५ नयाँ खेलाडीको इन्ट्री हुँदा शरद पहिलो पटक ग्रेडिङमा परेन



काठमाडौँ। भेट्रान क्रिकेटर शरद भेषावकर नेपाल क्रिकेट संघ क्यानले गरेको ग्रेडिङबाट पहिलो पल्ट बाहिरिएका छन् । सन् २०१५ देखि सुरु भएको क्रिकेट ग्रेडिङमा शरद लगातार सेन्ट्रल कन्ट्रयाक्टमा रहँदै आएका थिए ।

तर नेपाल क्रिकेट संघ क्यानले २०२३ को सुरुवाती ६ महिनाका लागि सार्वजनिक गरेको नयाँ ग्रेडिङमा शरद बाहिरिएका छन् । २०२० सम्म ग्रेड ए रहेका शरद त्यसपछि पछिल्लो कन्ट्रयाकमा ग्रेड बीमा थिए ।

पोखरामा मंगलबार बसेको क्यान बोर्ड बैठकले २०२३ को जनवरीदेखि जुनसम्मका लागि पुरुषतर्फ १८ खेलाडीलाई ग्रेडिङमा राखेको छ । तर महिलाको भने घटाएर जम्मा १२ खेलाडी मात्र राखेको छ ।

शरद पछिल्लो समय राष्ट्रिय टिममा पर्न छाडेका थिए । लिग टु अन्तर्गत फागुन २ देखि स्कटल्याण्ड र नामिबिया विरुद्ध कीर्तिपुरस्थित टीयू मैदानमा हुने शृखंलाका लागि २८ सदस्यीय क्याम्पमा शरद परेका छन् ।

नेपालका लागि ४ ओडीआई र २० टी-२०आई खेल खेलेका शरदले पछिल्लो पटक २०२२ फेब्रुअरीमा आयरल्याण्ड विरुद्ध टी-२० आई खेलेका थिए।

क्यानले सार्वजनिक गरेको पुरुषतर्फ यस पटक ग्रेडिङमा धेरै नै हेरफेर भएको छ। पूर्वकप्तान सन्दीप लामिछाने पनि ग्रेडिङमा छैनन्। बलात्कारको आरोप लागेका सन्दीपको निलम्बन भने क्यानले फुकुवा गर्ने निर्णय गरेको छ।

ग्रेड ए  – १)  रोहित पौडेल २) सोमपाल कामी ३) करण केसी ४) दिपेन्द्र सिंह ऐरी ५) आशिफ शेख

ग्रेड बी – १) आरिफ शेख २) कुशल भुर्तेल, ३) ज्ञानेन्द्र मल्ल

ग्रेड सी – १) कमल सिह ऐरी, २) विनोद भण्डारी, ३) गुलशन कुमार झा, ४) अर्जुन साउद, ५) अविनाश बोहरा, ६) ललित नारायण राजवंशी, ७) कुशल मल्ल, ८) देव खनाल ९) सागर ढकाल १०) विवेक यादव ।

प्रतिक्रिया दिनुहोस्