विराटनगरमा भरतमोहन अधिकारीको भव्य नागरिक अभिनन्दन



विराटनगर : विराटनगरमा शनिबार पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको भव्य नागरिक अभिनन्दन गरिएको छ । 

 

विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय राजनीति गरेका ८३ वर्षीय अधिकारीलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका दिन अभिनन्दन गरिएको हो ।  २०४६ सालको राजनीतिक आन्दोलनअघि विराटनगरमा ल फर्म चलाएर बसेका अधिकारी त्यसपछि पूर्णकालीन राजनीतिमा लागेका थिए ।

 

उनले २०४६ सालको जनआन्दोलनअघि विराटनगरमा राजनीतिक जागरण ल्याउन भूमिका खेलेका थिए । उनी २०४८, ०५१ र ०५६ तत्कालिन मोरङ क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।

 

भरतमोहन अधिकारी नागरिक अभिनन्दन समारोह समितिद्वारा आयोजित कार्यक्रममा पूर्वमन्त्री अधिकारीले विराटनगरलाई स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिए । विराटनगरबाट ६ जना प्रधानमन्त्री ३ जना उपप्रधानमन्त्री बने तर यहाँको मुहार फेर्न सकेनन् भन्दै उनले भने, ‘अस्थायी हैन अब स्थायी राजधानी नै बनाउनुहोस् ।’ 

 

अन्य प्रदेशले प्रदेशको नाम र राजधानी घोषणा गरिसकेको भन्दै ढिला नगर्न उनको आग्रह छ । कार्यक्रममा प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले भरतमोहन अधिकारी इमानदार नेता भएको बताए । सानैदेखि राजनीति र अध्ययनमा अब्बल भएको उनले बताए ।

 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली राजनीतिलाई ठिक ढंगले दिशानिर्देश गर्ने क्षमता भरतमोहन अधिकारीमा भएको बताए । आफ्नो राजनीतिको प्रेरणाको श्रोत पनि भरतमोहन नै भएको मुख्यमन्त्री राईको भनाइ छ ।

 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मुकुन्द न्यौपाने, प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मोरङ व्यापार संघका अध्यक्ष पवन शारडालगायतले आआफ्ना धारणा राखेका थिए ।   

 

प्रतिक्रिया दिनुहोस्