अखिल (क्रान्तिकारी)को कार्यक्रममा गएका पूर्वअध्यक्ष शर्मामाथि खनिए कार्यकर्ता



काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले स्ववियु चुनावकेन्द्रित प्रशिक्षण कार्यक्रममा सहभागी भएका पूर्वअध्यक्ष हिमाल शर्माको आलोचना भएको छ । उपमहासचिव शक्ति बस्नेत, फ्याक्सन इन्चार्ज हितमान शाक्य र पूर्वअध्यक्ष हिमाल शर्मालाई बोलाइएकोमा नेताहरू बस्नेत र शाक्य भने उपस्थित भएनन् ।

विवादित कार्यक्रममा सहभागी भएको भन्दै संस्थापनकै नेताहरूले पनि सामाजिक सञ्जालमा शर्मामाथि आलोचना गरेका छन् । सुरूमा पुल्चोक क्याम्पसमा कार्यक्रम तय गरिएकोमा बोलाइएका अतिथि नआउने भएपछि प्रशिक्षणस्थल शंकरदेव क्याम्पस तय गरिएको थियो।

आफूलाई गुटको कार्यक्रममा गएको भन्दै विरोध गरिएको भन्दै नेता शर्माले संगठनका समस्या, अन्तरविरोध स्वाभाविक भएपनि त्यसलाई हल गर्दै जानुपर्ने बताए।

‘म यहाँ कुनै गुटको या कसैलाई साथ दिने हिसाबले उपस्थित भएको होइन । आउँदै गरेको स्ववियू चुनावमा सिंगो क्रान्तिकारी विद्यार्थी र माओवादी आन्दोलनको शीर उँचो पार्ने चिन्तनसहित आएको हुँ’, शर्माले प्रष्ट्याए।

पार्टी पोलिटब्युरो सदस्यसमेत रहेका शर्माले निषेधको राजनीति समाधान गरेर अघि बढ्न सुझाए ।क्रान्तिकारीभित्रको विवादमा आफू जानकार भएको र हल गर्न पार्टी लागेपनि त्यो हुन नसकेको उनको भनाइ छ ।

पञ्चा समूहकै उपाध्यक्ष इन्द्र भुसालले फेसबुकमा लेखेका छन्, ‘विवादित समयमा संगठनका पूर्वअध्यक्ष र सम्मानित नेता कार्यक्रममा जाने कुराले विवाद झन् चर्कन्छ ।’ केन्द्रीय सचिव सञ्जय काल्धनले पनि शर्माको उपस्थितिलाई लिएर टिप्पणी गरेका छन् ।

‘लेखा आयोगले स्पष्टीकरण लिएको कमरेड पन्चा सिंह गुटको कार्यक्रममा सम्मानित नेताहरू खादा लगाउन गएर संगठनप्रति जिम्मेवार नबनेको प्रष्ट भएको छ। विगत लामो समयदेखि संगठन कोमामा छ कोमाबाट उठाउन, संगठन मिलाउन पूर्वअध्यक्षहरूको के भूमिका रह्यो ? मात्र टुलुटुलु हेरेर बस्नु ठीक हो त ? तपाईँहरूले हुर्काएको संगठनको माया नभएको हो कि कमरेड पञ्चा गुटलाई प्रशय दिएको हो ?’, उनको प्रश्न छ ।

पवन कार्की समूहका बालकुमार केसीले शर्माको फोटोमा रातो क्रस लाउँदै लेखेका छन्, ‘अखिल (क्रान्तिकारी) मा ठूलो विवाद छ २ ओटा समिति छन् पार्टी नेता कार्यकर्ताहरू सबैलाई थाहा छ यस्तो विवादको समाधान कसरी गर्ने संगठनको पूर्वअध्यक्ष हिमाल शर्माले पहल तथा छलफल गर्नुपर्ने होकि एउटा गुटको कार्यक्रममा गुट चलाउँदै हिँड्ने ? त्यसो हो भने अब हिमाल शर्मालाई हामीले किन नेता मान्ने ?’

क्रान्तिकारीका अर्का नेता श्याम रोक्काले पनि लेखा आयोगको स्पष्टीकरण नदिए पनि हुने, विराट संगठनलाई जति टुक्रा बनाए पनि हुने, मनपरेको जति सबैलाई पदाधिकारी बनाए पनि हुने, जे मन लाग्छ त्यही गर्दा हुनेगरी गतिविधि भइरहँदा शर्माको उपस्थितिले विद्यार्थी नेताको मनोभावना कमजोर बनाएको बताएका छन् ।

विद्रोही समूहका प्रवक्ता उपदेश यादवले अरु नेता टाढिए पनि संगठनकै पूर्वअध्यक्षले सम्मानित नेता बन्नसक्नुपर्ने बताएका छन् । ‘पार्टी र पार्टीका नेता सबै कार्यकर्ताको अभिभावक बन्न सक्नु पर्छ । संगठनको विवाद पार्टीले स्वीकार्दा पनि किन मिल्न सकेको छैन। विधान मिच्ने, संगठन सक्नेलाई पार्टीले पटक–पटक किन बचाउ गरिरहेका छन् ?’ यादवले प्रश्न गरे ।

आजको प्रशिक्षण कार्यक्रममा अध्यक्ष पञ्चा सिंहले आफूहरुको सम्पूर्ण ध्यान स्ववियु चुनाव केन्द्रित रहेको भन्दै सम्पूर्ण शक्ति त्यसैमा लगाउने बताइन् । त्यसैगरी संगठनका महासचिव दिपेश पुनले सबै क्याम्पसहरूमा स्ववियु चुनाव सम्पन्न गर्ने र विजयी हुने दायित्व अखिल क्रान्तिकारीको काँधमा आएको बताए।

प्रतिक्रिया दिनुहोस्