
काठमाडौं: प्रहरीले स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा शनिबार एकजनालाई पक्राउ गरेको छ। सिन्धुली घर भई हाल भक्तपुर नगरपालिका १ सल्लाघारी बस्ने रबिन थापालाई विहान पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
उनलाई मध्यपुर थिमि नगरपालिका ४ एसएस चोकबाट पक्राउ गरिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए। चोरी भएको स्कुटर र २ थान माबइलसहित उनलाई पक्राउ गरिएको परिसरले जनाएको छ।
रामेछापका बिधुर खड्काले भक्तपुर नगरपालिका १ सल्लाघरीमा सञ्चालन गरेको राम भोले मोटर ड्राईभिङ सेन्टरबाट बा ५३ प ६५७६ नं.को स्कुटर र मोबाइल चोरी भएको भन्ने खबरका पाएलगत्तै प्रहरीले पिछा गर्दा भाग्दै गरेकै अवस्थामा पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ ।
उनलाई हाल महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।