
काठमाडौं । फागुन शुक्ल पूर्णिमाको दिन हिन्दु धर्मावलम्बीहरूले मनाउने प्रमुख चाडका रूपमा होली परिचित छ । रङहरूको चाडको होलीले वसन्त ऋतु आगमनको सङ्केत पनि गर्छ। होली पर्व रङको उत्सव हो।
त्यही भएर होलीका दिनमा मानिसले एकअर्कामाथि विभिन्न प्रकारका रङ लगाउने गर्छन्। यस वर्ष सोमबार पहाडी जिल्लाहरूमा र मङ्गलबार तराईमा होली मनाइँदै छ । होली पर्वमा लगाइने विभिन्न रङले छालामा विभिन्न असरहरूसमेत देखिने गरेको छ।
रङबाट छालामा पर्ने असरबाट आफू र आफ्ना परिवारका सदस्यलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा नारायणी अस्पतालका वरिष्ठ छाला तथा चर्मरोग विशेषज्ञ डा. अतुलेशकुमार चौरसियासँग द नेपालटपका लागि वीरगन्ज संवाददाता सूर्य शुभेच्छुकले गरेको कुराकानीको सम्पादित अंश :
होली खेल्दा प्रयोग गरिने रङले छालामा कस्तो असर गर्छ ?
होली प्राचीन पर्व हो। एकअर्कासँग शुभकामना साटासाट गर्ने, भ्रातृत्व कायम गर्ने पर्वलाई मर्यादित रूपमा मनाउन आवश्यक हुन्छ। अझ अहिलेको परिवेशमा त झनै सतर्कता अपनाउनुपर्ने हुन्छ । होलीमा प्रयोग गर्न बजारमा पेस्ट, पाउडर र गिला गरी ३ प्रकारका रङ पाइन्छन्।पेस्ट रङ ट्युबको रूपमा बजारमा पाइन्छ। जसको प्रयोग अन्यको तुलनामा अत्यन्तै कम हुन्छ। यस्तो किसिमको रङमा धेरै मात्रामा रसायनको मिसावट हुने भएकाले छालामा नकारात्मक असर गर्छ। यस्तै होलीमा सबैभन्दा धेरै प्रयोग हुने रङ हो पाउडर रङ अर्थात् सुख्खा रङको धुलो । हर्बल र रसायन गरी २ किसिमको पाउडर रङमध्ये हर्बल रङको बारेमा थोरैलाई मात्रै जानकारी छ। यसर्थ प्रायःले रसायनयुक्त रङको प्रयोग गर्छन्। जुन छालाका लागि अत्यन्तै हानिकारक हुन्छ । रसायनयुक्त रङमा पाइने कलरेन्ट नामक विषाक्त तत्वले छालामा नकारात्मक असर पार्छ । हरियो, निलो, रातो, गुलाबी, पहेँलोलगायत रङको प्रयोगले छालामा विभिन्न किसिमका रोगको सङ्क्रमण देखिन सक्ने जोखिम हुन्छ । त्यसकारण सकेसम्म प्राकृतिक रङ नै प्रयोग गर्न सके उत्तम हुन्छ ।
रसायनयुक्त रङको प्रयोगले देखिन सक्ने स्वास्थ्य जोखिमको बारेमा प्रकाश पारिदिनुहोस् न ?
खासमा बजारमा पाइने रङका बारेमा जानकारीबिना खरिद गर्ने र एकअर्कालाई लगाउने गर्दा छालामा मात्रै नभएर आँखामा पनि समस्या आउन सक्छन् । कसैले बलजफ्ती रङ लगाउने गर्दा मुख, नाकभित्र पनि रङ पसेर गम्भीर किसिमका रोगहरू नलाग्लान् भन्न सकिन्न। यद्यपि, बाहिरी रूपमा रङको प्रयोगबाट छालामा सामान्यतया देखिने समस्या भनेको छाला चिलाउने, पोल्ने, एलर्जी हुने जस्ता हुन् भने आँखामा पर्यो भने आँखा दुख्ने, रातो हुने, पानी आउने समस्या देखिन थाल्छ। रङमा प्रयोग गरिने रसायनले आईसीडी नामको रोग लाग्न सक्छ, जसबाट छाला रातो हुने, चिलाउने फुस्रो हुने या फोका उठ्ने समस्या पनि देखिन सक्छ । हेर्दा सामान्य लाग्ने रङकै कारण गम्भीर किसिमका रोग लाग्ने हुँदा अत्यन्तै संवेदनशील तथा मर्यादित भएर रङको प्रयोग गर्नुपर्छ । होलीमा प्रयोग गरिने रङले शरीरमा सङ्क्रमण र एलर्जीको सम्भावनाका साथै रङमा प्रयोग गरिएको रसायनका कारण अनुहार बिग्रिने र कपाल झर्ने समस्या पनि आउन सक्छ । यसका अतिरिक्त अरू पनि थुप्रै किसिमका समस्या देखिन सक्छन् । रङको प्रयोगले कोही बेहोस हुने र स्मरण शक्ति कम हुने जस्ता समस्या पनि आउने गरेको एक अध्ययनमा भेटिएको छ ।
यस्ता समस्याबाट कसरी जोगिन सकिन्छ ?
बजारमा रङको किनमेल र अबिर लगाउने क्रम सुरु भइसकेको छ । सर्वप्रथम रङ खरिद गर्दा रसायनबिनाको हर्बल रङ खरिद गर्नुपर्छ । यसका साथै होली खेल्न जानुभन्दा पहिले शरीरमा राम्ररी लोसन वा क्रिम लगाउनुपर्छ । यो काम होली खेल्नुभन्दा कम्तीमा १ घन्टाअघि गर्नुपर्छ । त्यसपछि होली खेल्नु १० मिनेटअघि लोसन वा क्रिमको प्रयोग गरेर मात्र खेल्नुपर्छ । कपालमा पनि रङको प्रभाव देखिन सक्ने भएकाले तेल लगाउँदा हानिकारक रङ भित्र छिर्न पाउँदैन।
रसायनयुक्त रङबाट बच्न छालामा क्रिम वा तेलको प्रयोग गर्न सकिन्छ। हात तथा खुट्टालगायत शरीरको खुला भागमा नरिबलको तेल लगाउनुका साथै अनुहारमा कोल्ड क्रिम वा नरिबलको तेल प्रयोग गर्नुपर्छ। नरिबल वा तोरीको तेल शरीरमा लागेको रङ निकाल्नका लागि पनि प्रयोग गर्न सकिन्छ । होली खेल्दा रङबाट बच्नुका साथै घामको हानिकारक विकिरणबाट बच्न पनि जरुरी छ। घामबाट बच्नकै लागि धेरैले सनस्क्रिन त प्रयोग गर्छन् । तर, त्यो पानीको साथमा बगेर जाने हुँदा यसको उपयोग प्रभावकारी हुँदैन। त्यसैले, होलीमा रङ खेल्दा वाटरपु्रफ सनस्क्रिनकै प्रयोग गर्नुपर्छ । यस्ता सनस्क्रिन लामो समय टिक्छ। यसले छालालाई रसाउनयुक्त रङको दुष्प्रभावबाट समेत बचाउँछ। होलीमा रमाइलोका लागि चिच्याउने, कराउने गर्दा शरीरमा ‘डिहाइड्रेसन’ गराउने हुँदा पानी खाइरहनुपर्छ । त्यस्तै एकैपटकमा रङ पखाल्ने भन्दै जबरजस्ती अनुहार घोट्ने, कडा साबुन प्रयोग गर्ने गर्नु हुँदैन । रसायनयुक्त रङको प्रयोगले ओठ सुख्खा मात्र नभएर कालो पनि हुन्छ । त्यसैले, होली खेल्नु केही मिनेट पहिले ओठमा लिप बाम लगाउन आवश्यक छ । यसका साथै रङ खेल्नुअघि अनुहार तथा हातखुट्टामा तिलको तेल प्रयोग गर्न सकिन्छ । यसले छालालाई सुरक्षा प्रदान गर्छ र छालामा रङ बस्न दिँदैन ।
होली खेल्दा नगर्नुपर्ने कुरा के छन् त ?
होलीमा रङ खेल्दा अनुहारमा लाग्ने रङ पखाल्नका लागि छालामा कडा साबुनको प्रयोग गर्नुहुँदैन । सुरुमा सादा पानीले पखाल्ने र त्यसपछि ५.५ पीएचको साबुनले सफा गरेर मोइस्चर एवं क्रिम लगायो भने रङको असर देखिँदैन । त्यस्तै, रङ निकाल्न छाला बेस्सरी रगड्नु पनि हुँदैन। त्यतिमात्र नभएर रङ गएन भन्दैमा हतास तथा निराश कदापि हुनुहुँदैन। छालामा विभिन्न किसिमका सामग्री प्रयोग गर्नबाट पूर्णतया जोगिनुपर्छ। सकेसम्म रङ मुखभित्र नपार्ने, आँखा र नाकलाई पनि बचाउनुपर्छ। संवेदनशील अङ्गमा रङले नकारात्मक असर गर्ने हुँदा सजग र संयमित हुन आवश्यक छ। त्यसैगरी लामो समयसम्म शरीरमा रङ नराख्ने, सफा पानीले मात्रै मुख धुने, पानी धेरै पिउने, पूरै शरीर छोपिने कपडा लगाउने, आँखामा चस्मा तथा सन गगल्स लगाउने, होली खेलेको १ हप्तासम्म फेसमा क्लिनिङ, फेसियल तथा स्क्रब नगर्ने जस्ता उपाय अपनाउन सकिन्छ ।