अमेरिकी उपमन्त्री नुल्यान्ड आज नेपाल आउँदै



काठमाडौं । अमेरिकी विदेश मन्त्रालयकी उपमन्त्री भिक्टोरीया नुल्यान्ड आज (आइतबार) नेपाल भ्रमणमा आउँदै छिन्। बदलिँदो भूराजनीतिक परिवेशमा नेपालको वस्तुस्थिति बुझ्न र नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले विदेश मन्त्रालयको राजनीतिक मामला नियाल्ने नुल्यान्डको भ्रमण तय भएको हो।

करिब ३० घन्टाको नेपाल बसाइमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्दै छिन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललगायतसँग पनि उनले भेटवार्ता गर्नेछिन्। वर्तमान सरकार गठन भएपछि नेपालमा हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

नुल्यान्डको भ्रमण केन्द्रित गर्दै गत साता नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले परराष्ट्रमन्त्री पौडेलसँग भेटवार्ता गरेका थिए। नुल्यान्डको काठमाडौं बसाइ छोटो भए पनि नयाँ सरकार गठन भएपछिको पहिलो उच्चस्तरीय भ्रमण भएकाले अर्थपूर्ण रूपमा लिनुपर्ने परराष्ट्र मामलाका जानकारहरूको तर्क छ।

‘नेपालमा अमेरिकी सहायता सम्झौता (एमसीसी) लगायत परियोजना कार्यान्वयनका क्रममा छ, वर्तमान सरकार गठन भएपछि चीनले बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अघि बढाउन सहयोग गर्ने बताइसकेको छ’, एक पूर्वराजदूतले भने, ‘आफ्ना चासोका विषय अमेरिकी प्राथमिकता हो।’ नेपाल र नेपालका छिमेकीका प्राथमिकता बुझ्न अमेरिकाले उपमन्त्री पठाएको ती पूर्वराजदूतको तर्क छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार मन्त्री नुल्यान्ड नेपाल, भारत, श्रीलंका र कतारको भ्रमणमा निस्किएकी हुन् । ३ दशकभन्दा बढी कूटनीतिक क्षेत्रमा आबद्ध नुल्यान्ड गत वर्ष उपमन्त्रीमा बढुवा भएकी थिइन् । राजनीतिक भेटवार्ताका क्रममा उनले नेपालको मानवअधिकार प्रजातन्त्र, शरणार्थी समस्यालगायतबारेमा छलफल गर्ने बताइएको छ । नेपालमा रहेका तिब्बती शरणार्थीको मानवअधिकारलगायत पक्षमा विगतदेखि नै अमेरिकी चासो रहँदै आएको छ।

गत वर्षको जेठमा नेपाल आएकी अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जियाले काठमाडौंमा तिब्बती शरणार्थीसँग भेटवार्ता गरेकी थिइन् । राजनीतिक भेटवार्ताका अतिरिक्त मन्त्री नुल्यान्डले नेपालमा अमेरिकी सरकारको सहयोगमा पुनर्निर्माण भएका सम्पदाको अवलोकन गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्