राष्ट्रपतिलाई ‘विलासी’ गाडी किन्न १८ करोड



काठमाडौ : सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ ।  २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताए। राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो। सरकारले त्यतिबेला राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो । सेनाले सुरक्षाको निम्ति असहज भएको भन्दै त्यति रकमले नपुग्ने बताएको थियो ।

उसले १६ करोड मागेको थियो। सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको हो । केही दिनअघि मात्रै रकम निकासा भएको अर्थ मन्त्रालय उच्च स्रोतले बतायो। गत वर्षकै मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले १४ करोड ३० लाख थप बजेट दिएको हो। गाडी खरिद शीर्षकमै १८ करोडभन्दा बढी रकम छुट्याइसके पनि कुन प्रकारको कस्तो गाडी ल्याउने भन्ने सेनाकै जिम्मामा छ ।

विवाद हुन सक्ने विषय सेनामार्फत गराउने वा सेनालाई जिम्मा दिने सरकारको प्रचलन छ। राष्ट्रपति सेनाको परमाधिपति पनि रहेकाले सेनालाई जिम्मेवारी दिइएको बताइएको छ। सेनाले नै रक्षामार्फत अर्थमन्त्रालयमा यस्तो प्रस्ताव पठाएको हो । २०७४ असार २६ को व्यवस्थापिका संसद्मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीका लागि १६ करोडको गाडी किन्ने कुनै प्रस्ताव नआएको दाबी गरेका थिए। विलासी गाडीबारे चर्को आलोचना हुँदा तत्कालीन प्रधानमन्त्री जवाफ दिन बाध्य भएका थिए ।

राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति रामवरण यादवले चढेको पुरानो गाडी चढिरहेको र उक्त गाडीमा समस्या आएका कारण नयाँ चाहिएको बताइएको थियो। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सवारीका क्रममा रोकिने, पिकअप नलिनेलगायतका समस्या आएका कारण अघिल्लै कार्यकालमा राष्ट्रपति कार्यालयलाई गाडी आवश्यक भएको जानकारी गराएको बताए  । सेनामार्फत गाडी किन्न १६ करोड बजेट मागेको समाचार डेढ वर्षअघि नै सार्वजनिक भएको थियो। यसबारे रक्षा र राष्ट्रपति कार्यालयका सचिव र अन्य प्रशासकहरू बोल्न अस्वीकार गरेको आजको अन्नपुर्ण पोष्टमा खवर छ ।  

प्रतिक्रिया दिनुहोस्