परिचालन कमिटीको जिम्मेवारी बाँडफाँट गरिसकेको छ भने नेविसङ्घले यो साताभित्र सम्पूर्ण तयारी सकाउने गरी तयारी थालेको अध्यक्ष शेर्पाले बताए।परिचालन कमिटी तयार गरिसकेको अनेरास्ववियुले निर्वाचनका लागि एजेन्डासमेत तयार पारिसकेको छ।

‘जहाँ विद्यार्थी त्यहाँ अनेरास्ववियु, अनेरास्ववियुको नेतृत्वमा स्ववियु निर्वाचनको मोर्चा’ अनेरास्ववियुको एजेन्डा छ। यो स्ववियुबाट लर्खराएको विद्यार्थी आन्दोलनलाई अनेरास्ववियुले माथि उठाउन चाहेको लामिछाने बताउँछन् । अन्य विद्यार्थी सङ्गठनहरू भने अहिले एजेन्डा तयलगायत साङ्गठानिक र नीतिगत विषयमा आन्तरिक छलफल गरिरहेका छन् ।

स्ववियु उम्मदेवारको मापदण्ड

२८ वर्षे उमेर हद तोकेका कारण यो निर्वाचनमा विद्यार्थी सङ्गठनहरूलाई उम्मेदवार तय गर्न धेरै सजिलो भएको अनेरास्ववियुका उपाध्यक्ष लामिछाने बताए। उनले अनेरास्ववियुमा क्याम्पस कमिटीहरूले सिफारिस गरेको व्यक्ति नै उम्मेदवार हुने भएका धेरै समस्या नभएको बताए । उनका अनुसार अनेरास्ववियु सम्पूर्ण तयारीसहित निर्वाचनमा होमिइसकेको छ।

उम्मेदवारको मापदण्ड सबै सङ्गठनको लगभग एउटै खाले हुने गर्छ। निरन्तर सङ्गठनमा रहेको, सम्बन्धित क्याम्पसको विद्यार्थी भएको, सबै विद्यार्थीमाझ लोकप्रिय भएको व्यक्ति नै उम्मेदवार हुने अखिल (क्रान्तिकारी)की अध्यक्ष सिंह बताउँछिन्। नेविसङ्घको पनि यस्तै मापदण्ड हुने अध्यक्ष शेर्पा बताउँछन् । यद्यपि नेविसङ्घले यी विषय एक साताभित्र टुङ्ग्याउने शेर्पा बताउँछन्।

प्रतिक्रिया दिनुहोस्