रामदेव मरिक आत्माहत्या : जनप्रतिनिधिले ऋण तिरिदिने, छोरालाई पालिकामा जागिर



काठमाडौँ । गत हप्ता आत्महत्या गरेका सप्तरीका रामदेव मरिक डोमको ऋण गाउँपालिकाका जनप्रतिनिधिले तिरिदिने भएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका जनप्रतिनिधिले आफ्नो तलब भत्ताबाट उनको परिवारले विभिन्न वित्तीय संस्था र व्यक्तिलाई तिर्नुुपर्ने साढे ३ लाख रुपैयाँ तिरिदिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए।

छिन्नमस्ता गउँपालिका-२ रामपुरका ४५ वर्षीय रामदेव मरिक १० पुसमा घर नजिकै झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनले वित्तीय संस्थामा तिनुपर्ने ऋणको किस्ता तिर्न सकेका थिएनन् । शुक्रबार गाउँपालिकाका जनप्रतिनिधिहरुको छलफलले रामदेव परिवारको ऋण अध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिको तलब भत्ताबाट तिरिदिने निर्णय गरेको हो ।

एकलाख रुपैयाँ गाउँपालिका अध्यक्षकोतर्फबाट दिने र बाँकी अरु जनप्रतिनिधिबाट संकलन गरिने बताए। रामदेवका जेठो छोरा राजकुमार मरिकलाई कार्यालय सहयोगीको जागिर दिने गाउँपालिकाले निर्णय गरेको छ ।

जेठो छोरा राजकुमारको विवाहको लागि रामदेवले २०७८ मंसिरमा ग्लोबल आईएमई लघुवित्त वित्तीयबाट श्रीमती उर्मिला देवी मरिकको नाममा ९० हजार र महुली लघुवित्त वित्तीय संस्थाबाट ८५ हजार गरी रामदेवको परिवारले १ लाख ७५ हजार ऋण लिएको थियो ।

ग्लोबल आइएमई लघवित्तमा प्रत्येक महिना ५ हजार र माहुली वित्तीय संस्थाको ८ हजार ५ सय रुपैयाँ किस्ता तिरेर केही ऋण भने रामदेवले घटाइसकेका थिए । तर उनको वित्तीय संस्थामा मात्र नभई गाउँघरमा पनि धेरै ऋण रहेको पाइएको छ ।

२ कठ्ठा जग्गा मात्र भएका रामदेवले ३५ वटा सुँगुरका पाठा पालेका थिए। हुर्केपछि बेच्ने योजना बनाइरहेका सुँगुर गत जेठमा मरेपछि रामदेव ऋण तिर्न नसक्ने अवस्थामा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्