गाउँ गाउँमा करकाे प्रभाव : अान्तरिक राजस्व कार्यालय विराटनगर लक्ष्यभन्दा ८ प्रतिशत माथि



विराटनगर : आर्थिक वर्षको तीन महिनामा आन्तरिक राजस्व कार्यालय विराटनगर मोरङले निर्धारित लक्ष्यभन्दा करिब ८ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

 

सातौं राष्ट्रिय कर दिवसका क्रममा शनिबार कार्यालयका प्रमुख कर अधिकृत दिलीप गौतमले साउनदेखि असोज महिनासम्ममा एक अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए ।

 

प्रमुख गौतमले भने, ‘तीन महिनाका लागि एक अर्ब ४८ करोड रुपैयाँ लक्ष्य राखिएको थियो । जसमा एक अर्ब ५९ करोड रुपैयाँ संकलन भएको हो ।’ लक्ष्यभन्दा ११ करोड रुपैयाँ बढी राजस्व संकलन भएको हो । 

 

त्यसैगरी गतवर्ष २०७४।०७५ को सुरुवाती तीन महिनामा एक अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । गौतमले अघिल्लो वर्ष तीन महिनाको तुलनामा यस वर्ष ३० प्रतिशत बढी राजस्व संकलन भएको जानकारी दिए ।

 

सरकारको ‘प्यान अफ अल’ भन्ने नीति सफल भएको बताउँदै गौतमले भने, ‘मोरङ जिल्लामा व्यावसायिक र व्यक्तिगत गरेर ७२ हजार करदाता छन् ।’ उनका अनुसार मोरङमा व्यावसायिकतर्फ ४२ हजारको संख्यामा करको दायरामा छन् । जसले आर्थिक वर्षको अन्त्यमा विवरण बुझाउनुपर्ने हुन्छ ।

 

त्यसैगरी व्यक्तिगततर्फ ३० हजारको संख्यामा करदाता करको दायरामा रहेका छन् । उनीहरु टीडीएस प्रयोजनका लागि दर्ता भएको र विवरण बुझाउन नपर्ने कार्यालयले जनाएको छ । 

 

कार्यालय प्रमुख गौतमले करका विषयमा विभिन्न प्रकारका प्याकेज, गाउँगाउँमा घुम्ती सेवाका कारण करदाता करको दायरामा आकर्षित हुँदै गएको जानकारी दिए । करको दायरा बढाउने र करदाताको सहजताका लागि विराटनगरसँगै विराट चोकमा करदाता सेवा कार्यालय सञ्चालन गरिएको उनको भनाइ छ ।

 

विराटचोक क्षेत्रमा कम्तीमा १५ हजार करदाता रहेको लक्ष्मीमार्ग व्यापार प्रबन्ध समितिका अध्यक्ष विवेक मिश्रले जानकारी दिए । उनले गाउँगाउँमा करको शिक्षा र सेवाको जानकारी पाउँदा स्थानीयमा सकारात्मक प्रभाव परेको बताए । 

कार्यालयले यसअघि मोरङका विभिन्न १० स्थानमा करको घुम्ती सेवा सञ्चालनमा ल्याएको थियो । जसमध्ये लेटाङ, बेलबारी, इटहरा, डाँगीहाट स्थानमा समेत  करदाताको आकर्षण बढ्दो थियो ।

 

प्रतिक्रिया दिनुहोस्