अब पोखराबाट भद्रपुर सिधा उडान हुने भाडा कति ?



काठमाडौं । अब पोखराबाट पूर्वी नेपालको ठूलो विमानस्थल झापाको भद्रपुरमा सिधा उडान हुने भएको छ । बुद्ध एयरले पोखरालाई केन्द्रमा राखेर प्रादेशिक उडान विस्तार गर्ने क्रममा भद्रपुरमा उडान तालिका सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार ९ मार्च (२५ फागुन)देखि पोखराबाट भद्रपुरको दैनिक सिधा उडान हुने भएको छ । पोखराबाट भद्रपुरसम्म एक घण्टाको उडान अवधि रहने भएको छ । यहाँ प्रमोसनल भाडादर ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार पोखराबाट भद्रपुरको उडान समय बिहान ६ः१५ तथा भद्रपुरबाट पोखराको उडान समय १८ः५५ तोकिएको छ ।

यस उडानबाट दुवै पर्यटकीय शहरका जनता लभान्वित हुने बताइएको छ । दैनिक उडानबाट यी दुवै ठाउँको पर्यटकीय स्थलमा चहलपहल बढ्ने विश्वास कम्पनीको छ । भद्रपुर नजिकै रहेका चियाबगान, विभिन्न धार्मिक स्थल तथा देशकै होचो ठाउँको अवलोकन गर्न सकिन्छ । इलाम तथा ताप्लेजुङबाट पूर्वको सगरमाथा, मकालु, कञ्चनजंघा लगायत हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

यस सिधा उडानबाट भद्रपुर नजिक रहेका भारतीय शहरहरु सिक्किम तथा पश्चिम बंगालका दार्जिलिङ, सिलिगुढी तथा विभिन्न शहरका पर्यटकहरुलाई पोखरा आउजाउ गर्न निकै सजिलो हुने बुद्ध एयरको भनाइ छ । भद्रपुर तथा सिमापारीका पर्यटकहरुले पोखरा तथा वरिपरि रहेका तालतलाउ, हिमश्रृंखलाको आनन्द लिन सक्छन् । एडभेन्चर्स, ट्रेकिङ रुचाउने पर्यटकका लागि पोखरा आकर्षक गन्तव्य हो । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्