क्यानले सार्वजनिक गर्‍यो बन्द प्रशिक्षणका २८ खेलाडी



काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन।

लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि २० असोजमा प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालत, काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालत, पाटनले २० लाख धरौटीमा सर्शत रिहा गर्न आदेश दियो। त्यसअनुसार उनी २९ पुसमा थुनामुक्त भएका छन्।

उनी थुनामुक्त भएपछि क्रिकेट संघका पदाधिकारीहरुले खेलमा फर्काउने विषयमा छलफल गरेका थिए। बिहीबार मात्र क्रिकेट संघका पदाधिकारीहरुले लामिछानेको निलम्बन फुकावा गरेर खेलमा फर्काउने विषयमा परामर्श भइरहेको बताएका थिए। तर शुक्रबार घोषित प्रारम्भिक टोलीमा उनी अटाएनन् ।

स्कटल्याण्ड र नामिबिया सहितको त्रिकोणात्मक सिरिजका लागि बोलाइएका क्रिकेटरमा मौसम ढकाल, अन्कित सुवेदी र सूर्य तामाङ नयाँ अनुहार छन् ।

यस्तै कुलश भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डरी, सागर ढकाल र सन्दीप जोरा छन् ।

यसैगरी किशोर महतो, कमल सिंह ऐरी, सिद्धान्त लोनही, अर्जुन चन्द, अभिनाथ बोहोरा, विवेक यादव, भीम सार्की, कुशल मल्ल, अनिलकुमार साह, विक्रम शोब र भुवन सार्कीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

मनोज प्रभाकरले डेब्यु गराएका हरिशंकर साह र राष्ट्रिय टिममा भित्र्याएका नन्दन यादव यो सूचीमा परेनन् ।

प्रतिक्रिया दिनुहोस्