दुई सातामै काठमाडौंमा सडकका ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत



काठमाडौं । पछिल्लो दुई सातामा काठमाडौंका सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भएको छ। यसअघि उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकमा संरचना रहेका निकायका प्रतिनिधिसहित बैठक गरेर दुई सातामा खाल्डाखुल्डी हटाउन लाग्न निर्देशन दिएका थिए।

मन्त्री श्रेष्ठसँगै सम्बन्धित निकायका प्रतिनिधिहरुले उपत्यकाका विभिन्न सडकको स्थलगत अवलोकन समेत गरेका थिए। शुक्रबार मन्त्रालयमा सडकसँग सम्बन्धित आठ निकायहरुको संयुक्त बैठक सम्पन्न भएको छ। बैठक काठमाडौं महानगर पालिकाको मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाकी मन्जली शाक्य बर्जर्चायलगाएत नेपाल टेलिकम, मेलम्ची खानेपानी आयोजना, नेपाल विद्युत प्राधिकरण र काठमाडौं उपत्यका खानेपनी लिमिटेडका प्रमुखहरु समेतको सहभागिता रहेको थियो।

बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका विभिन्न निकायले आआफ्नो काम गरिरहेको भएपनि एकीकृत स्वरुपमा समन्वयत्मक ढंगले काम गर्न आवश्यक रहेको औँल्याए। विकास निर्माणका काम गुणस्तरीय रुपमा सम्पन्न गर्नुपर्ने उनको भनाइ छ। शुक्रबारको बैठकले तीनकुनेस्थित बागमती पुल र बिजुलीबजारस्थित धोबीखोलाको पुल मुनिबाट करिडोर चालु गर्ने निर्णय गरेको छ।

नेपाल विद्युत प्राधिकरणबाट सञ्चालित आयोजनाहरुको निर्माणस्थलमा प्राधिकरण र सडक विभागबीच भएको समझदारीअनुसार क्षति पुगेको खण्डमा अस्थायी वा स्थायी खण्डको पुनःस्थापना गर्ने पनि निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्