सुदूरपश्चिमका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने



काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन्। प्रदेशसभा सचिवालयले शुक्रबार जारी गरेको सूचनामा फागुन २१ गते दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची रहेको उल्लेख छ।

विश्वासको मतका लागि मुख्यमन्त्री शाहले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीसँग भेटघाट एवं छलफललाई तीव्रता दिएका छन्। केन्द्रमा बनेको दलको समीकरणसँगै मुख्यमन्त्री शाहले प्रदेशसभाबाट सजिलैसँग विश्वासको मत पाउने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

दलको नयाँ समीकरणअनुसार मुख्यमन्त्रीले प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार सदस्यसहित ४० सदस्यको विश्वासको मत पाउने देखिएको मुख्यमन्त्रीको सचिवालयले दाबी गरेको छ।

संविधानको धारा १६८ (३) बमोजिम गएको माघ २६ गते कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संविधानअनुसार उनले यही फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा उनलाई विश्वासको मत पाउन २७ सदस्यको समर्थन आवश्यक पर्छ।  प्रदेशसभामा अन्य दलमा नेकपा (एमाले) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र स्वतन्त्र एक सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्