सदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री शाहले आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए।

उनका अनुसार मुख्यमन्त्री शाहले शुक्रबार प्रदेशसभा सचिवालयलाई आइतबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै पत्र पठाएका थिए। मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि २६ माघमा एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको थियो।

त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलको नेताको हैसियतमा सोही दिन शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएकै भोलिपल्ट शाहले कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकासमन्त्री र नेकपा (एकीकृत समाजवादी)का नरेश शाहीलाई आर्थिक मामिलामन्त्री नियुक्त गरेका थिए। यी २ वटा दलको मात्र समर्थन हुँदा विश्वासको मत नपुग्ने भएपछि उनले अहिलेसम्म प्रक्रिया अघि बढाएका थिएनन्।

राष्ट्रपतिको निर्वाचनलाई लिएर केन्द्रमा नयाँ समीकरण बनेर पुरानै गठबन्धन बिउँतिएपछि शाहले विश्वासको मत लिने तयारी गरेका हुन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा २७ जना सांसदको समर्थन भए सरकार जोगिन्छ।

यसैबीच मुख्यमन्त्रीलाई विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टीले लिखित समझदारी खोजेको छ। सुदूरपश्चिम प्रदेशमा मन्त्रालयको भागबन्डामा नागरिक उन्मुक्ति पार्टीले लिखित प्रतिबद्धता मागेको हो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सामाजिक सञ्जालमार्फत विश्वासको मत दिन लिखित प्रतिबद्धता चाहिने माग गरेकी छन्।

उनले लेखेकी छन्, ‘दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन सकिँदैन।’ यता माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ।

शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो। बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाउने निर्णय गरेको माओवादीका सांसद अक्कल रावलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्