वामदेवको कार्यकारी धोको नेकपा एसको कोर्टमा



काठमाडौं । वामपन्थी दलको कार्यकारी पदमा पुग्ने नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमको महŒवाकाङ्क्षा पूरा हुने भएको छ। वामएकता कि समाजवादी एकता ? को उल्झनमा रहेको नेकपा एकीकृत समाजवादी गौतमलाई वरिष्ठ उपाध्यक्ष बनाएर कार्यकारी अधिकार दिन तयार भएसँगै गौतमले नेतृत्व गरेको नेकपा एकता अभियानका अभियन्ता नेकपा एसमा समाहित हुन सकारात्मक भएका हुन्।

उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टीसँग वैचारिक मतभिन्नताका कारण तत्काल पार्टी एकता सम्भव नभएपछि नेकपा एसले गौतमको समूहलाई तत्काल पार्टीमा भित्र्याउन पहल थालेको हो। यो पहलपछि गौतमले नेतृत्व गरेको समूह पनि सकारात्मक बनेको छ। दुवै दलबीच दस्तावेज आदानप्रदान भएर एकताका लागि सबैजसो वातावरण मिलेको छ,’ नेकपा एसका एकजना सचिवालय सदस्य भन्छन्, ‘माधव नेपालले नै गौतमसँग बढी कुरा गरिरहनुभएको छ, सम्भवतः उहाँ कार्यकारी अधिकारसहितको वरिष्ठ उपाध्यक्ष बन्नुहुनेछ।’

२१–२२ माघमा बस्ने केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने गरी बैठकअघि या त्यसपछि नै गौतमको समूहलाई भित्र्याउने नेकपा एसको तयारी छ। यसका लागि गौतमको समूहले पनि पदाधिकारी स्तरको बैठक बोलाएको छ। गौतम निकट नेताहरूका अनुसार नेपाल नेतृत्वको पार्टीसँग एकता गरेर पार्टी राजनीतिमा क्रियाशील हुन गौतम तयार भइसकेका छन्। तर नेकपा एसका कतिपय नेताले वरिष्ठ उपाध्यक्ष बनाए पनि कार्यकारी अधिकारको प्रयोग गर्न भने गौतमलाई दिन नहुने राय राख्दै आएका छन्।

पार्टी नेताहरूको फरक मतबीच पार्टीलाई शक्तिशाली बनाउने अभियानमा जुटेका अध्यक्ष नेपालले गौतमसँगै एमालेका असन्तुष्ट नेताहरूसँग समेत वार्ता गरिरहेका छन्। एक नेताका अनुसार एमालेबाट कारबाहीमा परेका घनश्याम भुसाललाई सचिवालय सदस्य बनाएलगत्तै नेपालले एमाले नेता भीम रावलसँग पनि कुराकानी थालेका छन्। रावल नेकपा एसमा जान सहमत भइनसके पनि सकारात्मक जबाफ प्राप्त भएको नेपालको स्वकीय सचिवालयले जनाएको छ।

आगामी केन्द्रीय कमिटी बैठकबाट भुसाललाई महासचिव बनाएर हालका महासचिव वेदुराम भुसाललाई उपाध्यक्ष र गौतमलाई वरिष्ठ उपाध्यक्ष बनाउने नेपालको तयारी छ। यसमा सचिवालयका सबै सदस्य एकमत हुन भने बाँकी रहेको बताइएको छ।

रावल पनि समेटिएको अवस्थामा उनलाई पनि उपाध्यक्ष बनाउन नेपाल तयार छन्। तर रावलले भने यस विषयमा खुलेर कुरा गर्न चाहेका छैनन्। नेकपा माओवादी केन्द्रसँग पनि एकताका लागि कुराकानी गरिरहेको नेकपा एसले सो पार्टीसँगको एकता पहलकदमी भने तत्काल पूरा नहुने निष्कर्ष निकालेको नेकपा एसका नेताहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्