सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन



बुटवल । बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा परी पत्रकार मनोज हितङ्गाको मृत्यु भएको छ । गएराति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उनी सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र ०७–०२–००१ख १२५६ नंको यात्रुवाहक बस बसपार्क नजिकै आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा निधन भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिए । लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत उनी पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रूपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितङ्गा करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्