बागमती सरकारले जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँ दिने



हेटौंडा । जंगली हात्तीको आक्रमणबाट मुत्यु भएका व्यक्तिको परिवारलाई बागमती प्रदेश सरकारले प्रतिपरिवार एक लाख रुपैयाँ क्षतिपूर्ति दिनेभएको छ । प्रदेश सरकारको आज मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गएको साता हात्तीको आक्रमणबाट मृत्यु भएका मकवानपुरका २ जना र सिन्धुलीका १ जनाका परिवारलाई प्रतिपरिवार एक-एक लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका परिवारलाई क्षतीपूर्ति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

गएको साता जंगली हात्तीको आक्रमणबाट मकवानपुर मनहरी–४ की ६४ वर्षीया राधा अधिकारी, बकैया–५ का सन्तलाल माझी र सिन्धुली कमलामाई नगरपालिका–१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलको मृत्यु भएको थियो । मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई राष्ट्रिय निकुञ्जबाट प्राप्त हुने १० लाख रुपैयाँ क्षतिपूर्ति रकम दिलाउन पहल गर्ने निर्णय पनि गरेको छ ।

बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक बिमल पोखरेलको राजीनामा स्विकृत गरेको छ भने कृषि मन्त्रालय मार्फत् स्थानीय तहमा कार्यान्वयन हुने गरी विभिन्न शिर्षकमा ३ करोड रुपैयाँ बजेट पठाउने निर्णय भएको मन्त्री थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्