क्यानमाथि कारबाहीको विकल्प छैन



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा मात्र गरेको छैन, राष्ट्रिय टिममा फिर्ता पनि बोलाएको छ । न्यायालयमा सन्दीपमाथि चलेको मुद्दाको विषयमा अन्तिम फैसला नभई भएको यो निर्णय धेरैको नजरमा अपरिपक्व तथा हतारको निर्णय ठहर भएको छ ।

अहिले सन्दीप अपराधी होइनन्, तर आरोपी भने पक्कै हुन् । लगातार लामो समय प्रशिक्षणमा नरहेको व्यक्ति कसरी अन्य खेलाडीभन्दा उपयुक्त हुन सक्छ ? भन्ने गम्भीर प्रश्न अहिले उठेको छ । सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाउनका लागि कुनै वैधानिक अप्ठ्यरो पक्कै थिएन । नेपालको कानुनअनुसार र क्यानको विधानअनुसार उनलाई टोलीमा फिर्ता गर्न कुनै पनि समस्या पक्कै होइन । तर, नैतिकताको प्रश्न भने पेचिलो बनेको छ ।

खेलकुद अनुशासनको पर्याय हो । यसैले सबैलाई अनुशासन सिकाउने हो । सन्दीपको उपलब्धि र सफलता नेपाली क्रिकेटका लागि पक्कै पनि चर्चा गर्न लायक हो । उनले विगतमा दिलाएको सफलताले नेपाली खेलकुदको साखलाई नै उठाएको कुरामा पनि बिमति हुन सक्दैन । यसै कारण पछिल्ला केही वर्ष सन्दीप नेपाली खेलकुदका ‘रोल मोडल’ नै सावित भए । सन्दीपकै कारण नेपालीको आईपीएलप्रतिको चासो बढेको पनि साँचो हो । तर, यसको अर्थ यो होइन कि रोल मोडलको नाममा जे गर्न पनि छुट छ । जसले खेलको सामान्य मर्यादा कायम राख्न सक्दैन, उसको खेल क्षमतालाई जगेर्ना गर्न पर्छ भन्ने कुनै जरुरी छैन ।

सन्दीपमाथि लागेको मुद्दाको फैसला अगाडि उनका बारे कुनै प्रतिक्रिया गर्नु मनासिब पक्कै हुँदैन । तर, क्लोज क्याम्पमा रहेको खेलाडी कसरी बाहिर निस्कियो ? भन्ने प्रश्न गम्भीर हो । यसमा सन्दीप त दोषी भई नै हाले, टोलीका व्यवस्थापक र क्यान आफैँ पनि कारबाहीको भागीदार हो । त्यसपछि पनि क्यान धेरै कुरामा विवादमा परेको छ । नेपाल टी– २० लिगको त कुरै नगरौँ । खेल मिलोमतोको आरोपमा कारबाहीको प्रक्रिया अघि बढेको छ ।

सरकारले गठन गरेको छानबिन समितिले क्यान विघटनको सिफारिस गरिसकेको छ । क्यानकै केही सदस्यले नेतृत्वको विरुद्धमा विद्रोहको आवाज उठाइसकेका छन् । एकपछि अर्को विवादास्पद निर्णय गर्ने क्यान नेतृत्व पछिल्लो समय अक्षम सावित भएको छ । प्रशिक्षक छान्ने क्रममा क्यान लगातार असफल भएको छ । यी सबै असफलताका कारण वर्तमान क्यान नेतृत्व पक्कै पनि कारबाहीको भागीदार बनेको छ । राष्ट्रिय खेलकुद परिषद्लाई अब क्यानमाथिको कारबाही अघि बढाउन कदापि हिच्किचाउन आवश्यक छैन ।

प्रतिक्रिया दिनुहोस्