बिशेष परिस्थितिबाहेक सिंहदरबारबाटै काम गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष परिस्थितिबाहेक सिंहदरबारबाटै काम गर्ने बताएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले विगतमा सिंहदरबारभन्दा बाहिरबाट शासन चलाउने गल्ती आफूले नगर्ने बताएका छन्।

‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु। विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाई हामी सबैसँग छ’ उनले भने, ‘यसपटक हामीले उक्त गल्ती दोहोर्‍याउनु हुँदैन। विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु।’

सिंहदरबारबाटै काम गर्नुको विशेष अर्थ रहने भन्दै प्रचण्डले प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्दा राज्यका सबै अंगहरूको एकीकृत परिचालन हुन सक्ने बताए।

प्रधानमन्त्री प्रचण्डले कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रूपमा लागू गरिने पनि बताए। उनले ‘निर्णय प्रक्रियालाई सरल बनाउन र छिटो छरितो कार्यसम्पादन गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्