काठमाडौं : सर्वसाधारणलाई जारी गरिने राहदानीको बाहिरी रंग परिवर्तन हुने भएको छ । ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो ।
सरकारले दुई वर्षभित्र ई–पासपोर्टमा गइसक्ने नीति लिएको छ । सुरक्षित बनाउन राहदानीमा चिप्स राख्न र रंग परिवर्तन गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।
यससम्बन्धमा छलफल भइरहेको छ । ७० लाख थान राहदानीमध्ये १३ लाख बाँकी छन् । ती पनि सकिन लाग्दा ई–पासपोर्ट जारी गर्ने प्रक्रिया अघि बढेको छ ।
ई–पासपोर्ट तयार गर्दा रंग परिवर्तन र पृष्ठ थपिने राहदानी विभागका अधिकारीले बताए । दक्षिण एसियाकै महँगो भनिएको नेपाली पासपोर्टको भित्र भिसा र विमानस्थल छाप उपयोग हुने जम्मा २२ पाना मात्र छन् ।
पृष्ठ बढाउने र हरियो रंग परिवर्तन लामो समयदेखि बहसमा थियो । हरियो पासपोर्ट बोक्दा कैयन राष्ट्रले नेपालीलाई हेर्ने दृष्टिकोण समेत फरक परेको छलफलमा उठेको भन्दै परिवर्तन गर्न लागिएको हो ।
सर्वसाधारणले बोक्ने पासपोर्ट कफी, कलेजी र मेहँदी रंगमध्ये एउटा बनाउने छलफल भए पनि विभागको प्रस्तावमा अक्वा ब्ल्यू (हल्का निलो) प्रस्ताव गरिएको छ ।
यसमा अहिले पनि बहस भइरहेको छ। अधिकांशको जोड कफी रंगमा छ । विश्वका अधिकांश देशका सर्वसाधारणले बोक्ने पासपोर्ट कफी रंगकै रहेको छ । कतिपय खाडी देशकै झण्डा र राष्ट्रको रंग समेत हरियो रहेकाले पनि रंग फेर्न छलफल भइरहेको हो । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।