भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीबाट ल्याइएको देव शिला जनकपुरमा



काठमाडौं । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मूर्ति बनाउन काली गण्डकी नदीको देव शिला जनकपुरधाममा आइपुगेको छ । भगवान शालीग्राम पाइने नेपालको एकमात्र कालीगण्डकी नदीबाट दुई थान शिला जनकपुर हुँदै अयोध्या पठाउन लागिएको हो।

नेपालबाट प्रदान गर्न लागिएको शिलाबाट भगवान रामको बालस्वरुप निर्माण गरिनेछ ।शिला संकलन तथा पठाउने कार्यमा सक्रिय रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जनाए। उनका अनुसार ढुंगाबाट कुदिएर निर्माण गरिने भगवान रामको बालस्वरुप राम मन्दिरको गर्भगृहमा रहने छ।

‘राम मन्दिरमा स्थापित हुने मूल स्वरुप नै नेपालको शिलाबाट तयार गरिनेछ’ उनले भने, दुईवटा शिलाबाट एकै साथ मूर्ति बनाइनेछ। राममन्दिरमा ४ सय वटा कलात्मक पिल्लर राखिएको छ। हरेक खम्बामा १६ वटा देवीदेउताका मूर्ति कुदिनेछ। मन्दिर न्यास समितिले सार्वजनिक गरेको विवरण अनुसार मन्दिरको ४० सय खम्बामा गरी ६ हजार ४ सय देवी देउताका कलात्मक मूर्तिहरु कुदिनेछ।

भारत सरकारका गृहमन्त्री अमित शाहले जनाए अनुसार आगामी २०२४ सालको जनवरी १ तारेखको दिन मन्दिर निर्माणको कार्य पूरा हुनेछ।‘ भगवान रामको मन्दिर निर्माणको कार्य समयमै पूरा गर्न द्रुतगतिमा कार्य भइरहेको छ ’ उनले भने, राममन्दिरमा रहने कलाकृतिहरुले समग्र भारतको झझल्को दिनेछ।

नेपालबाट पठाउन लागिएको शिलाबाट बढीमा १० महिना भित्र भगवान रामको प्रतिमा तयार भइसक्ने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।‘ शिलाबाट भगवान रामको बाल्यस्वरुप निर्माण गरिनेछ’ उनले भने, दुईवटै शिलाबाट एकै साथ मूर्ति निर्माण गरिनेछ ।त्यस मध्येको उत्तम मूर्तिलाई मन्दिरको गर्भगृहमा प्रतिस्थापन गरिनेछ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२०को ५ अगस्तमा मन्दिर निर्माणका लागि भूमि पूजन गरेका थिए ।सो भूमि पूजनपछि मन्दिर निर्माणका कार्य प्रारम्भ भएको थियो । सन् २०१९ मा भारतको सर्वोच्च अदालतले मन्दिर निर्माणका लागि स्वीकृति प्रदान गरेको थियो ।सो जग्गा राममन्दिर निर्माण प्राप्तिका लागि १ सय ३५ वर्ष लामो कानूनी लडाइ लडिएको थियो । राममन्दिरमा सीताको प्रतिमासमेत स्थापित गर्न नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले पहल गरेका थिए।

त्यसपछि कालीगण्डकी नदीबाट शिला ल्याएर भगवान रामललाको प्रतिमा बनाउन दुवै पक्षबाट भएको पहलले सकारात्मक परिणाम दिएको छ। नेपाल सरकारले जानकी मन्दिर मार्फत शिलालाई भारतको अयोध्यास्थित राममन्दिर न्यासलाई प्रदान गर्नेछ।

कालीगण्डकी नदीबाट पूजापाठ गरी ल्याइएको शिला शनिबार राति जनकपुरधाम आइपुगेको हो। शिलालाई जानकी मन्दिर परिसरमा राखिने र आइतबार बिहान विशेष पूजा महाआरती गरिने कार्यक्रम रहेको उत्तराधिकारी महन्थ रामरोशन दासले जनाए।

देवशिला पूजन महाआरतीमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव समेतको सहभागिता रहनेछ। ‘ शिला आइतबार दिनभरि नै जनकपुरधाममा रहनेछ ’ उनले भने, शिला सोमबार बिहान भारतका लागि पठाइने छ।

प्रतिक्रिया दिनुहोस्