गोलीले नमरेका रणवीरलाई भोकले मर्ने पीर



  • सूर्य विक

वीरगन्ज  । राष्ट्रप्रतिको प्रेम कसलाई हुँदैन र ? सचेत नागरिकलाई आफ्नो, परिवारको, समाजको र राष्ट्रको माया लाग्छ। तर त्यही राष्ट्रले आफ्ना नागरिकप्रति प्रेम नदर्शाउँदाको अनुभव कस्तो हुन्छ होला? अझ त्यसमा पनि समाज र राष्ट्रकै लागि मृत्युको मुखमा पुगेर फर्केको मान्छेलाई।

समाजमा सकारात्मक व्यवस्था परिवर्तनका लागि शरीरमा ३ वटा गोली लागेर बाँचेको मान्छेलाई अहिले त्यो बेलाको आन्दोलनमा बाँचेकामा पछुतो छ । उनी हुन्– रौतहटको राजदेवी नगरपालिका–५ हजमिनिया निवासी रणवीरसिंह राजपुत ।

२०७१ साल चैतको कुरा हो। रौतहटमा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आन्दोलन चर्किएको थियो । सोही आन्दोलनमा राजपुत पनि सरिक थिए। आन्दोलन भनेकै समाजको परिवर्तनका लागि हो भन्ने बुझेका राजपुत अग्रमोर्चामै आन्दोलनमा होमिए। नाराबाजी हुने क्रममा प्रहरीसँग ढुङ्गामुढा प्रहार हुन थाल्यो।

यत्तिकैमा हिंसा नरोकिने सङ्केत पाएपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्‍यो। आन्दोलनकारी र प्रहरीबीचको झडप फिल्मी शैलीको भन्दा कम थिएन । कहिले प्रहरीले लखेटेर प्रदर्शनकारी भागे भने कहिले प्रदर्शनकारीले प्रहरीलाई लखेटे।

आन्दोलनको क्रममा प्रहार गरिएको अश्रुग्यास राजपुतको दृष्टि क्षमतालाई कमजोर बनाउने अस्त्र बन्यो । अश्रुग्यासले दृष्टि कमजोर बनायो भने गोलीले राजपुतलाई अशक्त र अपाङ्गता भएको व्यक्ति बनाइदियो । पहिलोे गोली उनको देब्रे हातमा लाग्यो। राजपुत भन्छन्, ‘मलाई त हातमा एउटा मात्रै गोली लागे जस्तो लागेको थियो । तर हातमा दुइटा र पेटमा एउटा गोली लागेको रहेछ।’

बायाँ हातमा गोली लागेपछि दायाँ हातले समाउँदै हिँड्न खोज्दा राजपुतको कम्मरभन्दा मुनिको भाग नै चलेन । त्यसपछि उनले चाल पाए कि पेटमा पनि गोली लागेछ भनेर। उनी ३ वटा गोली लागेर पनि बाँचे । भन्छन्, ‘जसलाई भगवान्ले पनि मार्दैनन्, उसलाई कसले मार्ने ? म त मरेर बाँचेको मान्छे हो।’ गोलीले नमरेका राजपुतलाई अब भोकले मर्ने सुर्ता छ । पेटमा लागेको गोलीका कारण आन्द्रासमेत च्यातिएको हुँदा आन्द्रामा टाँका लगाइएको छ । जसका कारण उनले भरपेट खाना खानसमेत पाउँदैनन्।

आन्द्रालाई काटेर सिलाइएको छ। हातमा अझै पनि गोली छ। अनि फलामको रड छ। अश्रुग्यासको असरले आँखामा समस्या छ। यस्ता समस्याले ग्रसित भएपछि काम गर्ने अवस्था पनि भएन उनको। काम नभएपछि दिनप्रतिदिन अवस्था झन्झन् खराब हुँदै गयो । आमा, श्रीमती, छोरा र छोरी गरी ५ जनाको परिवारलाई खान लगाउन पनि समस्या हुन थाल्यो । घाइते हुँदा उपचार खर्च पनि गाउँ समाज र आफन्तबाट लिएर गरेको उनी सुनाउँछन् । आफ्नो अवस्थाबारे जानकारी दिन र केही व्यवस्था हुन्छ कि भन्ने विश्वास लिएर थुप्रै मन्त्री र नेताका ढोका पुग्दा पनि सहयोग नपाएको तीतो अनुभव सुनाउँछन् उनी।

आफू पूर्ण रूपमा अशक्त भइसकेपछि कतै श्रीमतीलाई जागिर लगाइदिन पाए घरखर्च चलाउन सहज हुन्थ्यो कि भन्ने आस लिएर निवर्तमान मुख्यमन्त्रीसँग भेट्नकै लागि २० पटकभन्दा बढी मुख्यमन्त्रीको कार्यालय धाए। शहीद परिवारलाई राहत तथा घाइतेलाई व्यवस्थापन गर्ने भाषण गरेरै धेरै जनताको ताली खाएका निवर्तमान मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले भेट्नसमेत समय नदिएको दुखेसो रणवीरले सुनाए।

उपचारका लागि लिएको ऋण पनि उनले चुक्ता गर्न सकेका छैनन्। क्षति मूल्याङ्कन समितिले उपचारमा लागेको खर्चको बिल मागेको थियो। उनी आफैँ अस्पतालको शय्यामा जीवन र मृत्युसँग लडिरहेका थिए । अस्पतालबाट बिल लिनुपर्छ भन्ने समेत उनमा चेत थिएन। छोराछोरीलाई खानाको समेत व्यवस्था गर्न कठिनाइ भइरहेको अवस्थामा उनीहरूलाई पढाउनु त आकाशको फल आँखा तरी मर भने जस्तै भएको छ, उनको परिवारलाई।

मन्त्री तथा जनप्रतिनिधिहरूले शहीद दिवसमा शहीदका लागि ‘यस्तो ग¥यौँ’ भनेर भाषण गर्ने गरेका छन् । तर आन्दोलनमा ३ वटा गोली खाएर बाँचेका जिउँदो शहीदलाई अहिले दुई छाक टार्नसमेत हम्मेहम्मे परेको छ। उनी भन्छन्, ‘बरु आन्दोलनमा मरेको भए मेरो परिवारले केही भए पनि पाउँथ्यो, राम्रो हुन्थ्यो, अनि मैले शहीदको पहिचान पनि पाउँथे । मृत्युको मुखमा पुगेर पनि बाँचेकामा अहिले पछुतो लागिरहेको छ।’ आफ्नी श्रीमतीलाई कतै व्यवस्थापन गरिदिए घर खर्च चलाउन र छोराछोरी पढाउन भए पनि धेरै सहज हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्