रजस्वला : बल्ल लजाउन छाड्दै छ मधेस



  • विशाल बस्नेत

महोत्तरी । सोमबार प्रशिक्षक तथा परिचारिका गङ्गा साह, मोनिका चौधरी र मौनता खड्काले हात्तीलेट माध्यमिक विद्यालय महोत्तरी बर्दिबास–८ मा पुगेर यौन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण तालिम दिँदा झन्डै ३ दर्जन छात्रा लाजले रातो मुख लगाइरहेका थिए। जब प्रशिक्षकहरूले किशोर–किशोरीहरूमा देखापर्ने लक्षण, यौन आकर्षण जस्ता विषयमा खुलेर कुरा गरे, तब प्रशिक्षार्थी किशोरीहरू बिस्तारै खुल्दै गए ।

रजस्वला भएपछि देखापर्ने लक्षणहरूको विषयमा समेत कुरा लुकाउने किशोरीहरूले आफ्ना समस्या मात्र प्रशिक्षकहरूलाई सुनाएनन्, थप जिज्ञासाहरू राखेर किशोरीहरू प्रष्ट बन्ने कोसिस पनि गरे । प्रशिक्षक मोनिका खड्काले रजस्वला भएपछि जब ७ दिनसम्म योनीबाट रगत बग्नु सामान्य भएको वर्णन गरिन्, तब कक्षा ८ मा अध्ययनरत किशोरी लक्ष्मी यादवले ७ दिनभन्दा बढी रगत बगेमा के हुन्छ भन्ने जिज्ञासा राखेपछि अन्य किशोरीहरूको पनि उत्सुकता बढ्यो ।

सामाजिक अन्धविश्वासको चपेटामा परेका किशोरीहरूसँग प्रशिक्षकहरूले खुलेर कुरा गरिरहँदा प्रदेशसभा सदस्य शारदादेवी थापा पनि मञ्चमा बसेर गम्भीर मुद्रामा सुनिरहेकी थिइन् । चेतनाको अभावमा यसै पनि मधेसका महिलाहरू विभिन्न कारणले प्रताडित छन् । तर पछिल्लो समय सरकारी र गैरसरकारी संस्थाहरूले चलाएका तालिमहरूले महिलाहरूलाई खुल्न निक्कै सजिलो भएको छ ।
बर्दिबास– ७ की आरती पासवानले यसअघि रजस्वलाको विषयमा यति धेरै बुझेकी थिइनन् । उनीहरू जस्तै किशोरीहरूले यौन स्वास्थ्यसम्बन्धी बुझाउँदा पासवानले धेरै कुरा बुझिन् । उनले भनिन्, ‘पहिला त रजस्वला वास्तवमै पाप नै हो क्यारे जस्तो लाग्थ्यो, तर अहिले मलाई मेरो रजस्वलामाथि गर्व छ ।’

पासवानको घरमा अहिले पनि रजस्वला भएपछि कुनामा बस्नुपर्छ, खाना पकाउन मात्र होइन, छुन पनि हुँदैन । तर यी सबै सामाजिक कुरीति भएको कुरा थाहा पाएपछि पासवानले समाजमा महिलाको रजस्वलाको विषयमा व्याप्त कुरीतिका विरुद्ध लागिपर्ने प्रतिबद्धता जनाइन् । पासवान जस्तै रागिनी साहले पनि सिकेका विषय व्यवहारमा उतार्ने बताइन् । रजस्वला हुँदा विद्यालयमा निःशुल्क पाउने सेनेटरी प्याड लिन समेत लजाउने किशोरीहरूले देखाएको उत्सुकताले यौन शिक्षा र महिला स्वास्थ्य शिक्षाको अभाव रहेको प्रष्ट हुन्थ्यो ।

यौन सम्पर्कपछि महिलाको डिम्ब र पुरुषको शुक्रकिटको मिलनबाट गर्भधान हुने प्रशिक्षकहरूले बताउँदा किशोरीहरूमा देखिएको ध्यानाकर्षणले वास्तवमै यस्ता कार्यक्रमको आवश्यकता बोध गराइरहेको थियो। रजस्वला हुँदा स्तन कडा हुने, हाड, जोर्नीहरू दुख्ने, रगत बगिरहने, टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने जस्ता समस्या सामान्य लक्षण हुन् भन्ने बुझेपछि निर्धक्क भएको कक्षा ७ मा अध्ययनरत किशोरी प्रतिमा शर्माले बताइन्।

‘यसअघि पेट दुख्दा पनि निकै डर लाग्ने गथ्र्यो, केही भई पो हाल्ने हो कि ! भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘तालिम लिएपछि डर, त्रासबाट समेत राहत मिलेको छ ।’ ‘बिहेबारी २० वर्षपारि’ भन्ने विषयलाई प्रशिक्षकहरूले बारम्बार दोहोर्‍याइरहँदा किशोरीहरूले अनौठो मानेर हेरिरहेका थिए । प्रायःजसो किशोरीहरूको कम उमेरमा नै विवाह गरिदिँदा कति वर्षमा विवाह गर्नुपर्छ भन्ने पनि उनीहरूलाई थाहा थिएन । अझ २० वर्ष नपुगी विवाह गरे कानुनअनुसार सजाय भोग्नुपर्ने थाहा पाएपछि किशोरीहरूमा थप आत्मबल बढेको देखिन्थ्यो ।

यसै पनि छोरीलाई कम महत्व दिने मधेसी समुदायमा दाइजोको अझै विकराल समस्या छ। दाइजोका नाममा कम उमेरमा विवाह गरेका धेरै विवाहित किशोरीहरू सामाजिक कुरीति र अन्धविश्वासले निकै प्रताडित बन्दै आएका छन्। कक्षा ९ मा अध्ययनरत मोनिका विश्वकर्माले पहिलो पटक रजस्वला हुँदा दाजुभाइ तथा परिवारवाटै १५ दिनसम्म टाढा बसेको अनुभव छ । अर्काको घरमा पर बस्दा भोगेको समस्या र एक्लै बस्दा पैदा भएको डरले अझै उनलाई झसङ्ग बनाउँछ । तर, महिला प्रशिक्षकहरूले दिएको महिला स्वास्थ्यसम्बन्धी तालिमबाट धेरै कुरा सिकेको र आफ्नो पुस्ताले यो समस्या भोग्नुनपर्नेमा विश्वकर्माको विश्वास छ।

रोट्र्याक्ट क्लव बर्दिबासले आयोजना गरेको गरेको उक्त अभिमुखीकरण कार्यक्रमको निकै प्रशंसा गर्दै विद्यालयका प्रधानाध्यापक सूर्यनारायण दासले किशोरीहरूलाई महिला स्वास्थ्यमा देखाएको उत्सुकताले ऊर्जा प्रदान गरेको बताए। त्यस्तै प्रदेशसभा सदस्य शारदादेवी थापाले अन्धविश्वासकै कारण अघिल्लो पुस्ताले भोगेको समस्या निकै कहालीलाग्दो भएको बताइन्।

‘रजस्वला हुँदा उबेला अहिलेजस्तो सेनेटरी प्याड मात्र होइन, पेन्टीसमेत लगाउने चलन थिएन। जसका कारण महिलाहरू यौन रोगको शिकार हुने गर्थे,’ उनले भनिन् । पढेलेखेका महिलाहरूले समेत रजस्वलालाई महिलाहरूको नियमित प्रक्रियाका रूपमा समेत नबुझेको हुनाले सामाजिक अन्धविश्वास बढ्दै गएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्