मिथिला मध्यमा परिक्रमा सम्पन्न



धनुषा । श्रद्धालुहरुले जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर मिथिला परिक्रमा सम्पन्न गरेका छन्। १५ दिने उक्त परिक्रमा फागुन प्रतिपदामा सुरूआत भइ पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुने गर्दछ।

प्राचीन मिथिलाको राजधानी जनकपुरलाई केन्द्रविन्दु मानी मिथिला परिक्रमा हुन्। जसक्रममा श्रद्धालुहरुले जनकपुरको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा रहेका विभिन्न तीर्थस्थलको भ्रमण गर्छन्। मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ। मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यस क्षेत्रको यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि मिथिला महात्म्यमा उल्लेख छ।

‘जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालु मिथिला विहारीका डोलाका पछिपछि श्रद्धा भक्तिका साथ परिक्रमा गरिहेको दृश्यले जो कोहीलाई पनि मोहित पार्छ।

यस अवसरमा नेपाल र भारतका मिथिला क्षेत्र उत्सवमय हुन्छ। धेरै श्रद्धालुको सहभागिता रहने गरेको सो परिक्रमा हरेक, धर्म, जातजाति, छरछिमेकका गाउँवासी, इष्टमित्र, घरपरिवारका नातेदारलगायत कर कुटुम्बका लागि उत्सव तथा आस्थाको केन्द्र मानिन्छ। नेपाल र भारतको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक बनेको परिक्रमा यात्राका क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन्।

परिक्रमामा सहभागी यात्रीहरुले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर पैदलयात्रा तय गर्दछन्। यो परिक्रमा मेलामा सहभागी भएमा पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने जनविश्वास छ। परिक्रमा मेलामा जनकपुरधामको अग्निकुण्डबाट माता जानकी र कचुरी मठबाट भगवान् रामको डोलाको नेतृत्वमा १५ दिने परिक्रमा गरिन्छ।

प्रतिक्रिया दिनुहोस्