क्यानलाई कारबाही गर्न आईसीसीको जबाफ कुर्दै राखेप



काठमाडौं । नेपाल टी-२० लिग क्रिकेट प्रतियोगिता आयोजनामा भएका प्रक्रियागत त्रुटिलाई आधार बनाएर राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)माथि कारबाही गर्न अन्तर्राष्ट्रिय सम्बन्धनप्राप्त निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को राय पर्खिरहेको छ ।

क्यानले ९-२७ पुसमा सम्पन्न गरेको नेपाल टी-२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग व्यापारिक तथा रणनीतिक साझेदार सम्झौता गरेको थियो। तर त्यही कम्पनीको योजनामा स्पट फिक्सिङ भएको खुलेको छ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा प्रतियोगिता चलिरहँदा लाइभ बेटिङ र स्पट फिक्सिङ भइरहेको, श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाएको, खेलाडीले पारिश्रमिक नपाएको लगायतका गम्भीर आरोप लागिरहेकै थियो। प्रहरी अनुसन्धानले पनि त्यसलाई पुष्टि गरेको छ। राखेपले २१ पुसमा नेपाल टी-२० लिगबारे छानबिन गर्न भन्दै समिति गठन गरेको थियो।

समितिले २० दिन लगाएर माघ ११ गते बुझाएको प्रतिवेदनमा प्रतियोगिता सञ्चालनका लागि विदेशी कम्पनीलाई अधिकार दिँदा कानूनी प्रक्रिया मिचिएको भन्दै क्यानलाई कारबाहीका लागि सिफारिस गरिएको छ।

विदेशी कम्पनीसँग सम्झौता गर्दा मन्त्रिपरिषदको सहमति लिनुपर्ने व्यवस्थालाई क्यानले वेवास्ता गरेको राखेप अनुसन्धान समितिको ठहर छ।

यसमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, तत्कालीन कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लसमेत समावेश पाँच सदस्यीय कार्यसम्पादन समितिलाई दोषी देखाएको छ र, आईसीसीको समन्वयमा खेलकुद ऐनको धारा २९ (क) बमोजिम कारबाहीका लागि सुझाव दिएको छ।

प्रतिवेदन कार्यान्वयनका लागि राखेपले १७ माघमा क्रिकेट संघलाई पत्र काटेर ७ दिने स्पष्टीकरण सोधेको छ । एकसाथ रूपमा आईसीसीसँग पनि समन्वय गरिरहेको छ ।

‘हामी आईसीसीको जवाफको प्रतीक्षामा छौं,’ सदस्यसचिव टंकलाल घिसिङले भने, ‘छानबिन समितिको प्रतिवेदनका आधारमा खेलकुद ऐनको दफा २८ को (ट) र (ड) तथा दफा ४४ को (२) अनुसार काम नगर्ने क्यानलाई धारा २९ अनुसार प्रश्न गरेका छौं।’

खेलकुद ऐनको दफा २८ को (ट) र (ड) तथा दफा ४४ को (२) मा कुनै पनि खेल संघले विदेशी संघ संस्था वा व्यक्तिसँग सम्झौता गर्दा राखेप हुँदै नेपाल सरकारको स्वीकृति लिनुपर्ने उल्लेख छ ।

यो नगर्ने खेल संघलाई निलम्बनदेखि कार्यसमिति विघटनसम्म कारबाही गर्न सकिने व्यवस्था दफा २९ मा छ । क्यान अध्यक्ष चन्दले पनि राखेपको स्वीकृति लिने लगायतका प्रक्रिया पुरा नगर्नु आफूहरुको गल्ती भएको सार्वजनिक रुपमा स्वीकारेका छन् । त्यसैले आईसीसीले सकारात्मक जवाफ दिए राखेपले सम्भवतः अर्को सातासम्ममा क्यानमाथि कुनै न कुनै स्वरुपको कारबाही गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्