जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. राम परीक्षण यादवलार्इ प्रदेश २ का सामाजिक विकास मन्त्रीले कारबाहीकाे चेतावनी दिएका छन् । पछिल्लो समय नियम कानून विपरीत अस्पतालमा कर्मचारी र डाक्टरहरु नियुक्त गर्न थालेपछि मन्त्री नवलकिशोर साहले यस्ताे चेतावनी दिएका हुन् ।
गत साउन महिनापछि अस्पतालका प्रमुख डा.रामपरिक्षण यादवले प्रक्रिया विपरित ६० जना कर्मचारी भर्ना गरेको घटनाप्रति केन्द्रित हुँदै मन्त्री साहले कर्मचारी भर्ना गर्ने जाे सुके भए पनि कारबाही गरि छाड्ने बताएका हुन् ।
अस्पताल लगायतका स्वास्थ्य संस्थाहरु प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत आइसकेको अवस्थामा अस्पताल प्रमुखले आफू खुशी कर्मचारी भर्ना गर्नु अवैधानिक कार्य रहेको उनको भनाइ छ ।
‘यस विषयमा प्रदेश सरकारले छानविन अगाडी बढाउँछ,’ द नेपाल टपसँग कुराकानी गर्दै मन्त्री साहले भने, ‘कर्मचारी भर्ना गर्न कानुन बनिसकेको अवस्थामा यो कार्य कसरी कार्य भएको हो, हामी बुझ्दै छौं ।’
‘अस्पताल प्रमुखलाई कसैको सुरक्षा कवच प्राप्त रहेको बुझिन्छ,’ साहले भने,‘कर्मचारी भर्ना नगर्न हामीले यसअघि नै पटक-पटक निर्देशन दिइसकेका छौं ।' उनले थपे , 'गलत कार्य गर्ने जो सुकै माथि पनि कारबाही हुन्छ ।’
अवैधानिक रुपमा गरिएका नियुक्तिहरु यथाशिघ्र छानविन प्रक्रिया अगाडी बढाएर दोषीमाथि कारबाही हुने उनको दाबी थियो । प्राप्त सूचनाको आधारमा सुपरिटेण्डेट यादवको कार्यकाल सकिन केही दिन मात्र बाँकी रहेको समय सुपरिटेण्डेटले प्रदेश सरकारलाई लत्याउदै गैर कानूनी तरिकाले प्रक्रिया नै नपुर्याएर कमिसनको खाएर अस्पतालभित्र विभिन्न पदहरुमा ६० जनालाई नियुक्ती दिएको स्राेतको दाबी छ ।
स्राेतका अनुसार औषधी खरिदमा पनि स्टोरका कर्मचारीलाई मिलाएर कमिसन खाने गरेको छ । पछिलो एक वर्षमा मेसु यादवले औषधी र उपकरण खरिदमा कराेडाैंकाे चलखेल गरेको स्राेतकाे दाबी छ ।
सार्वजनिक खरिद एेनको विपरित गएर आफ्नो नजिकको औषधी व्यापारीसँग कमिसनको आधारमा औषधी र उपचार उपकरण खरिद गरेको स्राेतले दाबी गर्याे । मेसुको यो गलत क्रियाकलापको पर्दाफास गर्न अदालत र अख्तियारसम्म जाने तयारीमा रहेकाे एक औषधी व्यवसायीले नाम नखुलाउने शर्तमा द नेपाल टपलाई बताए ।