सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा



काठमाडौँ । नाबालिक बलात्कारको अभियोग लागेका सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा परेका छन्। नेपाली क्रिकेट टिमका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले सन्दीपलाई नेपाली टिमको बन्द प्रशिक्षणका लागि सहभागी गराइएको जानकारी दिए।

‘सन्दीपलाई आजदेखि होटलमा राखिएको छ’ चौधरीले भने, ‘भोलि फिटनेस ट्रेनर, फिजियो र प्रशिक्षकले सन्दीपको अवस्था हेर्नुहुन्छ। उनी खेल्नयोग्छ छन् भने हामी खेलाउँछौं।’

सन्दीपलाई फागुन पहिलो साता कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आइसिसी विश्वकप लिग–२अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा बोलाइएको चौधरीले बताए।

‘सन्दीपलाई नेपालमा खेल्न प्रतिबन्ध छैन। क्यानले निलम्बन फुकुवा गरिसकेपछि हामीले उनलाई क्याम्पमा बोलाएका छौं’ उनले भने। यसअघि मंगलबार पोखरामा भएको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेको थियो।

गत भदौमा बलात्कारको अभियोग लागेर पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। उनीमाथि अहिले पनि जिल्ला अदालत काठमाडौंमा नाबालिक बलात्कारको मुद्दा विचाराधिन छ।

जिल्ला अदातलले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसपछि उच्च अदालतमा थुनामा राख्ने आदेशविरुद्ध रिट दायर भएको थियो। उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा थुनामुक्त गरेको थियो।

सन्दीपलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिइसकेको छ। निवेदनमाथि भोलि पहिलो सुनुवाइ हुँदैछ।

क्यानले यसअघि कीर्तिपुरमा हुने सिरिजका लागि प्रारम्भिक टिम घोषणा गरेको थियो। बन्द प्रशिक्षकका लागि क्यानले २८ जनालाई बोलाएकोमा अब २९ खेलाडी भएका छन्। सिरिज फागुन २ मा सुरू भएर फागुन ९ मा सकिनेछ।

प्रतिक्रिया दिनुहोस्