बैतडीमा पानीमा बगिरहेको गन्धकको उपयोगका लागि पहल सुरु



काठमाडौँ । बैतडीको पाटनमा पानीमा बगेर बर्षौंदेखि गन्धक खेर गइरहेको छ । फलाम खानी, कृषि मल बन्ने फस्फोरस खानी, सिमेन्ट उद्योगमा प्रयोग हुने चुनढुङ्गा र स्टिलमा प्रयोग हुने ‘म्याग्नेट आईरन ओर’ जस्ता महत्वपूर्ण खानी भएको बैतडीमा गन्धकको खानी फेला परेको हो । पाटन नगरपालिकाको वडा नं १ गरालेक क्षेत्रमा गन्धक फेला परेको र यसलाई स्थानीयहरुले गन्धक तथा अमरक भन्ने गरेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए ।

गन्धकलाई स्थानीयहरुले औषधिको रुपमा प्रयोग गर्दै आइरहेका समेत उनले बताए । उनले भने ‘पाटन नगरपालिका वडा नं १ गरालेक क्षेत्रमा गन्धक फेला परेको छ । यसलाई स्थानीयहरुले औषधिको रुपमा प्रयोग गर्दै आएका छन् ।’

गन्धकलाई चोटपकट लागेका मानिस, पशुचौपाया लडेर घाइते भएमा वा मानिसको मुखमा घाउ खटीरा भएमा औषधिका रुपमा प्रयोग गर्ने गरेका छन् । यस्तै शरीर चिलाउने लगायतका रोगमा समेत गन्धकले औषधिको रुपमा काम गर्ने गरेको स्थानीयहरुको भनाइ रहेको छ ।

यहाँ पाईने गन्धक र अमरक नामको तत्व चोटकपटक लागेमा वा मर्केको ठाउँमा औषधिको रुपमा प्रयोग गर्ने चलन रहेको पाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए। खानीबारे विस्तृत अध्ययन हुन सके वास्तविकता थाहा हुने उनले बताए। गरालेक क्षेत्रमा पाइने गन्धकलाई औषधिको रुपमा प्रयोग गर्न टाढाका मानिस समेत आउने गरेको वडा अध्यक्ष ठगुन्नाले बताए ।

पाटनमा पाइएको गन्धकको नमूना खानी तथा भूगर्भ विभागमा बुझाउने तयारी भएको छ । गन्धकको नमूना बुझाउन आफू अहिले काठमाण्डौंमा रहेको उपप्रमुख बोहराले बताए । गरालेक क्षेत्रमा पाइने गन्धकको नमूना संकलन गरेर काठमाण्डौं पुर्याइएको उनले बताए ।

उनले भने ‘गन्धक जस्ता जडीबुटीको अनुसन्धानका लागि सम्बन्धित निकायसंंग समन्वयको प्रयास भइरहेको छ ।’ बैतडी जिल्लामा जडिबुटी लगायत विभिन्न खानी भए पनि राज्यबाट खोज अनुसन्धान हुन नसकेको स्थानीयहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्