दोलखा: नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र तथा पूर्वमाओवादी केन्द्रका पोलिटव्युरो सदस्य प्रकाश दाहालको निधन भएको एक वर्ष पुग्यो । उनको सम्झनामा दोलखा सदरमुकाम चरिकोटमा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी हुन शनिबार प्रचण्ड दोलखा पुगे । कार्यक्रमको औपचारिक उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड निकै भक्कानिए । उनले छोरा प्रकाश आफ्नो पुत्रमात्रै नभएर सिंगो मुलुक परिवर्तन गर्न चाहाने एक सशक्त युवाशक्ति भएको बताए । तर उनले यसो भनिरहँदा उनका आँखा रसाइसकेका थिए ।
प्रचण्डले गत वर्ष आजकै दिनको सम्झना गर्दै पार्टी एकीकरण पश्चात् हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रचारका लागि वर्तमान प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र झापामा आयोजित चुनावी सभामा सहभागी हुँदा हृदयघातका कारण प्रकाशले निधनबारे सम्झिए । भाबुक हुँदै प्रचण्डले भने,‘हतार–हतार काठमाडौँ त फर्किएँ तर उनले संसार छोडिसकेका थिए ।’ यसो भनेपछि अलिक सम्हालिँदै प्रचण्डले भने,‘प्रकाशको निधन एक अकल्पनीय परिघटना जस्तै थियो ।’
अध्यक्ष प्रचण्डले एकता प्रकृयाका बाँकी काम चाँडै सम्पन्न हुने बताए । उनले नेताहरुको व्यस्तताका कारण ढिलाइ भएको पनि जानकारी दिए । उनले प्रायः शीर्ष नेताको विदेश भ्रमणले एकीकरणमा केही ढिलाइ भएको स्वीकारे । प्रचण्डले भने,‘केही समय म पनि भ्रमणमा थिएँ, प्रधानमन्त्रीजी पनि लामै भ्रमणमा हुनुभयो त्यसलगत्तै उहाँको स्वास्थ्यमा समस्या भयो । अहिले माधवजी बाहिरै हुनुहुन्छ । नेताहरुको व्यस्थताका कारण एकताका बाँकी काम बारे छलफल हुन सकेको छैन ।’ अध्यक्ष प्रचण्डले नेकपाका वरिष्ठ नेता माधबकुमार नेपाल विदेश भ्रमणबाट ५ मंसिर फर्किने र ६ गते शीर्ष नेताहरुको बैठक बसी एकीकरण प्रकृयालाई निरन्तरता दिने बताए ।
उनले त्यसपछि स्थायी समिति र केन्द्रिय समितिको छुट्टाछुट्टै बैठक आह्वान गरेर प्रदेश समिति र जिल्ला समितिको एकता टुंग्याउने तयारी भइरहेको खुलासा गरेका आजको नयाँ पत्रिकामा खवर छ । प्रचण्डले त्यसपछि क्रमशः तल्लो तहको एकीकरण प्रक्रिायाले निरन्तरता पाउने भन्दै तयारीका लागि जिल्लास्थित नेता कार्यकर्ताहरुलाई निर्विवाद ढंगले एकीकरणमा जुट्न निर्देशनसमेत दिए । अध्यक्ष प्रचण्डले यसअघि सरकारका काम कारबाहीमा केही गुनासो र सुस्तता देखिए पनि अब भने गियर परिवर्तन हुने जानकारी दिए । तीन तहका सरकारका फरक–फरक विधि भएको र केन्द्रीय सरकार सुस्त र परिणाममुखी नभएको भन्दै जनताका केही गुनासाहरु आउने गरेको बताए । उनले तत्कालै सरकारको गियर परिवर्तन हुने बताए ।