हिरो जितु



काठमाडौं । फिल्म भन्नासाथ ‘हिरो’, ‘हिरोइन’, रोमान्स, एक्सन, कथा वा यस्तैयस्तै। अझ ‘हिरो’ले ‘हिरोइन’ बोकेको दृश्य त फिल्मका लागि अनिवार्य नै हो। कमेडियन जितु नेपाल फिल्मका यी दृश्य हेर्दाहेर्दा आजित थिए। त्यसैले उनी प्रायः स्टेज प्रस्तुतिमा ‘हिरोइनले हिरो बोक्ने दिन आएपछि म हिरो हुन्छु’ भन्थे। उनलाई थाहा थियो, गीत होस्, या फाइट ३–४ पटक त हिरोले हिरोइन बोक्नु अनिवार्य नै हो। ‘तर, समय एकनास रहेन।

पहिला हिरोले हिरोइन बोक्थे, अहिले ठिक उल्टो भएको छ। अहिले हिरोइनले हिरो त बोक्छन् नै, कथाले पनि हिरो हिरोइन बोक्ने दिन आयो’, यही शुक्रबारदेखि रिलिज हुने फिल्म ‘ह्यारी की प्यारी’का ‘ह्यारी’ अर्थात् जितु हालैको भेटमा भन्दै थिए, ‘हिरो हुन्छु भन्ने कहिल्यै सोचिएन । तर पनि नसोचेरै एक्कासि हिरो भएँ।’

फिल्म ‘गुरुचेला’बाट फिल्मी अभिनय यात्रा सुरु गरेका जितुले पछिल्लो फिल्म ‘छ माया छपक्कै’सम्म आइपुग्दा आफूलाई सहायक चरित्रमै उभ्याए। २ दर्जन फिल्ममा प्रमुख पात्रको वरपर नै घुमिरहेका जितुले ‘ह्यारी की प्यारी’मा मात्र आफ्नो वरपर अरूलाई घुमाउने अवसर पाए।

झस्किएका जितु

‘ह्यारी की प्यारी’ डा. कपिल रिजालको निर्देशकीय डेब्यु फिल्म हो। डा. रिजाल स्त्री रोग विशेषज्ञ डा. भोला रिजालका छोरा हुन् । लामो समयदेखि लन्डनमै दन्त चिकित्सकका रूपमा कार्यरत डा. कपिलले नेपाल आउँदा जितु र छायाकार सुदीप बराललाई फिल्मको कथा सुनाएका थिए।

‘नौलो कथा भएकाले राम्रो लाग्यो । पात्र पनि राम्रै छ । यस कथामा अझ केही विषयवस्तु थप्न पाए अझ राम्रो हुन्छ भन्ने सुझाव दिएँ । मलाई डा. कपिल सरले तपाईंले नै खेल्ने हो भनेपछि मैले सहमति जनाएँ। मेरो फिल्ममा विजय बराल पनि भएकाले ह्यारी विजय हो भन्नेमा म ढुक्क थिएँ। तर, ‘तपाईं नै ह्यारी हो’ भनेपछि म झस्किएँ’, जितु सुनिए, ‘म कमेडी पृष्ठभूमिबाट आएको मान्छे हुँ तर डा. कपिल सरले चरित्र अलिक गम्भीर किसिमको पनि छ भनेपछि म सहमत भएँ।’

साम्राज्ञीको हिरोइन भनेपछि…

आफू ‘हिरो’को रूपमा अभिनय गर्ने निश्चित भएपछि जितुलाई ‘हिरोइन को ?’ भन्ने चासो जीवितै थियो। जब डा. कपिलले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको नाम लिए, उनले पत्याएनन्। उनले साम्राज्ञीको नाम सुनेपछि ‘होइन होला’ भने। तर, सत्य सत्य नै थियो। ‘मसँग उहाँले खेल्नुहुन्छ त भनेर मैले डा. कपिल सरलाई सोधेँ। साम्राज्ञीले पनि सहमति जनाइसकेको कुरा थाहा पाएपछि चाहिँ अलिक ढुक्क भएँ’, जितु हाँसे।

मर्निङ वाकको टिपोट

जितु अक्सर हरेक दिन ‘मर्निङ वाक’ गर्छन् । जितु डा. कपिलसँगको फिल्मी सहकार्यको भेटपछि घर फर्किए। डा. कपिल पनि केही दिनपछि लन्डन उडे। ‘मैले घरमा गएर परिवारसँग फिल्मको विषयमा कुरा गरेँ। भोलिपल्ट मर्निङ वाक गरिरहँदा दिमागमा केही कुरा आए। त्यो कुरालाई घरमा आएर टिपोट गरेँ र यी कुरा फिल्ममा भइदिए अझ राम्रो हुन्थ्यो भन्ने लाइन सोचेँ’, जितुले सम्झिए, ‘२ महिना त्यसै बित्यो। त्यसपछि डा. कपिल सर लण्डनबाट आएर फाइनल स्क्रिप्ट सुनाउनुभयो । त्यो बसाइमा विजय पनि आइपुगिसकेका थिए। उहाँले कुरा सुनाइरहँदा मैले जे सोचेको थिएँ, त्यही कुरा पाएँ। त्यसले मलाई थप खुसी दियो।’

मोहविहीन जितु

मोह र मानव पर्याय हुन्। अर्थात् जुनसुकै कुरामा मानव मोहित नै हुन्छन्। टेलिभिजनको सानो दृश्यको अभिनयदेखि ठूलो पर्दाको लामा दृश्यका अभिनयसम्मका अनुभव सँगालेका जितुलाई ‘हिरो नै बन्छु’ भन्ने मोह कहिल्यै भएन।

‘एक दिन कहाँबाट सन्तोष पन्त दाइको आज भोलिका कुरा (पछि हिजो आजका कुरा)मा आफ्नो अनुहार देख्न पाएँ किनभने त्यसबेला टेलिभिजनमै अनुहार देखाउन कसलाई भन्ने थाहा थिएन । क्रेनले सामान उचालेजस्तै मलाई भगवान्ले पनि उचालेर अभिनयतिर राखिदिनुभयो। भगवान्ले नउचालिदिएको भए आज म यहाँ हुदिनँ थिएँ । फिल्ममा हिरो भएर अन्तरवार्ता दिन्छु, काँधमा स्क्रिप्ट, साइडमा साम्राज्ञीजी हुनुहुन्छ भन्ने कल्पना पनि थिएन’, जितु नोस्टाल्जिक बन्छन्।

जिम्मेवार जितु

जितुको अनुभवमा अघिल्ला फिल्मको तुलनामा ‘ह्यारी की प्यारी’ उनका लागि जिम्मेवारीपूर्ण फिल्म हो। सहायक पात्र भएर अभिनय गरिरहँदा पात्र प्राथमिकतालाई उनले नजिकबाट बुझ्ने मौका पाइसकेका थिए । तर, ‘ह्यारी की प्यारी’ उनका लागि फरक बन्यो, किनकि उनी नै ‘ह्यारी’ थिए।

‘अलिक बढी जिम्मेवारी महसुस भयो। प्रमुख पात्र भएपछि सुटिङलाई बढी समय दिनुपर्‍यो । आफैँ काम गरिहँदा पनि अलिक जिम्मेवारी महसुस भयो। अलिक राम्रो गर्न पाए हुन्थ्यो भन्ने भयो’, उनी भन्छन्, ‘कथामा सम्वाद बोल्ने शैलीमा ध्यान पु¥याउनुपथ्र्यो । गीतमा आफैँलाई मात्र खिचिरहँदा कहीँ कतै गल्ती पो हुने हो कि भन्ने आन्तरिक डर उस्तै हुन्थ्यो।’

उत्तिकै आशा

जितु कमेडीसँगै भावुक दृश्यमा उत्तिकै बेजोडले अभिनय गर्छन् । उनले ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’ सिरिज र ‘छ माया छपक्कै’मा यो कुरा प्रमाणित गरिसकेका छन्। ‘ह्यारी की प्यारीमा मेरो चरित्र कम कमेडी, बढी भावुक र गम्भीर किसिमको छ। यस फिल्मले मेरालागि नयाँ आयाम र करियरका लागि नयाँ पहिचान थप्नेमा आशावादी छु’, जितु खुल्छन्, ‘जितु नै प्रमुख भूमिकामा भए पनि राम्रो कथा, विषयवस्तु र टिम बन्यो भने राम्रो काम गर्दोरहेछ भन्ने प्रमाणित गरेर देखाउनेछु । सायदै अब त्यो चलन पनि सुरु होला ।’

चुनौतीका चाङ
मञ्चमा दर्शक हसाइरहँदा जितु ‘कलाकारलाई बिगार्नुपर्‍यो भने हिरो बनाइदिँदा हुन्छ’ भनेर व्यङ्ग्य गर्थे । ‘किनकि हिरो भएपछि ऊ अरू १–२ वटा फिल्ममा हिरो हुन्थ्यो। हिरो भइसकेपछि सहायक भूमिकामा अभिनय गर्न पनि मिलेन, राजनीतिको उपप्रधान बनाएजस्तै । राजनीतिको उपप्रधान बनाइदिएपछि फेरि मन्त्री भएर उपप्रधान बनाउनुपर्ने । त्यो भएन भने चुप लागेर बस्नुपर्‍यो’, जितु भन्छन्।

हिरो बन्दा जितु जति खुसी छन्, अगाडिका चुनौतीका चाङ देख्दा उनी उत्तिकै सचेत छन् । ‘म हिजो पनि उतारचढाव भोगेरै आएको हो । मेरो कमेडी पेसा पनि छँदै छ । स्ट्यान्डअप, महोत्सवका कार्यक्रम, टेलिभिजन, रेडियो कार्यक्रम छँदै छ । हिरोमा स्थापित भएर यस्तै राम्रो प्रोजेक्टमा काम गर्न पाइयोस् भन्ने रहर छ’, जितु उत्साह सुनाउँछन् ।

होचोमा गर्व

एक समय थियो, ‘हिरो’ भन्नासाथ उचाइ, जीउडाल, रूपलाई प्राथमिकता दिइन्थ्यो । तर, फेरिएको समयसँगै फेरिएको कथावस्तुले ‘हिरो’को बुझाइलाई अन्त्य गरिदिएको छ । उचाइका हिसाबले जोकोहीले जितुलाई ‘होचो’ भने पनि उनले त्यो अनुभव कहिल्यै गरेनन् किनकि जुनसुकै चरित्रमा उनी आफूलाई ‘फिट’ नै राखे । ‘ह्यारी की प्यारी’मा उनलाई भावुक दृश्यमा केही असहज महसुस भएको रहेछ ।

साम्राज्ञीको बुझाइमा जितु

जितु र साम्राज्ञीको यो पहिलो सहकार्य हो । ‘ह्यारी की प्यारी’ अभिनय साम्राज्ञीका लागि विशेष छ किनकि उनको फिल्मी जोडी जितु छन्। ‘उहाँलाई भेट्दा नयाँ कुरा सिक्न पाउँछु। उहाँको हिँडाइ, बोलाइ अन्यको भन्दा फरक छ। मैले सुटिङमा सम्वादको कतिपय अर्थ थाहा थिएन।

कतिवटा शब्द त उच्चारण गर्न पनि आउँदैन थियो तर जितु दाइले शब्दको अर्थ बुझाइदिएपछि मैले बोल्ने शैली परिवर्तन गरेँ’, साम्राज्ञी भन्छिन्, ‘मैले हालसम्म मेरै उमेरका कलाकारसँग सहकार्य गरेँ तर जितु दाइ अलिक म्याचुअर्ड हुनुहुन्छ । उहाँको अनुभवले मैले धेरै कुरा सिक्ने मौका पाएँ ।’ फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्