युवा वैज्ञानिक सम्मेलन काठमाडौंमा हुँदै



काठमाडौं । सातौँ राष्ट्रियव्यापी युवा वैज्ञानिक सम्मेलन काठमाडौंमा हुने भएको छ । आगामी ७ र ८ फागुनमा नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब कलेजको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान, राष्ट्रिय आविष्कार केन्द्र, नेपाल युवा परिषद्, युनेस्को–नेपाल, अनुसन्धान तथा विकास सोसाइटी नेपाल र नेपाल विज्ञान शिक्षक समाजसँगको सहकार्यमा सम्मेलन आयोजना हुन लागेको हो । उक्त सम्मेलनमा देशभरका कक्षा– ८ देखि १२ सम्मका विद्यार्थीले भाग लिन पाउनेछन् ।

इन्जिनियरिङ तथा रोबोटिक्स, जीव विज्ञान, रसायन तथा पर्यावरण विज्ञान, भौतिक विज्ञान तथा गणित र कम्प्युटर विज्ञान (आर्टिफिसियल इन्टेलिजेन्स)समेतका विधाहरूलाई सम्मेलनमा समावेश गरिएको छ ।

यी ५ वटा विधामध्ये कुनै एउटामा युवा वैज्ञानिकहरूले आफ्नो अनुसन्धान कार्य प्रस्तुत गरी प्रतिस्पर्धा गर्न सक्नेछन् । साथै, सम्मेलनमा सहभागिताका लागि महिला र फरक क्षमता भएका युवा अनुसन्धानकर्तालाई विशेष प्रोत्साहन गरिएको आयोजकले बताएको छ ।

हरेक विधामा युवा अनुसन्धाताले आफ्नो अनुसन्धानलाई सङ्क्षिप्त लिखित, सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा प्रस्तुत गर्न सक्नेछन् ।

शीर्ष विजेताहरू सन् २०२३ को २७ नोभेम्बरदेखि १ डिसेम्बरसम्म मेक्सिकोको हर्मोसिलो, सोनोरामा आयोजना हुने ‘१२औँ एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलन’मा सहभागिताका लागि आवेदन दिन योग्य मानिनेछ । त्यस्तै, सम्मेलनका विजेताहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका अन्य अनुसन्धान तथा सहकार्यमा अवसरहरू प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्