कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने



काठमाडौं । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने भएका छन्। सिहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान बसेको कांग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेतासम्मिलित बैठकले उम्मेदवारी आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सङ्घीय संसद्मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको बताए। उनले भने, ‘उम्मेवारीका सम्बन्धमा एकसरो कुराकानी र विश्लेषण आज भएको छ, आइतबार बिहानसम्ममा यस सम्बन्धमा हामी निर्णय गर्छौं।’

उपाध्यक्षका लागि आइतबार मनोनयन र सोमबार निर्वाचन हुँदैछ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकमा राष्ट्रियसभा उपाध्यक्ष र अरु पदका सम्बन्धमा के–कसो गर्ने भन्नेबारे छलफल भएको बताए। उनले भने, ‘सबैपक्षको कुरा बुझेर एउटा टुङ्गोमा पुग्ने भन्ने भएको छ। कसैले पनि हामीलाई चाहियो भनेर मागेका छैनन्। व्यक्तिले माग्ने एउटा कुरा भयो, राजनीतिक दल विशेष कसैले पनि भनेका छैनन्। विकसित परिस्थितिका आधारमा बसेर टुङगोमा पुग्छौँ।’

प्रतिक्रिया दिनुहोस्