हाइड्रोजन सम्भावना र नेपालको समृद्धि



  • अमृतनाथ तिमल्सिना

काठमाडौं । मानव समाज विकासको तीव्रत्तर गति र आधुनिकताको प्रतिस्पर्धामा संसारले दिनरात प्रगतिको फड्को मारिरहेको छ। विकसित देशहरूले आविष्कार, अन्वेषण तथा कार्यान्वयनमार्फत् विज्ञान र प्रविधिलाई नागरिकको समृद्धिको मुख्य साधनका रूपमा उपयोग गरिरहेका छन्। नागरिकको जीवनस्तरको सरलता र गुणस्तरलाई विज्ञान र प्रविधिको प्रयोगले सरल र दिगो बनाएका छन्।

राष्ट्रहरूले आफ्नो आवश्यकताका आधारमा र प्रतिस्पर्धा गरी अर्कालाई जित्नका लागि आविष्कारहरू गर्ने गरेको तथ्य इतिहासमा पाइन्छ। वैदिक कथनहरूमा प्रयुक्त आविष्कार होस् वा आदिम साम्यवादकालीन इतिहासको अन्वेषणमा प्राप्त तथ्य होस्, आविष्कारहरूका पृष्ठभूमि या प्रतिस्पर्धा या आवश्यकताको परिपूर्ति नै हो।

प्रारम्भकालीन मानव समाजले गाँस, बास र कपासका लागि न्यूनतम आवश्यकता परिपूर्तिको आविष्कार गरेका थिए भने क्रमशः मानव जीवन सहज निर्वाहका लागि र विकास विस्तार गर्दै समृद्धिको प्राप्तिका लागि आविष्कारहरू हुन थाले। विशेष गरी प्रकृतिमा नै भएका पदार्थहरूको स्वरूप परिवर्तन गर्दै त्यसबाट नागरिकले लाभ हासिल गर्ने र जनजीवन सहज बनाउनका लागि हुने आविष्कारहरू आजको वैज्ञानिक समाज र आधुनिक विश्वको प्रमुख प्रतिस्पर्धाको विषय बनेको छ।

आविष्कारको विश्व प्रतिस्पर्धाले गर्दा पछिल्ला समयमा विश्वभर कार्बन उत्सर्जनको दर तीव्र भइरहेको छ। हरेक उद्योग तथा आविष्कारका क्रियाकलापहरूले कार्बनडाइअक्साइड, मोनोअक्साइडलगायत ग्रिन हाउस ग्यासको उत्सर्जन हुन थालेसँगै विश्वव्यापी उष्णीकरणका कारण ब्रह्माण्डमै असर परिरहेको छ।

पृथ्वीको तापक्रम बढिरहेका कारण जैविक पारिस्थितिकीय प्रणालीमा गम्भीर असर परिरहेको छ भने जैविक विविधताहरू लोप भइरहेका छन् । यसरी सिंगै विश्वको टाउको दुखाइको विषय बन्दै गएको कार्बन तथा हरितगृह ग्यास उत्सर्जनलाई कम गराउने विकल्पका रूपमा वैकल्पिक ऊर्जाको प्रयोगलाई तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

वैकल्पिक ऊर्जाको प्रयोग सहस्राब्दी विकास लक्ष्यको एउटा सूचक हो। अन्तरसम्बन्धित भई वैकल्पिक ऊर्जा प्रयोगको सवालले बहुपक्षीय असरहरू सिर्जना गर्ने गर्छ। वैकल्पिक ऊर्जाका कारण मानव जीवनलाई सहज मात्र नभई राष्ट्रिय आत्मनिर्भरताको विकास, नागरिक सहभागितामा उद्यमशीलताको अभिवृद्धि, जैविक पारिस्थितिकीय प्रणालीको संरक्षण र रैथाने जाति तथा बाली वनस्पतिहरूको संरक्षण पनि भइरहेको हुन्छ। त्यसैले विशेष गरी विकासोन्मुख, अति कमविकसित र अल्पविकसित मुलुकहरूले वैकल्पिक ऊर्जा प्रयोगलाई आफ्नो प्रमुख लक्ष्य बनाउन आवश्यक छ।

नेपाल अतिकम विकसित मुलुकको सूचीबाट मध्यम आय भएको मुलुकको सूचीमा उँभो लाग्दै गर्दा सुधारका प्रयासहरूमा भएको केही अभ्यास, संकल्प र योजनाहरूलाई भुल्न हुँदैन। नेपालले गएका केही वर्षहरूमा वैकल्पिक ऊर्जामा उल्लेखनीय प्रगति गरेको छ। ऊर्जामा आत्मनिर्भर बन्ने बाटोमा गएको नेपाली जलविद्युतलाई एउटा सशक्त वैकल्पिक ऊर्जाका रूपमा लिन सकिन्छ।

विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग, इन्डक्सन चुल्होको प्रयोग र विद्युतीय सामग्रीहरूको प्रयोगमा भएको बढोत्तरीले नेपालीहरूको आयस्तर र जीवनस्तरमा पनि उल्लेख्य प्रगति भएको देखिन्छ। सौर्य प्रणालीको प्रयोगले नेपालीहरूलाई घरायसी विकल्पबाट औद्योगिक विकल्पको ऊर्जा उत्पादनतर्फ उत्प्रेरित गरिएका तथ्यहरूले नेपालमा वैकल्पिक ऊर्जाको विकासका सवालहरूको प्रगतिमा गर्व गर्न सकिन्छ ।

सफल अभ्यासहरूका कारण नेपालको वैकल्पिक ऊर्जा अभियानका सकारात्मक प्रयासहरूको प्रशंसासँगै प्राकृतिक रूपमा पाइने ऊर्जालाई प्रयोगमा ल्याउन सवालका सम्भावित विकल्पहरूका विषयमा यहाँ चर्चा गर्न खोजिएको हो। नेपालमा ग्यासलाई ऊर्जाको एउटा प्रभावशाली विकल्पका रूपमा लिइएको छ। खाना पकाउने ग्यास, सवारीसाधन सञ्चालन गर्न तथा उद्योगहरूमा पनि ग्यासलाई ऊर्जाको स्रोतका रूपमा लिइन्छ। नेपालमा यस्तो ग्यासमा एलपी ग्यास, मिथेन, अक्सिजन ग्यासहरूलाई प्रयोग गरिएको छ।

तर, हाम्रो पृथ्वी र यसको बाहिरी आवरणमा ७५ प्रतिशतभन्दा बढी रहेको हाइड्रोजन ग्यासको विषयमा पर्याप्त अनुसन्धान, प्रयोग र व्यावसायिक उपयोग नगरिनुले नेपाल धेरै हदसम्म पछाडि परिरहेको र विकासका लागि तत्काल हाइड्रोजनको उपयोगमा ध्यान दिनुपर्ने माग बढ्दै गएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको अभिव्यक्तिलाई सामाजिक सञ्जाल तथा एउटा तहको बुज्रुक जमातले पनि हावामै उडाइदियो। तर, नेपालमा तत्कालै केही प्रयासहरू गरे दीर्घकालीन ऊर्जा विकल्पका रूपमा हाइड्रोजनको प्रयोगले केही वर्षमै आर्थिक हिसाबले सशक्त मुलुक बन्न सक्ने सम्भावना छ।

नेपालको राजनीतिक नेतृत्वले गफकै भरमा अभिव्यक्ति दिने गरेको विगत र राजनीतिक अस्थिरताले वाक्क नागरिकहरूले प्रधानमनत्रीको अभिव्यक्ति पत्याउन सके सकेनन्, अलग पाटो, तर हाइड्रोजन नेपालको समृद्धिको सशक्त साधन भएकामा भने दुईमत छैन । हाइड्रोजन ग्यास ऊर्जाका रूपमा धेरै प्रयोग हुने मिथेन ग्यासको सशक्त सफा विकल्पका रूपमा लिइन्छ । हाइड्रोजनलाई संसारका विकसित देशले आफ्नो आम्दानीको प्रमुख आधार बनाउन प्रतिस्पर्धा गरिरहेका छन् । अध्ययन अन्वेषण, अनुसन्धान र औद्योगिक कार्यान्यनका अभ्यासहरूले यो सम्भव भइरहेको छ ।

इन्धनलाई ऊर्जामा रूपान्तरण गर्नका लागि जब जलाइन्छ, तब त्यो इन्धनमा भएका तत्वहरू टुक्रिएर अक्सिजनमा जोडिँदा पर्ने असरहरूको आधारमा त्यो ऊर्जाको वातावरणीय असरको मूल्यांकन गरेर स्वच्छ ऊर्जाको वर्गीकरण गरिन्छ । नेपाली उद्योगहरूमा प्रयोग हुने ऊर्जाको स्रोतका रूपमा रहेको इन्धनमा धेरै पेट्रोलियम पदार्थ भए पनि ग्यासको हिस्सा पनि निकै ठुलो छ । त्यो ग्यासमा मिथेन ग्यास ज्यादा छ ।

संसारभर ग्यासलाई ऊर्जाको स्रोतका रूपमा प्रयोग गर्ने प्रचलन धेरै छ । बेलायतको कुल राष्ट्रिय खपतको ४० प्रतिशत विद्युत् ग्यासबाट उत्पादन गर्ने गरिएको छ भने घरायसी खपतको ८५ प्रतिशत बिजुली ग्यासमा निर्भर छ । जुन ग्यास बेलायतले आफ्नै प्राकृतिक क्षेत्रबाट संकलन गर्छ । अमेरिकामा ४७ प्रतिशत परिवार प्राकृतिक ग्यासमा निर्भर छन् । जुन ऊर्जा उत्पादनका कारण उनीहरू आन्तरिक रूपमा सक्षम भइरहेका छन् ।

ऊर्जाका रूपमा प्रयोग हुने जीवाष्म इन्धनहरू (फोसिल फ्युल) कोइला र तेलहरूभन्दा ग्यास धेरै उपयोगी र प्रभावकारी छ। लागतको हिसाबले र प्राकृतिक दोहनको हिसाबले पनि ग्यास धेरै हितकर छ। अझ अन्य ग्यासहरूलाई ऊर्जामा रूपान्तरण गर्दा भन्दा हाइड्रोजन ग्यासलाई ऊर्जाका रूपमा प्रयोग हुँदा कार्बनडाइअक्साइड उत्पादन नहुने हुँदा संसारभर सफा ऊर्जा उत्पादनका लागि हाइड्रोजन एउटा सशक्त विकल्पका रूपमा प्रतिस्पर्धामा छ।

ब्रह्माण्डमा ७५ प्रतिशतभन्दा बढी योगदान रहेको हाइड्रोजन अणुका रूपमा पर्याप्त भए पनि प्रशोधनको हिसाबले कठिन भएको पाइन्छ। विभिन्न रूपमा हाइड्रोजनलाई प्रयोगमा ल्याउन भने सकिन्छ। प्राकृतिक ग्यासका रूपमा भन्दा बढी हाइड्रोजनलाई शक्ति राष्ट्रहरूले सामरिक स्वार्थ र आणविक शक्तिका रूपमा प्रयोग गरिरहेका छन्।

प्रशोधन, संकलन, भण्डारण र आणविक सन्धि आदिका हिसाबले कानुनी चुनौतीहरू भए पनि हिम्मत गरेर अघि बढ्ने हो भने नेपाल जस्तो देशका लागि ऊर्जामा दीर्घकालीन विकल्प र अक्षुण्ण स्रोतका रूपमा हाइड्रोजनलाई लिन सकिन्छ। स्टिम मिथेन विधि र अटोथर्मल विधिलगायत विधिबाट हाइड्रोजन संकलन गर्न सकिने सम्भावना भएको ग्यास उत्पादकहरूले सम्भावनाहरू औँल्याएका छन् ।

यो विधिबाट संकलन गरिँदा भने कार्बन निर्माण हुने भएकाले त्यसलाई संकलन भण्डारण गर्ने विधिमा पनि प्रविधिहरू विकास गर्न आवश्यक छ । यद्यपि हाइड्रोजन ग्यास संकलनका लागि नेपालको औद्योगिक व्यवसाय ऐन, उद्योग ऐनहरू र अन्तर्राष्ट्रिय मञ्चहरूमा गरिएका प्रतिबद्धता तथा सन्धिहरूले पनि हाइड्रोजन ग्यास उत्पादन प्रशोधन प्रयोग तथा निर्यातलगायत सवालमा नेपाललाई अप्ठ्यारोमा पारेजस्तो प्रतिक्रियाहरू नियामक निकायहरूबाट हुने गरेको पाइन्छ।

नेपाली उद्यमी व्यवसायीहरूलाई आवश्यक कानुनी सहजताको सुनिश्चितता दिने र उत्पादित ग्यासलाई राष्ट्रिय प्राथमिकता प्राप्त ऊर्जाको स्रोतका रूपमा घोषणा गरी प्रयोगको अग्राधिकार सुनिश्चित गर्ने हो भने नेपाल हाइड्रोजन उत्पादनमार्फत समृद्धि पथमा फड्को मार्न सक्छ ।

हाइड्रोजन ग्यासलाई राष्ट्रिय प्राथमिकताको ऊर्जा स्रोतका रूपमा सुनिश्चित गर्ने हो भने मिथेनको सशक्त विकल्पका रूपमा खाना पकाउने तथा उद्योग व्यवसायमा प्रयोग गर्ने गरी उपयोग गर्न सकिन्छ । सुरक्षित भण्डारबाट पाइपलाइन निर्माण गरी घरघरमा ग्यासको आपूर्ति गर्नका लागि पनि यो ग्यास उपयोगी हुन्छ।

नेपालको शुभेच्छुक छिमेकी मित्रराष्ट्र चीनले हाइड्रोजन ग्यासबाट चल्ने सवारीसाधनको तीव्र विकास गरिरहेको छ । हाइड्रोजन उत्पादन, भण्डारण तथा हाइड्रोजन ग्यासबाट चल्ने सवारीसाधनको प्रभावशाली उत्पादन देश भएका कारण चिनियाँ प्रविधिसँग अनुकूलन हुने गरी सवारीसाधन, खाना पकाउने प्रयोजन आदिमा हाइड्रोजनको उपयोग गर्न सके नेपालले तीव्रतर विकास गर्न सक्छ ।

हाइड्रोजन फ्युलिङ स्टेसनको आधारमा हेर्ने हो भने चीन संसारमा पहिलो छ त्यसपछि जापान, दक्षिण कोरिया, जर्मनी र अमेरिका छन्। नेपालको अति हितैषी मित्र चीनसँगको सहयोगमा नेपालले हाइड्रोजन उत्पादन गर्न सके आन्तरिक खपतमा पर्याप्त उपयोग गरी निर्यातसमेत गर्न सकिन्छ। हवाई यातायात र यात्रु एवं मालवाहक सडक यातायातका लागि समेत सशक्त विकल्प भएकाले घरायसी र राष्ट्रिय प्रयोगको सशक्त वैकल्पिक स्रोत हुनेमा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्