टाइगर कप महिलातर्फको उपाधि एपीएफले जित्यो



काठमाडौँ। पोखरामा सञ्चालित टाइगर कप भलिबलको महिलातर्फको उपाधि विभागीय टोलीले हात पारेको छ। अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले दोस्रो पटक उपाधि जितेको हो।

एपीएफले आर्मीलाई पहिलो सेटमा २५-२० को स्कोरमा पराजित गर्‍यो। दोस्रो सेटमा भने आर्मीले एपीएफमाथि २५-२२ को जित निकाल्यो।

तर, तेस्रो सेटमा २५-८ र चौथो सेटमा २५-२२ को स्कोर निकालेपछि एपीएफ विजयी भयो। उपाधिसँगै एपीएफले ५ लाख रुपैयाँ र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ पाएको छ।

गुमायो आर्मीले अवसर

डिफेन्डिङ च्याम्पियनसमेत रहेको एपीएफ र आर्मी अघिल्लो संस्करणमा पनि फाइनलमा भिडेका थिए। टाइगर कपको दोस्रो संस्करणमा एपीएफले आर्मीलाई ३-० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको थियो।

महिलातर्फ न्यू डायमन्डले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित तेस्रो स्थान सुरक्षित गर्‍यो। न्यू डायमण्डले १ लाख २५ हजार रुपैयाँ र चौथौं गण्डकी प्रदेशले ६५ हजार रुपैयाँ पाएको छ।

अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकीको महिला टोली प्रतियोगिताकै कमजोर टिमसमेत बन्यो। टिममा ३ जना भारतीय राष्ट्रियस्तरका खेलाडीसमेत सम्मिलित थिए। तर, ४ टिम सहभागी खेलमा गण्डकीले घरेलु मैदानमै कुनै पनि खेल जित्न सकेन।

पुरुषतर्फ पुलिस तेस्रो

टाइगर ग्रुप अफ पोखराले आयोजना गर्दै आएको महिला पुरुष टाइगर कपको पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारेको छ।

पुलिसले साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो। पोखरा रंगशालााको भलिबल कोर्टमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आर्मीले पहिलो सेट २५-२२ अंकको जित निकाल्यो।

तर, त्यसपछिका ३ सेट लगातार गुमाउन पुग्दा चौंथोमा सीमित हुन पुग्यो। पुलिसले दोस्रो सेट १८-२५, तेस्रो सेट २१-२५ र चौथो २०-२५ अंकले जित निकाले हो। तेस्रो भएको पुलिसले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ। चौथो भएको आर्मीले ६५ हजार रुपैयाँमा पाएको छ।

प्रतिक्रिया दिनुहोस्