निर्मला हत्या प्रकरणमा प्रहरी र जनप्रतिनिधिका आफन्त



भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको डेढ महिना पुग्न लाग्दासमेत हत्याराको पहिचान हुन सकेको छैन। डेढ महिनासम्म उनको हत्याको अनुसन्धान जारी रहेको प्रहरीले बताइरहे पनि अनुसन्धान कुन चरणमा पुग्यो र अहिलेसम्म के–कस्तो सफलता पाइयो भन्ने बाहिर आउन सकेको छैन। डेढ महिना पुग्न लाग्दासमेत वास्तविक अपराधी पत्ता लाग्न नसकिरहेका बेला प्रहरीले थुप्रै कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार तत्कालीन प्रहरी अधिकृत र केही जनप्रतिनिधिका आफन्ततर्फ अनुसन्धान केन्द्रित छ। जिल्ला प्रहरी कार्यालयले तत्कालीन प्रहरी अधिकृत र केही जनप्रतिनिधिका आफन्ततर्फ समेत अनुसन्धान केन्द्रित गरेको हो। प्रहरी प्रमुख एसपी कुबेर कडायतले कुनै पनि घटनाको अनुसन्धानको दायरा निकै फराकिलो हुने भन्दै निर्मला हत्या प्रकरणको अनुसन्धान क्रममा समेत प्रहरी अनुसन्धान विभिन्न कोणतर्फ केन्द्रित भएको बताए।

अनुसन्धान प्रहरी अधिकृत र केही जनप्रतिनिधिका आफन्ततर्फ केन्द्रित छ’, उनले भने, ‘अहिलेसम्मको अनुसन्धानमा उनीहरूको कहीँ–कतै कुनै सम्बन्ध जोडिएको देखिँदैन’, एसपी कडायतले भने, ‘तर अहिले देखिएको छैन भनेर अनुसन्धान नै टुंगिने भन्ने हँुदैन, प्रहरीले निगरानीमा भने राखिरहेको छ।’

प्रहरीले घटनामा तत्कालीन प्रहरी अधिकृत र केही जनप्रतिनिधिका आफन्तको नाम जोडिएर आएपछि फोन रेकर्ड, सामाजिक सञ्जाललगायत उनीहरूसँग जोडिएका सबै पक्ष निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ।

प्रहरीले बालिका गृहकार्य गर्न गएको उनकी साथी रोशनी बमको घर अनि दुवै दिदीबहिनीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ। शंकाको घेरामा रहेका बम दिदीबहिनीतर्फ यसअघि अनुसन्धान केन्द्रित थिएन।

भदौ ८ गते पक्राउ गरिएका बम दिदीबहिनीलाई प्रहरीले ७÷७ दिन गरी १४ दिन थुनामा राखेर म्याद थपी अनुसन्धान गरिरहेको छ। ‘अनुसन्धानका धेरै पाटा हुन्छन् र त्यसैतर्फ अनुसन्धान जारी छ’, एसपी कडायतले भने, ‘प्रहरीले अनुसन्धान गर्ने क्रममा शंका लागेमा अनुसन्धानको दायरामा जोसुकैलाई ल्याउन सक्छ।’ प्रहरीले थुनामा रहेका दिलीपसिंह विष्टका सम्बन्धमा समेत अनुसन्धान अघि बढाएको छ।

विष्टको मानसिक स्वास्थ्य ठीक नरहेको र वास्तविक अपराधी जोेगाउन प्रहरीले उनलाई फसाउन खोजेको आरोप लागेपछि प्रहरीले विष्टको स्वास्थ्य परीक्षणका लागि काठमाडौं लगेको छ। उनको डीएनए परीक्षण, मानसिक स्वास्थ्य अवस्थासहित फरेन्सिक चेक गर्न काठमाडौको टिचिङ अस्पतालमा राखेर स्वास्थ्योपचार भइरहेको छ।

प्रहरीका अनुसार अन्य कोणबाट समेत निर्मला हत्या प्रकरणको अनुसन्धान भइरहेको छ। ‘निर्मला हत्या प्रकरणको अनुसन्धान निकै गहन रूपमा केन्द्रित भइरहेको छ’, जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले भने, ‘स्थानीय र सबै पक्षको सहयोग जति धेरै भयो त्यति छिटो सत्यतथ्य बाहिर ल्याउन सहज हुनेछ।’

निर्मलाको बलात्कारपछि हत्या गर्ने वास्तविक हत्यारा बाहिर ल्याउनुपर्ने माग राखेर भदौ पहिलो साता भएको आन्दोलनपछि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले समेत अनुुसन्धान सूक्ष्म रूपले गरिरहेको छ। अनुसन्धान प्रभावकारी बनाउन र वास्तविक अपराधी पत्ता लगाउन सहज होस भनेर एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा सीआईबीको टोलीले समेत अनुसन्धान जारी नै राखेको छ। साउन १३ मा डीएसपी अंगुर जिसीको नेतृत्वमा अनुसन्धान टोली महेन्द्रनगर आएको थियो। यो टोली पनि अनुसन्धानमा सहयोग पु¥याउन नै आएको प्रहरीले जनाएको छ।

साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को बीचमा पर्ने निम्बुखेडा खोलानजिकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। हत्यारा सार्वजनिक हुनुपर्ने माग राखेर दबाबमूलक कार्यक्रम गर्दै आएका स्थानीयले भदौ ४ गते प्रहरीले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीप विष्टलाई अभियुक्त बनाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलन चर्काएको थियो।

भदौ ७ र ८ गते महेन्द्रनगरमा आन्दोलन क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भयो भने थुप्र्रै घाइते भए। घटनापछि गृह मन्त्रालयले तत्कालीन एसपी डिल्लीराज विष्टलाई केन्द्रमा तानेर निलम्बन गरिसकेको छ भने सीडीओ कुमारबहादुर खड्का र डीएसपी ज्ञानबहादुर सेटीलाई समेत केन्द्रमा तानेर उनीहरूको ठाउँमा प्रमुख जिल्ला अधिकारीमा तारानाथ अधिकारी र डीएसपीमा कृष्णराज ओझालाई खटाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्