अध्यात्म चिन्तन र मानव शरीर



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

काठमाडौं । नेपाल देवभूमि हो, नेपालीहरू अध्यात्मप्रेमी छन् । हामीले अध्यात्म सागरमा पौडी खेल्दै जीवनलाई आफैँ उद्धार गर्न सक्नुपर्छ । यहाँ केही जीवननोपयोगी सूत्रहरूको चर्चा गरिन्छ। वेदप्रणिहितो धर्मोह्यधर्मस्तद्विर्पययः । वेदो नारयणः साक्षात्स्वंभूरिति शुश्रुम ।। भागवत ६।४।४० ।

यसको अर्थ : वेदले जे जुन कर्म र त्यसको विधान बताएको छ, त्यो नै धर्म हो, जे निषेध छ, त्यो अधर्म हो । वेद स्वयं भगवान् हो, जीवको स्वाभाविक स्वासप्रस्वास स्वयं ईश्वरको प्रकाश र ज्ञान हो। वेद अपौरुषेय छ, कुनै महापुरुष बा कसैबाट आएको नभई स्वयं ईश्वर सृजित हो। अन्य धर्महरू कोही कतैबाट आएको पाइन्छ। ज्योतिषामपि तज्योतिस्तमसः परमुच्यते। ज्ञानं ज्ञेयं ज्ञानगम्यं हृदि सर्वस्य विष्ठितम् ।। गीता १३।१७ ।

यसको अर्थ : त्यो परब्रह्म ज्योतिको ज्योति मायाबाट अझ पर छ, त्यो परमात्मा बोध स्वरूप, जान्न योग्य र तत्व ज्ञानबाट प्राप्त गर्न योग्य र सबैको हृदयमा विशेष रूपले स्थित छ। दिवा तपति आदिच्चो रति आभाति चन्द्रिमा । सन्नद्धो खत्तियो तपति झायी तपति ब्राह्मणे । अथ सब्बमहोरति बुद्धो तपति तेजसा ।। धम्मपद ३८७ । यसको अर्थ : सूर्य दिनमा प्रकाशित, रातामा चन्द्रमा, कवचले क्षत्रीय प्रकाशवान् हुन्छ भने ध्यानका कारण ब्राह्मण प्रकाशित हुन्छ । बुद्ध आफ्नो तेजले आफैँ प्रकाशित छन् ।

धर्म के हो ? सत्यमेवेश्वरो लोके सत्यं धर्मसदाश्रितः । सत्यमूलानि सर्वाणि सत्यान्नास्तिपरं पदम् ।। वाल्मीकि रामायण । यसको अर्थ : सत्यले नै संसार अडेको छ, सत्यमै धर्म आश्रित छ र सत्य नै सबको मूल जरो हो, धर्म हो, सत्यभन्दा अर्को ठूलो पद नै छैन । श्रद्धया धार्यते धर्मो बहुभिनीर्थराशिभिः ।। निष्किन्चना हि मुनयः श्रद्धावन्तो दिवं गताः । गरुड पुराण । अर्थ : धर्मको धारण श्रद्धाबाट हुन्छ, धेरै धनबाट होइन, अत्यन्त निर्धनहरूले पनि श्रद्धाले स्वर्ग र मोक्ष प्राप्त गरेका छन् ।

धारणाद् धर्ममित्याहुधर्मेण विधृताः प्रजाः । यः स्याद धारणसंयुक्तः स धर्म इति निश्चयाः, महाभारत १०९।११ शान्ति पर्व । यसको अर्थ : धारण गर्नुको नाम धर्म हो, यसले अधोगतिबाट बचाउँछ र जीवनको रक्षा गर्छ । धर्मले नै सबै प्रजा अर्थात् प्राणीको रक्षा हुन्छ, धारण गरिरहेको हुन्छ, धारण अनि पोषण पनि हुन्छ, त्यही नै धर्म हो । सत्येन धार्यते पृथ्वी सत्येन तपते रविः । सत्येन वाति वायुश्च सर्वं सत्ये प्रतिष्ठितम् । चाणक्य नीति ५।१९ ।

यसको अर्थ : सत्यले पृथ्वी अडेको छ, सत्यले नै सूर्य उदाउने, अस्ताउने, प्रकाश गराउने हुन्, सत्यले वायु बहने, संसारमा भएका सबै सत्यले नै अडेका छन्, अतः सबैको आधार सत्य नै हो । सत्यं व्रुयात् प्रियं व्रुयात् न व्रुयात् सत्यमप्रियम् । प्रियं च नाअनृतं व्रूयादेष धर्म सनातनः ।। मनुस्मृति ४।१३८ । यसको अर्थ : सत्य बोल्नु, सुन्नेलाई प्रिय लाग्ने बोली नै बोल्नु, सुन्नेलाई अप्रिय लाग्ने सत्य नै पनि नबोल्नु, सुन्नेलाई प्रिय लाग्छ भन्दैमा झूठ पनि नबोल्नु ।

सत्यं ब्रह्म तपः सत्यं सत्यं विसृजते प्रजाः । सत्येन धार्यते लोकः स्वर्ग सत्येन गच्छति । महभारत, शान्ति पर्व । यसको अर्थ : सत्य नै ब्रह्म हो, तप भन्नु पनि सत्य हो, सत्यबाटै प्रजा भनौँ प्राणी रक्षा हुन्छ । सत्यले नै संसारलाई धारण गरेको छ, सत्यले नै स्वर्ग जाने हो । उपनिषद्ले ब्रह्म सत्यं जगन्मिथ्या भनेको छ । भागवत सत्यं परं धीमहि भन्दै आरम्भ हुन्छ अर्थात् सत्य मात्र ध्यान गर्न योग्य छ भनिएको हो । परम प्रभु त्यही हो, जो अविनाशी र सत्य छ ।

भतृहरि भन्नुहुन्छ : भोगे रोगभयं, कुले च्यूतिभयं, वृत्ते नृपालाद्भयं । माने दैन्यभयं, बले रिपुभयं, रूपे जरायाः भयम् । शास्त्रे वादिभयं, गुणे खलभयं, कायेकृतान्ताद् भयं, सर्वं वस्तु भयान्वितं भुवि नृणां वैराग्यमेवाअभयम् । भतृहरिको वैराग्यशतक ३१ । यसको अर्थ : खानामा रोगको भय छ, कुलमा च्युत हुने डर छ, धनमा चोर र राज्यको भय छ, मानमा दीनताको डर छ, गरिबले धनीलाई सहँदैनन्, बलवान्मा शत्रुको भय छ, रूपमा जरा बुढ्याइँको त्रास छ, शास्त्रज्ञका आलोचक बढी हुन्छन्, गुणीलाई निन्दाको डर हुन्छ, शरीरलाई कालको भय छ, संसारमा भयरहित केही छैन र त वैराग्य मात्र भयरहित छ ।

मनुस्मृति भन्छ : धर्म एव हतो हन्ति, धर्मो रक्षति रक्षितः अर्थात् धर्मको जसले रक्षा गर्छ, धर्मले उसलाई रक्षा गर्छ । त्यसैले गुरु व्यासको भनाइ छ : अष्टादश पुराणेषु व्यासस्य वचनं द्वयम् । परोपकार पुण्याय पापाय परपीडनम् । १८ पुराणका रचयिता वेद व्यासले जम्मा २ शब्द भने ः अरूको उपकार गर्नाले पुण्य हुन्छ र अरूको पीडाले पाप हुन्छ ।

मनुस्मृतिको भनाइ छ : अहिंसा सत्यमस्तेयं शौचमिन्द्रियग्रिहः । दानं दया दमः क्षान्तिः सर्वेषां धर्मसाधनम् अर्थात् हिंसा नगर्नु, सत्य र आचरणमा बस्नु, चोरी नगर्नु, शुद्ध रहनु, इन्द्रियलाई अधीनमा राख्नु, यथाशक्य दान गर्नु, सबैप्रति दया गर्नु, मनलाई नियन्त्रणमा राख्नु, सदैव शान्त रहनु मानव मात्रको धर्मको लक्षण हो । संसारका सबै धर्म सम्प्रदायहरूको अध्ययन गर्दा यस्तै विचार पाइन्छ ।

बुद्धको पञ्चशील : हिंसारहित जीवन, चोरी नगर्ने, झूठ नबोल्ने, व्यभिचार नगर्ने र मद्यपान नगर्ने हो । बुद्धका प्रमुख ४ वादहरू महायान, जसलाई पुरातनवाद भनियो, हीनयान, जसलाई संशोधनवाद भनियो, बज्रयान, जसलाई अस्तित्ववाद भनियो र थेरवाद, जसलाई अनिश्वरवाद भनिएको छ । बुद्धका ४ आर्य सत्यमा दुःख सत्य, समुदय सत्य, निरोध सत्य र मार्ग सत्य हुन् । जैन धर्मका पनि ४ वाद छन् । दिगम्बरवाद, जो निर्वस्त्र हुन्छन्, श्वेताम्बरवाद, जसले सेतो वस्त्र धारण गर्छन्, श्वेताम्बर, जो मूर्तिपुजक छन् र अर्का श्वेताम्बर, जो तेरापन्थी हुन् ।

ईश्वरका बारे ककसले के भने त ? यं शैवा समुपासते शिव इति ब्रह्मेति वेदान्तिनो । बौद्धाः बुद्धः इति प्रमाणपटकः कर्तेति नैयायिकाः ।। अर्हन्नित्यथ जैन शासनरता कर्मेति मीमांशकाः । सोअयंमे विदधातुवान्छितफलम् त्रैलोक्यनाथो हरिः ।। यसको अर्थ : शैवमार्गीहरूले ईश्वरलाई शिव भने, वेदान्तीहरूले ब्रह्म भने, बौद्धमार्र्गीहरूले बुद्ध भने, नैयायिकहरूले कर्ता भने, जैनमार्गीहरूले अर्हन्त भने, मीमांशकहरूले कर्म भने । जसले जे भने, ठिकै भने, तीनै लोकका मालिक त्रैलोक्यनाथका श्रीहरि, परमेश्वरबाट मानव मात्रले बाञ्छित फल पाऊन्, हामी यही भन्छौँ ।

शिखमार्गीहरूले गुरु नानकको उपासना गर्छन् । उनका प्रार्थनामा ५ वटा नाम छन् : सत्य, यथार्थ, ईश्वरको नाममा दया, सद्विचार, ईश्वर स्तुति र उनैको गुणगान । यजुर्वेदले संसारभरि शान्ति भनेको छ, सामवेदले शरीरका सबै अङ्गले कल्याण सोचून्, देखून, पूर्णायु होस् भन्दै संसारैभरि हितकर होस् भनेको छ । द्यौ शान्ति, स्वस्तिन इन्द्रो भन्ने वाक्यांशहरू तमाम व्यक्तिहरूले उच्चारण र व्यावहारिक प्रयोग गर्ने भन्ने चाहेको छ, ऋग्वेद मन्त्रहरूको खानी नै हो र अथर्व वेदले अर्थ संसारको, विकासको, विज्ञानको उपयोग र सदुपयोग खोजेको छ, स्थापत्यवेद वास्तुशास्त्र यसैमा पर्छ, मानव विकास र कल्याण अनि प्रगति ।

गीताले भनेको छ : मन एव मनुष्याणां कारणं बन्ध मोक्षयोः । उपनिषद्ले पनि यही भनेको छ अर्थात् बन्धनमा पर्ने वा मुक्ति पाउने आफ्नै मनले हो मान्छेको । देवी भागवतको श्लोक भन्छ ः न देहो न च जीवात्मार्नेन्द्र्र्रियाणि परं तपः । मन एव मनुष्याणां कारणं बन्ध मोक्षयौः ।

यसको अर्थ : बन्धनको कारण न देह हो, न जीव वा इन्द्रियहरू नै, बरु मानिसको मन नै यसको कारण हो । शुकदेव स्वामीलगायत राजर्षि जनकहरूको निचोड हो यो । देह भएर पनि जनक विदेह हुन् ।
देहोअयं मम बन्धोअयं न ममेति च मुम्तता । तथा धनं गृहं राज्यं न ममेति च निश्चयः अर्थात् यो देह मेरो हो, म बद्ध छु, यस्तो विचारले मुक्त हुन सकिँदैनन । धन र राज्य पनि मेरो होइन, मलाई दृढ निश्चय छ– देह नै मेरो होइन, मैले आर्जन गरेको राज्य मेरो कसरी हुन्छ र ? त्यसैले म विदेह हुँ भनेर शुकदेवलाई अथ्र्याउँदै जनक भन्नुहुन्छ । त्यसैले जनकलाई शुकदेवले गुरु मानेका हुन् ।

महाभारत ३९।७२ मा अक्रोधेन जयेत् क्रोधमसाधुं साधुना जयेत् । जयेत् कदर्यं दानेन जयेत् सत्येन चानृतम् भनिएको छ। यसको अर्थ : अक्रोधले क्रोधलाई जित्नु, असाधुहरूलाई साधुको व्यवहारले जित्नु, कृपणलाई दानले जित्नु र झूठलाई सत्यले जित्नु । बुद्धको धम्मपद २२३ ले भनेको छ : अक्रोधेन जिने कोधं असाधुं साधुना जिने । जिने कदारियं दनेन सच्चेन अलिकवादिनं अथवा क्रोधीलाई अक्रोधले जित्नु, असाधुलाई साधु भएर, नराम्रो गर्नेलाई राम्रो गरेर, कृपणीलाई दिएर र असत्यवादीलाई सत्यबाट जीवन सञ्चालन गर्नु वेश हुन्छ ।

प्रतिक्रिया दिनुहोस्