सङ्घ विघटनको पक्षमा खेलकर्मी



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले गत महिना केही खेल सङ्घ विघटन गर्दै तदर्थ कमिटी गठन गरेपछि अन्य सङ्घमा पनि विघटनको आवाज उठ्न थालेको छ। वर्षौंदेखि तदर्थवादमा चलेको र खेलकुदको विकासमा नेतृत्वको भूमिका सकारात्मक हुन नसकेको भन्दै धेरै खेलकर्मी अहिले थुप्रै सङ्घ विघटनको पक्षमा उभिएका छन्।

विवादित शारीरिक सुगठन सङ्घका दुवै विवादित पक्षको सहमतिमा राष्ट्रिय खेलकुद परिषद्ले नयाँ तदर्थ कमिटी गठन गरेको थियो। यसैगरी नेपाल बुद्धिचाल सङ्घका विवादित ३ पक्षको सहमतिमा ३ महिनाभित्र निर्वाचन गर्ने गरी नया सङ्घ गठन गरियो। त्यसो त नेपाल उसु महासङ्घ विघटन गर्दै नयाँ तदर्थ कमिटी गठन गरिएको थियो । यसैगरी अस्तित्वमा रहेका राष्ट्रिय तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दाने सङ्घको कमिटीलाई विघटन गर्दै नेपाल तेक्वान्दो महासङ्घ गठन गरिएको थियो।

त्यसपछि नेपाली खेलकुदको परिदृश्य फेरिएको छ। थुप्रै खेल सङ्घमा विवाद देखिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले नेपाल कराँते महासङ्घ पनि विघटन गरेका छन्। उनले ३ महिनाभित्र निर्वाचन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव युवराज लामाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेका हुन्। यसैगरी, नेपाल बेसबल सङ्घ २ ध्रुवमा विभाजित छ भने नेपाल टेबलटेनिस सङ्घको विवाद विगत ३ वर्षदेखि ज्यूँका त्यूँ छ। टेबलटेनिस सङ्घका अध्यक्ष चतुरानन्दराज वैद्य पक्ष र पूर्वमुख्य प्रशिक्षक बिजेन्द्र हमाल पक्षबीच विवाद बढेको धेरै भइसकेको छ । गत अधिवेशनको प्रक्रियामा नै हमाल पक्षले असहमति जनाएको थियो।

नेपाल सुटिङ सङ्घको बेथितिका समाचार बारम्बार प्रकाशनमा आएका छन् । सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठले वर्षौंदेखि कम्पनीको मेल आइडीको नाममा अन्तर्राष्ट्रिय निकायसँग सम्पर्क गरिरहेको खुलासा भएको छ । राष्ट्रिय खेलकुदको समयमा पोसाक बापतको रकम सङ्घले उपलब्ध नगराए पनि सञ्चारमाध्यममार्फत खेलाडीले विद्रोह गरेपछि सङ्घले त्यो रकम उपलब्ध गराउन पहल गरेको हो । लामो समयदेखि राष्ट्रिय टोलीको प्रशिक्षण हुन नसकेको आक्रोश खेलाडीमा छ । सुटिङ रेन्जमा १ जना मात्र खेलाडी बोलाएर प्रशिक्षण गराएको गुनासोसमेत खेलाडीले गरेका थिए ।

नेपाल टी–२० लिगको नाम नेपाली क्रिकेट इतिहासकै बद्नाम मोडमा पुगेको छ। स्पट फिक्सिङपछि राष्ट्रिय खेलकुद परिषद्ले बोर्डका कार्यकारी सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितीले नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलकुद ऐनअनुसार काम नगरेको ठहर गरिसकेको छ।

प्रसङ्ग यतिमा रोकिएको छैन, स्पट फिक्सिङमा समेत क्यान गैरजिम्मेवार बनेको छ।पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्य र महासचिव जगतमान श्रेष्ठ पक्षधरको विवादका कारण कुनै काम अघि बढ्न सकेको छैन । एकाध खेलाडीको रुचिअनुसार निर्णय गर्ने गरेको आरोप अध्यक्ष बज्राचार्यमाथि लाग्ने गरेको छ । राष्ट्रिय खेलकुद परिषद् पौडी सङ्घ पनि विघटन गर्ने पक्षमा रहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्