खाडीमा गाडी चढ्ने रहर : १२ घन्टा काम, १२ हजार तलब !



  • सूर्य विक

वीरगन्ज । ब्याचलर्स इन बिजनेस साइन्स (बीबीएस) प्रथम वर्षमा अध्ययनरत २३ वर्षीय एक युवाको सपना छ– खाडी जाने र गाडी चढ्ने। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ निवासी अञ्जन खड्कालाई जसरी पनि खाडी जाने र खाडीबाटै अस्ट्रेलिया पुग्ने रहर पलाएको छ।

गौशाला पिङ्गलास्थानस्थित होटल रामेश्वरममा वेटरको रूपमा कार्यरत छन् अञ्जन। उनी अर्जनु खड्काकी पहिलो पत्नी मीना खड्काका कान्छा छोरा हुन्। बुबा दोस्रो बिहे गरेर कान्छी पत्नीसँगै बस्छन् भने आमा मीनाकै संरक्षणमा अञ्जन हुर्किए। आमाले उनलाई हुर्काइनन् मात्रै, बढाइन्, पढाइन् पनि। नियमित रूपमा ज्याला मजदुरी गर्दै हातमुख जोड्ने खर्चसँगै आफूले आधा पेट खाएर भए पनि उनले छोरालाई राम्रो शिक्षा दिइन्।

अञ्जनले श्री सिद्धि गणेश स्कुलबाट २ दशमलव १२ जीपीए ल्याएर एसईई उत्तीर्ण गरे। न्यु मिलेनियम कलेजबाट २ दशमलव ८३ जीपीए ल्याएर प्लस टु सकाएपछि अहिले उनी ब्याचलर्स प्रथम वर्षमा अध्ययनरत छन्। सुरुमा ज्यामी काम गर्ने अञ्जनकी आमा अहिले नजिकैको एउटा कलेजमा सहयोगीका रूपमा कार्यरत छिन्।

‘आमाको दुःख देख्न नसकेरै म होटलमा वेटरको रूपमा काम गर्न आएको छु’, अञ्जनले थपे, ‘बिहान कलेजबाट फर्किएपछि दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म १२ घन्टा १२ हजार तलबमा काम गर्छु।’ अञ्जनका दाइ पनि छन् । उनी विवाहित हुन्।

दाइ र बुबा कसैले पनि आफू र आफ्नी आमालाई सहयोग नगर्ने अञ्जनले सुनाए । प्लस टु सकिएपछि उनले अस्ट्रेलिया जाने योजना बनाए। योजनाअनुरूप उनलाई सहयोग गर्ने आश्वासन पनि बुबाबाट पाए। तर सबै प्रक्रिया लगभग टुंगिसके पनि अन्तिममा बुबा सहयोग गर्नबाट पछि हटेको हुँदा अहिले होटलमा काम गर्न बाध्य भएको उनको भनाइ छ।

‘नेपालमा केही गर्न सक्ने अवस्था नै छैन, गर्छु भन्नेको अवस्था प्रेमप्रसाद आचार्य जस्तै हुन्छ’ उनले भने । नेपालमा केही गर्न पनि नसकिने र गर्दा पनि करलगायत अन्य झन्झटिलो प्रक्रियाकै कारण प्रेमले आत्मदाह गरेको बुझाइ अञ्जनको छ। नेपाल ठुलाबडा र पहुँच हुनेको मात्रै देश भएको बताउँदै उनले भने, ‘हामी जस्ता निम्त तथा मध्यम वर्गीय परिवारका लागि खाडी नै ठीक छ।’

प्रतिक्रिया दिनुहोस्