आर्थिक विकासमा उपयुक्त प्रविधि छनोट



  • गम्भीरबहादुर हाडा

काठमाडौं । प्रविधिको छनोट आर्थिक विकासका लागि अत्यन्त आवश्यक तथा निर्धारक तत्व हो । उत्पादनका लागि पुँजीप्रधान (बढी पुँजी, कम श्रमिक) अथवा श्रमप्रधान (बढी श्रम, कम पुँजी) प्रविधिको छनोट गर्ने भन्ने प्रश्न रहेको हुन्छ । पुँजीको अभाव तथा पर्याप्त मात्रामा श्रमिकहरूको आपूर्ति रहने स्थानमा श्रमप्रधान प्रविधिको प्रयोग गरी उत्पादन कार्य सञ्चालन गरेमा आम्दानी र रोजगारीमा वृद्धि आउँछ ।

तर, जुन ठाउँमा श्रमिकहरूको अभाव र पुँजीको पर्याप्तता छ, त्यस्ता ठाउँमा पुँजीप्रधान प्रविधिको छनोट गरिएमा उपयुक्त आर्थिक विकास सम्भव हुन्छ । पुँजी तथा श्रम दुवै उत्पादनका साधनको पर्याप्तता छ भने यिनीहरूको समानुपातिक प्रयोगद्वारा आर्थिक विकास गर्न सम्भव हुन आउँछ । विकासशील देशहरूमा प्रचुर मात्रामा श्रम तर त्यसको विपरीत पुँजी भने दुर्लभ हुन्छ । उत्पादन प्रक्रियामा आवश्यक पर्ने यी साधनहरूलाई छनोट गर्दा उत्पादन प्रक्रियालाई परम्परागत प्रविधि अनुसार नै राख्ने अथवा आधुनिक प्रविधि अनुसरण गर्ने भन्ने बारेमा समस्या सिर्जना हुन थाल्छ ।

प्रविधिको छनोट कुनै निर्दिष्ट परियोजना अथवा उद्योगद्वारा सहयोग गरिएका साधनहरूको प्रकारद्वारा निर्धारित भइरहेको हुन्छ अथवा कुनै विशिष्ट स्थितिमा छनोट गरिएका सहयोगले प्रविधिको स्वरूप निर्धारण गर्छन् । प्रविधिको छनोट भन्नाले श्रम बढी प्रयोग गर्ने, परम्परागत प्रविधि प्रयोग गर्ने वा पुँजी बढी प्रयोग गर्ने आधुनिक प्रविधि प्रयोग गर्ने भन्ने हो ।
यी २ वटा विकल्पहरूमध्ये विद्यमान साधनहरूका दृष्टिकोणबाट बढी कुशल प्रविधि छनोट गर्नुपर्छ । त्यस प्रविधिलाई कुशल मान्न सकिन्छ, जसले निर्दिष्ट उत्पादनका लागत न्यूनीकरण गर्छ वा निर्दिष्ट साधनहरूबाट उत्पादन आधुनिकीकरण गर्छ ।

(क) श्रमप्रधान प्रविधि

श्रमप्रधान उत्पादन प्रविधि उत्पादनमा पुँजीको तुलनामा श्रमलाई बढी महत्व दिने उत्पादन विधि हो । यस प्रविधिमा उत्पादकले पुँजीको निश्चित मात्रालाई पनि समावेश गरेका हुन्छन् । उत्पादन बढाउनुपरेमा पुँजीभन्दा श्रमको मात्रा बढाउने चेष्टा गरिन्छ । यस्तो प्रविधिमा पुँजी र श्रमको अनुपात अर्थात् प्रतिश्रमिक पुँजीको मात्रा न्यून रहन्छ । उत्पादनका अधिकांश क्रियाकलाप श्रमिकबाट सञ्चालन गरिन्छन् भने पुँजी तथा पुँजीगत साधन सहायक साधनको रूपमा रहन्छ ।

सङ्कुचित अर्थमा प्रविधिको छनोट भनेको निर्दिष्ट उत्पादन लक्ष्य हासिल गर्न अतिपर्याप्त र कुशल उपाय वा प्रक्रिया छनोट गर्नु हो । तर, व्यापक अर्थमा यो लगानी प्राथमिकतासँग निकटतम रूपमा सम्बन्धित हुन्छ । विकासशील देशहरूमा श्रम तथा पुँजीमूलक प्रविधिबीच हल्का तथा भारी उद्योगबीच र कृषि तथा उद्योगबीच छनोट गर्न सकिने विकल्पहरू हुन्छन् । तर, अन्तिम छनोट श्रममूलक अथवा पुँजीमूलक उत्पादन प्रविधिमध्ये एउटा छनोट गर्नुपर्ने समस्या रहन्छ र उक्त समस्या अर्थतन्त्रको सम्पूर्ण क्षेत्रमा आइरहेको देखिन आउँछ ।

विकासशील देशहरूमा प्रविधिको अनुकूलतम छनोट गर्दा स्थिर अर्थतन्त्रलाई गतिशील तुल्याउने दृष्टिबाट निम्नलिखित मापदण्डहरूलाई आधार मानिन्छ ।
(क) समयावधि  : प्रविधिको अनुकूलतम छनोटको महत्वपूर्ण सम्बन्ध समयावधिको अन्तरालसँग हुन्छ । यसले परियोजनाको तर्जुमा, प्रारूपको तयारी, निर्माण एवं सम्पन्न गर्नका निम्ति निश्चित समयावधि लाग्ने हुन्छ ।

(ख) अभिवृद्धिको दर : प्रविधिको अनुकूलतम छनोटको अर्को महत्वपूर्ण मानक आधार अभिवृद्धिको दरलाई कुन गतिमा अघि बढाउने भन्ने नै हो । अभिवृद्धिको दरमा बढोत्तरी ल्याउने दृष्टिबाट विभिन्न प्रविधिको विभिन्न प्रकारको योगदान हुन्छ ।

(ग) बाह्य प्रभाव : प्रविधिको अनुकूलतम छनोट अर्को पक्ष क्रमिक चढावी किफायत हो र विकासशील देशहरूमा बाह्य किफायतको पर्याप्त सम्भावना हुन्छ ।श्रम गहन प्रविधिको पक्षमा अल्पविकसित देशमा बेरोजगारी, अल्पबेरोजगारी तथा छिपेको बेरोजगारी धेरै बढी पाइन्छ । यसको एक मात्र हल यही हो कि गाउँ र शहरमा श्रमप्रधान प्रविधिहरू अपनाउने । यसले गर्दा मानिसहरूलाई बढी रोजगारी प्राप्त होस् । यस्तो प्रविधि अपनाएर स्थानीय साधनहरूको बढी उपयोग हुन्छ र मानिसहरूको आम्दानी बढ्छ, जस्तै : गुँड बनाउनु, चटाई बनाउनु, दरी बुन्नु, धागो बुन्नु आदि ।

अल्पविकसित देशमा मानिसहरू अशिक्षित, अप्रशिक्षित र अकुशल हुन्छन् तर यो कठिनाइ श्रमप्रधान प्रविधि अपनाएर हटाउन सकिन्छ किनभने यस्तो प्रविधि अनपढ र अकुशल व्यक्तिले धेरै कम समयमा पनि सजिलोसँग सिक्न सक्छन् । यस प्रकार रोजगार र उत्पादनमा वृद्धि हुनुका साथसाथै श्रमप्रधान प्रविधि अपनाएर कुशलता निर्माण पनि हुन्छ । अल्पविकसित देशमा पुँजीको कमी पाइन्छ, जसले गर्दा विदेशबाट पुँजी पदार्थ आयात गर्नुपर्ने हुन्छ । तर, श्रमप्रधान प्रविधि अपनाएमा पुँजी पदार्थ आयात गर्नका लागि बढी आवश्यक पर्दैन ।

श्रमप्रधान प्रविधि छिट्टै फलदायक हुन्छ अर्थात् त्यसलाई प्रारम्भ गर्ने र त्यसले बनाएको वस्तु बजारमा बिक्री गराउन धेरै कम समय लाग्छ । यस प्रकार त्यस्ता उपभोक्ताले वस्तुहरूको पूर्ति बढाउनमा सहायक हुन्छ, जसबाट देशमा मूल्य बढ्न पाउँदैन र स्फीतिलाई कम गर्न सकिन्छ । अल्पविकसित देशमा श्रमप्रधान प्रविधि यस कारण पनि अपनाउन आवश्यक छ कि त्यहाँ श्रमकोप्रधानता पाइन्छ । यसरी श्रमप्रधान प्रविधि अपनाउनमा कम पुँजीको आवश्यकता पर्छ, जुन यस्तो देशमा पहिलेदेखि नै पुँजीको कमी भएको पाइन्छ ।

श्रमप्रधान प्रविधिका समर्थकहरूका अनुसार विकासशील देशमा मानव शक्तिको अधिकताको कारण बेरोजगारी समस्या पाइन्छ । लुकेको बेरोजगारी विकासशील देशको प्रमुख समस्या नै हुन्छ । यस अवस्थामा श्रमप्रधान प्रविधि अपनाउनु आवश्यक हुन्छ, जसले गर्दा प्रचुर मात्रामा पाइने श्रम शक्तिको सदुपयोग गरेर बेरोजगारीको समस्या हल गर्न सकिन्छ ।

(ख) पुँजीप्रधान प्रविधि

पुँजीमूलक प्रविधिबाट साहसीहरूमा बचतको प्रविधि बढ्नुले वृद्धि दर श्रममूलक प्रविधिभन्दा बढी हुन्छ । यसले दीर्घकालमा रोजगारीको स्तरलाई बढाउँछ भने विकासोन्मुख देशमा जनसङ्ख्या वृद्धि दर बढी हुने भएकाले बिनापुँजी श्रमको अनुपातमा हुने वृद्धिबाट प्रतिव्यक्ति उत्पादन बढ्न सक्दैन । तसर्थ, पुँजी सञ्चयको दरमा वृद्धि गर्न यो प्रविधि आवश्यक छ ।
पुँजी सञ्चयको दरमा वृद्धि गर्न यो प्रक्रियाभन्दा बढी नाफामूलक हुन्छ भने यस प्रविधिबाट उत्पादन लागत घट्न गई उत्पादित वस्तुको मूल्य स्तर बढ्न जान्छ । अर्थतन्त्रको विकासमा पुँजीमूलक प्रविधिबाट अनुकूल जति प्रभाव पर्छ, त्यति श्रममूलक प्रविधिबाट पर्दैन ।

यो प्रविधिले निपूणता, दक्षता, प्रशिक्षण, व्यवस्था आदिलाई प्रोत्साहन दिन्छ र सामाजिक तथा आर्थिक आधारहरू, जस्तै ः शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार आदिको विकास सम्भव र सहज हुन्छ । पुँजीप्रधान प्रविधिका समर्थकहरूको विचारधारा के छ भने, राष्ट्रिय आयको अधिकांश भाग उद्यमीलाई प्राप्त हुन्छ र यस वर्गको बचत प्रवृत्ति अपेक्षाकृत बढी हुनाले विनियोगमा वृद्धि हुन गई आर्थिक विकास तीव्रतर हुन्छ ।

पुँजीप्रधान प्रविधिका पक्षहरूमा अल्पविकसित देशको विकास दरलाई अधिकतम् गर्नका लागि पनि पुँजीप्रधान प्रविधि अपनाउन राम्रो हुन आउँछ किनभने यसबाट दीर्घकालमा रोजगारी उत्पादन र आयमा विस्तार हुन्छ । पुँजीप्रधान प्रविधि अपनाएमा अर्थ व्यवस्थामा पुनर्निवेशको दरमा वृद्धि हुन्छ, जसबाट आर्थिक विकास तीव्र हुन्छ किनभने यस्तो प्रविधि अपनाएपछि जब कुनै उद्योगको आय बढ्छ भने त्यसको बढी भाग उद्यमीकहाँ जान्छ, जुन उसले त्यही पुँजीलाई पुनः लगानी गर्छ ।

अल्पविकसित देशहरूमा जब पुँजीप्रधान प्रविधि अपनाउने गरिन्छ, यसको अभिप्राय यही हुन्छ कि ठूलाठूला उद्योगहरूको स्थापना होस्, जसबाट देशमा छिटो औद्योगीकरणको उत्पादनमा विकास गर्न सकिन्छ । छिटो आर्थिक विकास गर्न प्रतिव्यक्ति उत्पादकता बढी हुनुपर्छ, जसले गर्दा केवल पुँजीप्रधान प्रविधि अपनाएपछि बढ्छ किनभने एउटा श्रमिकले आफ्नो हातबाट वस्तुहरू बनाउनुभन्दा मेसिनबाट बढी वस्तु उत्पादन गर्न सकिन्छ ।

पुँजीप्रधान प्रविधि अपनाएपछि रोजगारी बढ्छ तर वास्तविकता यही हो कि जब यस्तो प्रविधि अपनाउँछ, उपभोक्ता र पुँजीगत वस्तुहरूको क्षेत्रमा ठूलाठूला उद्योग स्थापित गर्छन् भने यसबाट दीर्घकालमा रोजगारीको अवसर धेरै गुणा बढ्छ र पुँजीप्रधान प्रविधिबाट रोजगारी बढाउनमा मद्दत पु¥याउँछ । जब अर्थ व्यवस्थामा पुँजीप्रधान प्रविधि अपनाइन्छ भने त्यसबाट श्रमिकहरूको कार्यकुशलतामा वृद्धि हुन्छ र एउटै काम पटकपटक गरेपछि कुशलता बढाउने गर्छ । जब उद्योगहरूमा पुँजीप्रधान प्रविधि अपनाइन्छ भने उद्योगपतिलाई ठूलो परिमाणको बचत र लाभ प्राप्त हुन आउँछ, जसबाट उत्पादन बढ्छ र लागत कम हुन जान्छ । पुँजीप्रधान प्रविधि अपनाएपछि देशमा मानक वस्तुहरूको निर्माण हुन्छ, जसबाट राम्रो र सस्तो हुन्छ । यसको उपयोगबाट मानिसको रहनसहनको स्तर माथि हुन जान्छ ।

पुँजीप्रधान प्रविधि अपनाएपछि प्रारम्भमा अल्पविकसित देशहरूको पुँजी आयात गर्नुपर्छ र फेरि पनि दीर्घकालमा यस्ता प्रविधिको आयातलाई कम गर्न सकिन्छ । यसबाट अर्थ व्यवस्थामा जब पुँजी र उपभोग्य वस्तुहरूसँग सम्बन्धित उद्योग स्थापना हुन्छन् भने आयातको बचत हुन्छ र निर्यातमा वृद्धि हुन्छ । यस प्रकार विदेशी मुद्रा र भुक्तान शेषको समस्या हल गर्न सकिन्छ ।

अल्पविकसित देशहरूमा यातायात, सञ्चार, विद्युत्, सिँचाइ आदिसँग सम्बन्धित पूर्वाधार सुविधाहरूको निर्माण पुँजीप्रधान प्रविधि अपनाएर मात्र छिटो गर्न सकिन्छ । श्रमप्रधान प्रविधिको प्रयोगबाट अर्थ व्यवस्थामा उत्पादन र रोजगारी बढाउँछ तर पुँजीप्रधान प्रविधि अपनाएर पुँजी निर्माणको दर बढाउँछ र फेरि दीर्घकालमा उत्पादन क्षमता र रोजगारमा अधिकतम् वृद्धि ल्याउँछ । तर, नेपाल जस्ता अविकसित देशहरूको प्रसङ्गमा श्रम तथा पुँजीप्रधान प्रविधिमा छनोट गर्ने समयमा यो हेर्नुपर्छ कि साधनहरूको विविधता, उत्पादनको सापेक्ष लागत, समयको विभिन्न अवधिमा रोजगारी, आय, बचत तथा विनियोगमा प्रभाव, घरेलु साधनहरूको प्रयोग, घरेलु तथा विदेशी मागमा प्रभाव, स्फीतिकारी दबाब र भुक्तान शेष स्थितिको ढिलो प्रविधिबाट निर्मित वस्तुहरूको उत्पादन लागत बढी हुन्छ किनभने श्रमप्रधान प्रविधि परिमाणको मीतव्ययिता उपलब्ध गर्नमा असमर्थ रहन्छ ।

श्रमप्रधान प्रविधिको प्रयोगले अर्थ व्यवस्थामा उत्पादन र रोजगारीलाई बढाउँछ भने पुँजीप्रधान प्रविधिको प्रयोगले पुँजी निर्माणको गतिलाई तीव्र पारी दीर्घकालमा उत्पादन क्षमता र रोजगारीलाई अधिकतम बनाउँछ । विकासोन्मुख देशमा कुन प्रविधिको प्रयोग गर्ने भन्ने सन्दर्भमा धेरै कुराले प्रभाव पार्छ, जस्तै ः तुलनात्मक उत्पादन लागत, विभिन्न समयमा उपलब्ध हुने रोजगारी आय, बचत र लगानीको प्रभाव, आन्तरिक स्रोतको प्रयोग, आन्तरिक र बाह्य मागको प्रभाव, मुद्रास्फीति नियन्त्रण गर्ने क्षमता र भुक्तानी सन्तुलनको स्थिति आदि प्रमुख तŒव हुन् ।

तर, श्रमप्रधान प्रविधिले पुँजीप्रधान प्रविधिले जस्तो छिटो पुँजीको निर्माणलाई बढाउन सक्दैन । बढी रोजगारी सिर्जना गरेर आयस्तर बढाए तापनि लगानीका लागि आवश्यक पुँजी सङ्कलन हुन सक्दैन । पुँजीमूलक प्रविधि उत्पादनको आधुनिक विकसित प्रविधि हो । यस प्रविधिलाई व्याख्या तथा विश्लेषण गर्ने अर्थशास्त्रीहरूले आर्थिक विकास तीव्र पार्न कुनै पनि विकासोन्मुख राष्ट्रहरूले श्रममूलक प्रविधिको सट्टा पुँजीमूलक प्रविधिमा जोड दिनुपर्छ भन्ने कुरामा महत्व दिएका पाइन्छ । पुँजीमूलक प्रविधिमा आर्थिक र औद्योगिक विकासलाई तीव्र पार्न सक्ने क्षमता भए तापनि विकासोन्मुख राष्ट्रहरूमा श्रमको मात्रा बढी हुने र पुँजीको मात्रा कम हुने हुनाले यो प्रविधि विकासोन्मुख राष्ट्रमा भन्दा विकसित राष्ट्रमा बढी महŒवपूर्ण देखिन्छ ।

केही अर्थशास्त्रीहरूका भनाइमा विकासोन्मुख राष्ट्रहरूमा भएको कम पुँजी निर्माणको दरलाई वृद्धि गर्न दीर्घकालमा जनशक्तिलाई बढी रोजगारी प्रदान गर्न, उत्पादनबाट बढीभन्दा बढी लाभ लिन, मानवको जीवनस्तरमा वृद्धि गर्न, देशमा अत्याधिक रूपले आर्थिक वृद्धिको दर हासिल गर्न तथा मानिसको कार्यकुशलतामा वृद्धि गर्नसमेत प्रयोग गर्नुपर्छ । देशमा भइरहेका विकास र निर्माणका कार्यहरूको निमित्त सरकारी र निजी दुवै क्षेत्रका प्राविधिक तथा तालिमप्राप्त राष्ट्र सेवकहरूको माग हरेक वर्ष बढी नै रहेको र यस्तो श्रम शक्तिको माग र आपूर्तिबीच सन्तुलन कायम गराउन नसकिएबाट हाम्रो देशको पछौटेपन हटाउन अझै केही समय पर्खनै पर्ने देखिन्छ ।

देशलाई उन्नत धरातलमा परिणत गराउने क्रममा सरकारी र निजी दुवै क्षेत्रका प्राविधिकहरूको उत्तिकै महत्व रहन्छ । नेपालमा अझै पनि विज्ञान र प्रविधिको विकास र उपयोग कसरी गर्ने भने स्पष्ट नीतिको तर्जुमा हुन बाँकी नै छ । विकसित राष्ट्रको सन्दर्भमा हेर्दा पुँजीको मात्रा बढी हुने भएको हुँदा पुँजीमूलक प्रविधि बढी उपयुक्त हुन्छ भने विकासोन्मुख राष्ट्रको सन्दर्भमा हेर्दा पुँजी दुर्लभ हुने र श्रमको मात्रा बढी हुने हुँदा पुँजी नै उत्पादन कार्यमा प्रयोग गर्दा विदेशबाट मगाउनुपर्ने र लागत बढी पर्न जाने हुँदा स्वदेशी साधनको सदुपयोग गर्न रोजगारीको अवसर प्रदान गर्न, जनताको आम्दानी बढाउन, जीवनस्तरलाई माथि उठाउन, समाजमा विद्यमान विकृति हटाउन आदिका लागि नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरूले श्रममूलक प्रविधि नै प्रयोग गरेमा राम्रो हुन आउँछ ।

नेपाल जस्ता विकासशील देशहरूमा श्रम प्रशस्त मात्रामा उपलब्ध हुने र पुँजी भने अत्यन्त दुर्लभ हुने हुँदा त्यस्ता देशहरूले श्रममूलक प्रविधि अनुशरण गरी पुँजीमूलक प्रविधितर्फ विस्तार विस्तारै लैजाने प्रयास गर्नुपर्छ । श्रममूलक प्रविधिले अर्थतन्त्रमा उत्पादन र रोजगारी वृद्धि गर्छ । अर्कोतिर पुँजीमूलक प्रविधिले पुँजी निर्माणको दर बढाएर दीर्घकालमा उत्पादन क्षमता र रोजगारी वृद्धि गर्छ । श्रममूलक प्रविधिमा उत्पादन लागत बढी हुन्छ तर यसले दुर्लभ पुँजीगत साधन मीतव्ययी गर्छ । यसले ठूलो रोजगारीका अवसर सिर्जना गर्छ । उपभोग्य वस्तुको आपूर्ति बढाउँछ । विदेशबाट कच्चा पदार्थ, खाद्यान्न, पुँजीगत वस्तु आयात गर्नुपर्ने कम आवश्यकता हुन्छ । यसबाट मुद्रास्फीति र भुक्तानी असन्तुलनको समस्यासमेत कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्