एउटै बाख्रोबाट एक लाख कमाइ



झापा : सँगै हुर्के बढेका साथी कोही विदेश त कोही सहर पसे । मैले कुखुरा खरिद गरी बेच्न थाले भने श्रीमती होटल गर्न । तर पनि खान लाउन धौ धौ थियो । 

बोयर जातका बाख्रापालनबाट राम्रो कमाइ हुन्छ भन्ने सुनेर बाख्रापालन सुरु गरेँ, अहिले दुवैजना यो व्यवसायमा छौं । चार वर्षमा लगानी करोड पुग्यो । झापा हल्दिबारी–१ गोलधापका गणेश पराजुलीले यसरी आफ्नो कथा सुनाए ।

चार वर्षअघि बैंकबाट ऋण लिएको २७ लाख ३५ हजारमा ‘प्रगति बोयर बाख्रा फर्म’ सुरु गरेका पराजुलीले अहिले एउटै बाख्राबाट लाखभन्दा बढी आम्दानी गर्छन् । फर्ममा लगानी एक करोड ५५ लाख पुगेको छ ।

‘बोयर जातको एउटा बाख्राको एक लाखदेखि दुई लाख ५० हजारसम्म पर्छ । मसँग अहिले एक सय २४ वटा बोयर जातका बाख्रा छन् । साना ठूला गरी सबै हिसाब गर्दा करिब दुई करोड पुग्छ’, पराजुलीले सुनाए ।

‘यो गाउँमा बाजेदेखि नातिसम्म सबै वैदेशिक रोजगारमा जानुपर्ने अवस्था छ’, पराजुलीले भने ,‘यो क्रमको अन्त्य गर्दै स्वदेशमै आयआर्जन पहिल्याउन ठूलो लगानी गरेँ, आम्दानी पनि राम्रो छ ।’ बोयर जातका बाख्रा हेर्दा सानो देखिने भए पनि किलोका हिसाबले धेरै मासु निस्कन्छ । एक किलो मासुलाई नै न्यूनतम एक हजार रुपैयाँ पर्छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्