‘टी-टेन’का लागि उत्साहित छन् सन्दीप लामिछाने



काठमाडौं : नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अबको झन्डै वर्ष दिन देशबाहिरै हुनेछन्, विदेशी लिग क्रिकेट खेल्न । पछिल्लो समयका अत्यन्तै व्यस्त क्रिकेटर सन्दीपले नयाँ स्वरूपको टीटेन लिग खेल्न आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नुअघि आफू उत्साहित रहेको बताएका छन् ।

 

उनले आफूले पाउने सबै अवसरमा धेरैभन्दा धेरै मेहनत गर्नेसमेत बताए । ‘आइतबार टीटेन लिग खेल्न यूएई जाँदै छु । टीटेन लिग छोटो ओभरको खेल हुनेछ । यसले डेथ ओभरको अनुभव दिनेछ’, सन्दीपले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यसबाट बिग बास लिग र आईपीएलजस्ता ठूला प्रतियोगिताअघि डेथ ओभरको बलिङ सिक्ने अवसर पनि हुनेछ । त्यसैले उत्साहित छु ।’

 

सन्दीपले आईपीएलको नयाँ सिजनमा समेत आफूले अघिल्लो सिजनको भन्दा अझ राम्रो प्रयास गर्ने बताए ।

 

‘फेरि पनि एउटा राम्रो अवसर पाएको छु । अहिलेसम्म विदेशी फ्रान्चाइज लिगहरूमा जसरी मेहनत गरेको छु, त्यसमा भएका केही गल्ती र कमजोरीसमेत सुधार गरेर अझ राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु’, सन्दीपले आफ्नो योजना सुनाए, ‘सकेसम्म धेरैभन्दा धेरै विकेट सेलेब्रेसन गर्ने प्रयास गर्नेछु ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्