नक्कली लालपुर्जा बनाई २ करोडभन्दा बढी ऋण निकासा



राजविराज । अर्काको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा बनाई बैंकबाट ऋण उठाएको खुलासा भएपछि बुधबार राजविराजमा सनसनी फैलिएको छ। राजविराज–८ निवासी रवीन्द्रकुमार यादवको नाममा रहेको जग्गा राजविराज–९ निवासी वर्षाना खातुनको नाममा नक्कली लालपुर्जा तयार गरी राजविराज–१ निवासी मो. समसादले एनआईसी एसिया बैंक राजविराज शाखाबाट २ करोड ८० लाख रुँपैया स्वीकृत गराई २ करोड ३० लाख रुपैयाँ विभिन्न व्यक्तिलाई भुक्तानी दिएको खुलासा भएपछि सनसनी फैलिएको हो।

घटनापछि बिहान १० बजेदेखि नै बैंकमा सर्वसाधारणको भिड लागेको थियो भने वास्तविक जग्गाधनी र उनका आफन्तले होहल्ला गरेका छन्। उक्त कार्यमा मो. सद्दामको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानमा पाइएको बैंक प्रशासनको भनाइ छ। वास्तविक जग्गाधनी यादवले आफूलाई थाहै नदिई कसरी आफ्नो जग्गा धितो राखेर बैंकले ऋण दियो भन्ने विषय उठाउँदा स्थिति केहीबेर तनावपूर्ण बन्यो।

उनले यसअघि अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित कित्ता नम्बर २२१ (९) को (ख) को १० कठ्ठा ५ धुर जग्गा राजविराजस्थित सिटिजन्स बैंकमा धितो राखेर २० लाख रुँपैया ऋण लिएका थिए। उक्त बैंकले मालपोत कार्यालय राजविराजमा रोक्का गरिराखेको सोही जग्गा धितो राखेर एनआईसी एसिया बैंकले कसरी र कुन आधारमा २ करोड ३० लाख रुँपैया ऋण दियो भन्ने कुराको छानबिन हुनुपर्ने माग गरेका छन्।

एक जना साथीले ‘तिम्रो जग्गा राखेर कसैले एनआईसी एसिया बैंकबाट ऋण निकालेको छ’ भनेर जानकारी गराएपछि आफू हतारहतार बैंक पुगेको र बैंकबाट आफ्नो जग्गा अर्कैको नाममा रहेको थाहा पाएपछि चकित परेको रवीन्द्रले सुनाए। मालपोतका कर्मचारी समेतलाई मिलाएर खातुनको नाममा नक्कली लालपुर्जा बनाई समसादले अन्य कागजात पेस गरेपछि बैंकले २ करोड ८० लाख स्वीकृत गरेको शाखा प्रबन्धक सन्तोष यादवको भनाइ छ। उनले स्वीकृत भएको रकममध्ये मुख्य ऋणी समसादले १ करोड ५० लाख तथा उनैको खाताबाट क्रमशः मो. सद्दाम र एक सहकारी संस्थामा बाँकी रकम ट्रान्सफर भएको पाइएको बताएका छन्।

नक्कली कागजलाई मालपोतका कर्मचारीदेखि आवश्यक अन्य सबै ठाउँमा प्रक्रिया पुर्‍याएर पेस गरेको तथा बैंकलाई चाहिएको आवश्यक सबै कागजात पेस हुन आएकाले सोही आधारमा ऋण प्रवाह गरिएको उनले तर्क दिएका छन् ।

‘बैंकसँग लालपुर्जा नक्कली/असली छुट्याउने साधन छैन, आवश्यक प्रमाणका आधारमा ऋण दिने हो,’ उनले भने, ‘सबै कागजात दुरुस्त पाइएपछि ऋण उपलब्ध गराइएको हो।’ उनले ऋणीले पेस गरेको कागजपत्र नक्कली भएको जानकारी आएपछि बुधबार बिहानै ऋणी परिवारका मो. समसादसँग सम्पर्कको प्रयास गरे पनि सफलता नमिलेको सुनाए।

भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख रामनारायण शर्माले पहिलेदेखि नै रोक्का रहेको जग्गा फुकुवा नहुँदै पुनः रोक्का गर्न नमिल्ने जिकिर गरे। उनले यस कार्यालयमा एनआईसी एसिया बैंकबाट जग्गा रोक्कासम्बन्धी कुनै पत्र नआएको समेत जानकारी दिए । उनले ऋणीद्वारा बैंकमा यदि त्यस्तो पत्र पेस गरेको छ भने त्यो पनि लालपुर्जा जस्तै नक्कली हुने दाबी गरे।

उक्त घटनाको अनुसन्धान गर्न बैंकको मधेस प्रदेश कार्यालयबाट सहप्रमुख नीतेश श्रेष्ठ नेतृत्वको एक टोली पुगी अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले यस विषयमा चर्चा सुनिए पनि बैंक तथा पीडित भनिएकामध्ये अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको बताए। यसबारे बैंक वा पीडित भनिएकामध्येबाट उजुरी आए आवश्यक अनुसन्धान अघि बढाइने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्