उपरथी प्रेम शाहीसहित २ जना अधिकृत २ महिनापछि थुनामुक्त



काठमाडौं । अवकाशमा पठाउने नेपाली सेनाको जंगीअड्डाको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका उपरथी प्रेम शाही २ महिनापछि थुनामुक्त भएका छन्।

जंगीअड्डाभित्रै थुनेर राखिएका उच्च सैनिक अधिकृत शाहीसहित उनलाई सहयोग गरेको अभियोगमा समातिएका प्राड विवाकका प्रमुख सेनानी कुलदिप तिमसिना र महासेनानी महेन्द्रजंग शाह पनि थुनामुक्त भएका छन् । तिमसिना र शाहको २ वर्ष बढुवा रोक्का गर्ने आदेश भएको छ।

उपरथी शाही संलग्न सैनिक विद्रोहको कसूरसम्बन्धी मुद्दा पुर्पक्षका लागि भन्दै बुधबार जंगीअड्डा बोलाइएका तिमसिना र शाहलाई सेनाले नियन्त्रणमा लिएको थियो।

उनीहरु पक्राउ पर्नेबित्तिकै परिवारका सदस्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए। सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुवै जनालाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

आदेश दर्ता गर्न पुगेका अदालतका कर्मचारी र आफन्त दिनभर जंगीअड्डा बसेर फर्किएका थिए।

साँझ उपरथी ताराध्वज पाण्डे नेतृत्वको समरी जनरल सैनिक अदालतले सैनिक विद्रोह सम्बन्धी कसूरमा उपरथी शाहीलाई बर्खास्त र २ जनालाई विभागीय कारबाहीको आदेश सुनाएको छ। आदेश आएलगत्तै तीनै जनालाई थुनामुक्त गरिएको सैनिक स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्