संसदमा सांसद गिरीको सम्बोधन : लमही घोराही तुलसीपुर सडक समयमै नबन्दा २२ जनाको मृत्यु भयो



काठमाडौं । दाङ क्षेत्र नम्बर ३ का सांसद दीपक गिरीले लमही घोराही तुलसीपुर सडक समयमै नबन्दा २२ जनाले ज्यान गुमाएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

लमही घोराही तुलसीपुर सडक ३० महिनामा सकिने भनिएको चार वर्ष हुँदासमेत पूरा नभएको भन्दै उनले सडक विभाग र सरकारले जवाफ दिनुपर्ने माग गरे । अपेक्षित काम नहुँदा समेत तीन पटक म्याद थपिएको उल्लेख गर्दै उनले सडकका दुराअवस्थाकै कारण २२ जनाले ज्यान गुमाउनुपरेको बताए ।

‘त्यो बाटो नबन्दा चार वर्षको दौरानमा त्यो बाटोबाट हिड्नेहरुमध्ये २२ जनाको मृत्यु भयो’ उनले अगाडि थपे, ‘वर्षामा हिलाम्मे हिउँदामा धुलाम्मे हुन्छ । यसबारे सरकार किन मौन ? यसको जवाफ कसले दिने हो ? सडक विभाग हो कि को हो ? वास्तविक कुरा आउनुपर्यो ।’

प्रतिक्रिया दिनुहोस्